|


हेटौँडा : चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जेठ १९ गतेबाट हेटौँडामा हुने भएको छ।

मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको कारण सर्दै आएको प्रतियोगिता जेठ १९ गतेबाट हुने जनाएको हो।

प्रतियोगिताका संयोजक प्रताप विष्टले उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १० वटा टिमको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी, पुलिस क्लब, एपीएफ, फ्रेन्ड्स क्लब, खुमलटार, क्यामरुन, सिमरा, सर्लाही, विजय युथ र चितवनको सहभागिता रहनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, मेडल, प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र द्वितीय हुने टिमले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघले जनाएको छ। साथै प्रत्येक दिनको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने पनि जनाइएको छ।

त्यस्तैगरी खेलको उत्कृष्ट विधागत पुरस्कार अन्तर्गत वेष्ट फर्वाड, वेष्ट डिफेन्डर, वेष्ट गोलकिपर, वेष्ट कोच र वेष्ट स्कोररले जनही २५ हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

गत वर्ष भएको तेस्रोे स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिएको भएपनि यो वर्ष उक्त पुरस्कार प्रदान गर्ने विषयमा निर्णय नभइसकेको खेल संयोजक विष्टको भनाई छ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा मकवानपुरको स्थानीय तहहरूको सहयोगमा आयोजना हुँदै आएको प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.