|

धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ। २०७३।०७४ सालदेखि गेटामा कलेज निर्माण थालिएकोमा काम अन्तिम चरणमा पुगेको हो। पूर्वाधार निर्माणको महत्त्वपूर्ण काम सकिएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए।

उनका अनुसार चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत पूरा भएको छ। ‘पूर्ण आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको हो’, उनले भने।

अस्पताल र मेडिकल शिक्षा अध्ययनका लागि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्माणको काम लगभग पूरा हुन लागेको उनले बताए। संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावास लगायतका संरचनाहरूको निर्माण पूरा भएको छ।

चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले छात्रावासका थप भवन निर्माणको काम थालेको छ। ६ वटा छात्रावास भवनको निर्माणको काम पूरा हुने दाबी गरिएको छ। ‘आगामी आर्थिक वर्षमा मेडिकल कलेजभित्रका सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी थालिएको छ’, पुजाराले भने, ‘६ सय शय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको छ। अन्य २७ वटा भौतिक संरचना निर्माणको काम सकिएको छ।’

गेटा मेडिकल कलेजमा भवनहरू बने पनि खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढल निकास, विद्युत्‌ सब स्टेशन निर्माण लगायतको काम भने बाँकी छ। भित्री क्षेत्रमा सडक कालोपत्रेका लागि पनि ठेक्का गरिएको छैन। मेडिकल कलेज सञ्चालनको प्रारूप पनि टुंगो नलागेको पुजाराले बताए।

सुदूरपश्चिमवासीले मेडिकल विश्वविद्यालयको प्रारूपमा सञ्चालन हुनुपर्ने माग गरेका छन् तर अस्पताल र कलेज सञ्चालनका लागि आधारभूत भौतिक संरचना तयार भए पनि मोडालिटीमा ध्यान नदिएको हो।

२०४४ सालतिर जगद्गुरु शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए र कुटी पनि बनाएका थिए। शंकराचार्यले २०५६ मा जयेन्द्र सरस्वती स्वर्ण महोत्सव ट्रष्ट स्थापना गरे। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रष्टको नाममा दियो। ७ वर्षसम्म मेडिकल कलेजको काम अगाडि बढेन। ०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो। ०६५ मा सरकारले पहिलोपटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो।

मेडिकल कलेज सञ्चालन गर्न आन्दोलन, सरकारलाई ज्ञापनपत्र

पूर्वाधार तयार भएको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित भएका छन्। मेडिकल कलेज सञ्चालनका लागि दबाब दिँदै स्थानीय आन्दोलित भएका हुन्। नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै तत्काल सञ्चालनका लागि नागरिक दबाब समूह धनगढीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आज बिहानैबाट धनगढीमा हस्ताक्षर संकलनसहितको धर्ना थालिएको नागरिक दबाब समूहका प्रतिनिधि, नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए। जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरूप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रमसमेत रहेको उनले बताए।

यस्तै आज (बिहीबार) गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै गेटा मेडिकल कलेजको सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले पनि तीनै तहका सरकारलाई ज्ञापनपत्र बुझाएको छ। संघर्ष समितिले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

उक्त समितिले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको जनाएको छ। तत्काल मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अगाडि बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाइएको हो।

यस्तै दबावस्वरूप धनगढीमा सडकमै पत्रकार सम्मेलन पनि गरिएको छ। धनगढीस्थित एलएनचोक सडकमा अभियन्ताहरूले सडकमै पत्रकार सम्मेलन गरेका हुन्। उक्त सम्मेलनमा राजनीतिक दलका प्रतिनिधि, कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधि र धनगढीवासी सहभागी थिए। शुक्रबार बिहान ८ बजे आन्दोलनका थप कार्यक्रमसहित गेटा मेडिकल कलेज परिसरमा चिकित्सकसहितको समूह जाने र सो समूहले विरोधस्वरूप परिसरबाट स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ।

संघीय सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय समावेश नभएकाले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको हो। जेठ १५ गतेसम्म विभिन्न चरणमा आन्दोलनका कार्यक्रम जारी रहने बताइएको छ।















तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.