|

दाङ : तुलसीपुर उपमहानगरपालिकामा नवनिर्वाचित मेयर टिकाराम खड्काले सपथ ग्रहण गरेका छन्। बिहीबार घोराहीमा  मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश रितेन्द्र थापाले खड्कालाई गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

मुख्य निर्वाचन अधिकृत थापाले मेयर खड्कालाई प्रमाण पत्र समेत प्रदान गरेका थिए। मेयर खड्काले घोराही उपमहानगरपालिकामा रहेको सहिद नेत्रलालको सालिकमा माल्यार्पण गरेका छन्।

त्यस्तै उपमहानगरकी नवनिर्वाचित उपमेयर तथा वडाध्यक्ष र  सदस्यहरूले पनि सामूहिक रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन्। मेयर खड्काले उपप्रमुख सहित १९ जना वडा अध्यक्ष र सदस्य गरी ९६ जना जनप्रतिनिधिहरूलाई एकैसाथ पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तुलसीपुर निर्वाचन अधिकृत राजेश्वर अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए। नवनिर्वाचित मेयर, उपमेयर सहित सबै जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको सपथ ग्रहण पछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णयहरू गरेको छ।

जसमा भूमिहीन सुकुम्बासीका पूर्जा वितरण गर्ने प्रक्रियालाई तत्काल अघि बढाउने रहेको छ।  त्यस्तै ७० वर्ष माथिका ज्येष्ठ नागरिक, दुई महिने सुत्केरी महिलालाई नगर क्षेत्र भित्र निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको मेयर खड्का जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.