दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए। दुर्घटना भएको बस कर्णाली नदीको तिरमा खसेको प्रहरीले जनाएको छ।
उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्सकाे अभाव छ। हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने आठविस नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्गराज उपाध्यायले बताए।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन्। दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठविस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि प्रहरी टोली पठाएको बताए।
घटनाको विस्तृत विवरण आउने क्रम जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।