|

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले पुनः मतदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार चुनाव निष्पक्ष नभएको ठहर गरी वैशाख ३० गते भएको मतदान रद्द गरी पुनः मतदान गर्न लागिएको हो।

पुनः मतदानका लागि आयोगले प्रशासन तथा सुरक्षा प्रमुखहरूलाई हटाउन सरकारलाई निर्देशन दिएको छ। आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल सशस्त्र प्रहरी जिल्ला प्रमुख दिपक विष्ट र नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझालाई ३ दिनभित्र हटाई अरु कर्मचारी पठाउन भनेको हो। उनीहरुले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता स्वतन्त्रता र निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ।

उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी ३ महिनाभित्र आयोगलाई जानकारी दिन र पुनः निर्वाचनको वातावरणसमेत मिलाउन निर्देशन दिएको छ।  अबको निर्वाचन कार्यक्रम भने निर्वाचन अधिकृतको कार्यालयले नै तोक्ने प्रवक्ता पौडेलले जानकारी दिए।

बुढीगंगामा नेपाली कांग्रेसले पुनः निर्वाचन गराउन आयोगसँग माग गरेको थियो भने एमालेले यथास्थितिमा मतगणना हुनुपर्ने अडान राखेको थियो। वैशाख ३० गते भएको मतदानमा उक्त नगरपालिकाका १० मध्ये ६ वडामा अत्यधिक विवाद भएको थियो।

वडा नम्बर २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीय मतदाताको गुनासो छ। त्यहाँ उत्पन्न विवादबारे अध्ययन गर्न निर्वाचन आयुक्त सगुन शम्शेर जबरासहितको टोली बाजुरा पुगेका थिए। सोही टोलीले बुझाएको प्रतिवेदनको आधारमा पुनः मतदान गराउने निर्णय गरेको आयोगले जनाएको छ।

उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.