|

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको चुनावको संघारमा अहिले नेतृत्वको चर्चामा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङकै चर्चा छ। फ्रेन्डस क्लबका पूर्वअध्यक्ष राजिव पौडेलले समेत उम्मेदवारी दिएका भए पनि उनको चर्चा कमै छ। शेर्पा र नेम्बाङ दुवै पक्ष आफूलाई अब्बल सावित गर्न आरोप प्रत्यारोप र प्रचारबाजीमा उत्रिएका छन्।

कर्माले फेसबुक पेज नै बनाएर मे ५ तारिखमा विभिन्न तस्वीरको ग्राफिक बनाएर आफ्नो प्रचार गरिरहेका छन्। फेसबुकमा ‘हाम्रो नेतृत्वमा गठन भएको कार्यसमितिले गरेको पुनर्निर्माणको कार्यहरू’ भन्दै कर्माले दशरथ रंगशाला, पोखरा रंगशाला र विराटनगर रंगशाला पुनर्निर्माण, धरान, रौतहट र बुटबल टेक्निकल सेन्टर, ग्रासरुट फुटबल, एन्फामा टेक्निकल बोर्ड जडान गरेको जस्ता कामको जस लिने प्रयास गरे।

कर्माले सामाजिक सञ्जालमा आफूले गरेका कामको जस लिन खोजेको २ दिन नबित्दै ‘चेन्ज एन्फा’ नामको फेसबुक पेजले उनीविरुद्ध अध्यक्षका अर्का उम्मेदवार पंकजविक्रम नेम्बाङलाई नयाँ मसला पस्किएको छ। कर्मा प्यानलविरुद्ध चुनावको मुखमा गरिएको एउटा पोष्टले फुटबल वृत्तभित्र नयाँ बहस नै सिर्जना गरेको छ।

एन्फाले ८० हजार खर्च गरेर यार्सागुम्बा किनेको बिल त्यो फेसबुक पेजमा सार्वजनिक भएको थियो। अहिले कर्मा नेतृत्वको टिम आलोचनाको शिकार बनिरहेका छन्। यौनवरद्धक औषधि मानिने बहुमूल्य यार्सागुम्बा एन्फाले कसका लागि किनेको हो भन्ने कौतुहलता अहिले सामाजिक सञ्जालमा व्याप्त छ।

‘चेन्ज एन्फा’को पेजमा गरिएको पोष्टमा ‘राष्ट्रका लागि दिनरात रगतपसिना बगाउने खेलाडीहरूले राम्रो खानपान र बस्ने ठाउँको व्यवस्था गरिदिनुस् भन्दा अपमानित गरेर टिमबाट निकाल्ने, तर पदाधिकारीका लागि ८० हजार रुपैयाँको महँगो यार्सागुम्बा किनेर दिने कर्मा प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार शिक्षित पराजुली, आर्थिक समितिका प्रदेशसिंह राठोर उम्मेदवार अनि एन्फाको आजीवन महासचिव हो जस्तो गर्ने इन्द्रमान तुलाधरले यसको जवाफ दिने की? सुशासनसहितको भ्रष्टाचारको नमुना’ उल्लेख गरिएको छ।

यसका साथै यार्सागुम्बा किनेको बिलसमेत पोष्ट गरिएको छ। एन्फाले प्रतिग्राम १ हजारका दरले ८० ग्राम यार्सागुम्बाका लागि ८० हजार रूपैयाँ तिरेको भ्याट बिलको नै तस्वीर राखिएको छ। एसएनएम इन्टरनेसनल प्रालि, ज्याठासँग २०७८ साल कात्तिक ५ गते खरिद गरेको बिल र एन्फाबाट पास भएको भुक्तानी पत्रसमेत सार्वजनिक भएको छ।

उपहार पनि दिन नपाउने? : अध्यक्ष कर्मा

यार्सागुम्बा खेलाडीहरूको लागि खरिद गरिएको हो? भन्ने थाहाखबरकर्मीको प्रश्नमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने‚ ‘खेलाडीहरूका लागि हैन‚ हामीले विदेशीहरूलाई उपहार दिएको हो। हामी उपहारको रुपमा चियापत्ती दिन्छौै, गलैँचा दिन्छौं‚ नेपालकै उत्पादन नै त दिने हो नि! नेपालको यार्सागुम्बा विदेशीलाई दिएर मार्केटिङ गर्न नमिल्ने हो र? इलामबाट निरोज (केन्द्रीय सदस्य निरोज खड्गी) ले चियापत्ति उपहारको रुपमा भन्दै ल्याएर दिने गरेको छ।’

उनले चियापत्ति‚ गलैँचाजस्ता नेपाली उत्पादन उपहार दिँदा अर्को नेपाली उत्पादन यार्सागुम्बा उपहारमा दिन नमिल्ने हो र भन्ने प्रतिप्रश्न गरे। उनले भने‚ ‘उपहारको रुपमा ८० हजार पनि खर्च गर्न नमिल्ने हो र? त्यसमाथि पनि हामीले रजिष्टर्ड कम्पनीबाट भ्याट बिलमा खरिद गरेका छौं। हामीले नेपालकै उत्पादन प्रचार गरेका हौं भ्रष्टाचार गरेको हैन।’

उपहार दिएको विदेशीबारे सोधेको थाहाखबरकर्मीको जिज्ञासामा यसबारे महासचिव इन्द्रमान तुलाधरलाई जानकारी भएको कर्माले बताए। यसबारे बुझ्न तुलाधरसँग सम्पर्क गर्न प्रयास गर्दा उनको मोबाइल स्विच अफ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.