|

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए। उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले  ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले  १३ हजार ७७० मत ल्याए। 

उपप्रमुख (उपमेयर) मा भने सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भएकी छिन्। उनले ६८ हजार ६१२ मत प्राप्त गरिन्। देशभरका जनप्रतिनिधिमध्ये सुनिताले प्राप्त गरेको मत सबैभन्दा धेरै हो। 

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए। १ लाख ९१ हजार १ सय ८६ मत खसेको काठमाडौंमा मतगणना सुरु गरेको दुई सातापछि अन्तिम परिणाम सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.