|

सुर्खेत : पहुँचको भरमा प्लेन टिकट वितरण हुँदा हुम्ला जान र आउन समस्या हुँदै आएको छ। हवाइ मार्ग मार्फत जाँदा र आउँदा भारी खर्च हुने भएपनि सोही टिकट पाउन पनि शक्ति केन्द्र धाउनु परेको छ।

निजी जहाज मात्र सञ्चालन रहेको हुम्लामा तारा र समिट एयरले मात्र उडान भरिरहेका छन्।

सीमित सिटका कारण  हवाइ यात्रा गर्न भारी पावर लगाउनुपर्ने बाध्यता भएको हुम्लाका पत्रकार नरजन तामाङले बताए। हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो। सुर्खेतबाट हुम्ला जानका लागि १० हजार, हुम्लाबाट सुर्खेत आउँदा ७ हजार रकम तिर्नुपरेको यात्रुहरु बताउँछन्।

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान कम भर्दा थप मार परेको छ। हुम्ला मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्ला पनि हो। जहाजको उडानका लागि मुख्यमन्त्री शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कार्चेन लामालाई समेत स्थानीयले पटक पटक आग्रह गरेपनि मागको सुनुवाइ नभएको स्थानीयहरु बताउँछन्।

नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे। ‘तारा एयरले दिनको एक फ्लाइट मात्र गर्छ हामीले टिकट पाउदैनौँ’ उनले भने।

निजी एयरलाइन्स कम्पनीले नियमित उडान नगर्दा हुम्ली नागरिकले समस्या भोग्दै आएका छन्। सिमीकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ।

सुर्खेत भन्दा नेपालगन्जबाट हुम्लाका लागि फ्लाइटमा अझ महँगो रहेको छ। त्यस्तै अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपी नसक्नु रहेको छ। नेपालगन्जबाट डोल्पा जाँदा ९ हजार र फर्कदा ५ हजार रकम तिर्नु पर्ने बाध्यता रहेको छ। डोल्पा जानका लागि अहिले स्थल मार्गको प्रयोग बढीरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.