|

सल्यान : नेकपा माओवादी केन्द्रले २०७४ को चुनावमा सल्यानका १० पालिकामध्ये ३ पालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो। एउटामा उप्रप्रमुख जितेको थियो  तर पाँच वर्ष पछिको चुनावमा एक पालिकामा मात्र प्रमुख र उपप्रमुख दुवै पद जितेको छ। प्रमुख एउटा जित्दा ३ ठाउँमा उपप्रमुख जितेको छ।

विसं २०७४ मा ३२ वडासहित पहिलो बनेको माओवादी २०७९ मा भने २७ वडामा खुम्चिन बाध्य भएको छ। यस वर्षको स्थानीय तहको निर्वाचनको परिणामले नेकपा माओवादी केन्द्र आफ्नै प्रभाव क्षेत्रमा कमजोर बनेको देखाएको छ। गत चुनावमा माओवादी निर्वाचित भएको स्थानमा यस पटक भने नेपाली कांग्रेसले जितेको छ।

२०७४ को चुनावमा बागचौर नगरपालिकाको प्रमुख‚ उपप्रमुख र ८ वटा वडा अध्यक्ष जितेको माओवादी यस पटकको चुनावमा भने उपप्रमुख र ३ वटा वडाको वडाध्यक्षमा चित्त बुझाउन बाध्य भएको छ। विगतमा माओवादीले जितेका वडामा एक एमाले र बाँकीमा कांग्रेसले जित हात पार्न सफल भएको छ। पार्टीभित्रकै घात अन्तर्घातका कारण माओवादीको राम्रो पकड क्षेत्र हुँदाहुँदै पनि हार्नु परेको माओवादी नेताहरूको भनाइ छ।

गत चुनावमा कुमाख गाउँपालिकामा अध्यक्ष‚ उपाध्यक्ष र ५ वटा वडा जितेको माओवादीले यस पटक अध्यक्ष र उपाध्यक्ष दुवै गुमाउन पुगेको छ। नेपाली कांग्रेस र एमालेको गठबन्धनलाई माओवादीले चिर्न नसक्दा दुवै पद गुमाएको छ। ५ वडा जितेको माओवादी १ वडा गुमाएर ४ वटा वडा मात्र जित्न सफल भएको छ। पार्टीको आन्तरिक समस्यालाई समाधान गर्न नसक्दा माओवादीबाट नै बागी उठे।

एकातिर एमाले-कांग्रेसको गठबन्धन अर्कोतिर माओवादीकै बागी उठ्दा कुमाख जित्न माओवादीलाई फलामको च्युरा चपाउनुृसरह नै थियो। गठबन्धन र माओवादीकै बागीकै बीचमा अध्यक्षमा माओवादीले ४२ मतले मात्र हार बेहोर्नु पर्‍यो। जबकि बागी उम्मेदवारले ४५१ भन्दा बढी मत ल्याएका छन्।

दार्मा गाउँपालिकाले भने माओवादीले क्लिन स्विप गरेको छ। अध्यक्ष‚ उपाध्यक्ष र ६ वटै वडा जितेर माओवादीले दार्मा गाउँपालिका क्लिन स्विप गरेको हो। २०७४ को चुनावमा एमाले र कांग्रेसको गठबन्धनले वडा न १ जितेको थियो तर यस पटकको चुनाव पुरानै गठबन्धनलाई पराजित गरेर ६ वटै वडा जित्न सफल भएको छ। 

नयाँमा पनि विस्तार गर्न सकेन 

माओवादीका लागि निर्वाचन क्षेत्र (क) राम्रो प्रभाव क्षेत्रका रुपमा लिने गरिन्छ। यस पटक ‘क’ समेत आफ्नो प्रभाव खस्काएको माओवादीले निर्वाचन क्षेत्र (ख) मा सुधार गर्न सकेन। निर्वाचन क्षेत्र नं (ख) माओवादीको निकै कमजोर क्षेत्रको रुपमा लिने गरिन्छ। क्षेत्र (ख) मा २०७४ मा सुधार नगरेको माओवादीले यस पटकको निर्वाचनमा पनि उल्लेख्य सुधार गर्न सकेन।

एकीकृत समाजवादी र माओवादीको गठबन्धनबाट कपुरकोटमा उपाध्यक्ष पाउनुबाहेक खासै सुधार गर्न सकेको देखिएन। सदरमुकामसमेत रहेको शारदा नगरपालिकामा माओवादी निकै कमजोर छ। विगतमा एक मात्र वडा जितेको माओवादीले यस पटकको चुनावमा पनि एउटा मात्र वडामा जित हात पार्न सफल भएको छ।

कालिमाटी गाउँपालिकाको वडा ६, छत्रेश्वरी गाउँपालिकाको वडा न २, कपुरकोट गाउँपालिकाको वडा न १ र ५ मात्र वडाअध्यक्ष जित्न सफल भएको छ। त्रिवेणी गाउँपालिकामा भने एक सदस्यसमेत जित्न सकेन। २०७४ को चुनाव र २०७९ को चुनावमा माओवादीले एक सदस्यसमेत नजितेको पालिकाको रुपमा त्रिवेणी गाउँपालिका रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.