|

काठमाडाैं : शेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीवार पनि वृद्धि भएको छ। पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ।

बिहीवार नेप्से परिसूचक ८.०३ अंक अर्थात् ०.३६ प्रतिशत बढेर २२३९.६० बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले बढेको छ।

बिहीवार कारोबारमा आएका २२२ कम्पनीको २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से सामान्य अंक बढेपनि बिहीवार कारोबार रकम भने न्यून भएको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक गिरावट आएको छ भने बाँकी ८ उपसमूहको परिसूचक वृद्धि भएको छ। जसमध्ये बैंकिङ उपसमूह सबै भन्दा बढी ०.९८ प्रतिशतले बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ।​

बिहीवारको कारोबारमा मेगा बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नारायणी डेभलपमेण्ट बैंकको ६.२० प्रतिशत बढेको छ। यता गुराँस लघुवित्तको शेयर मूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ। सिँगटी हाइड्रो इनर्जी र माउण्टेन इनर्जीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर मेगा बैंक शीर्ष स्थानमा रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.