|

म्याग्दी : रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। 

म्याग्दीको धवलागिरि गाउँपालिका- ५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै धवलागिरि हिमालको काखमा ६०० भन्दा बढी भेडापालन गरेका हुन्।

पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्याल यतिबेला ६०० भन्दा बढी भेडाको बथान लिएर धवलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरि हिमालको बेसक्याम्प उक्लिएका छन्। ‘यो मेरा पिता पुर्खाको थलो हो। यहाँ मेरा पूर्वजका पैतालाका डोबहरू छन्', उनले भने, 'तिनै डोबलाई पछ्याउँदै भेडापालन पेशा रोजेको हुँ।’​

छन्त्यालको परिवार पोखरामा छ। तर उनी भने पुर्खाले जीवन बिताएको जङ्गल र भिरपाखामा नै रमाइलो लाग्ने र जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताँछन्। ‘दुःख त हुन्छ तर,बाबुबाजेले गरेको काम गर्न संकोच लाग्दैन’ छन्त्यालले भने, ‘देश विदेश घुमियो,रंग रमाइलो पनि गरियो, तर आफ्नो जन्मभूमिमा पुर्खाले गरेको काम गर्दा पाइने आनन्द कतै पाउन सकिएन।’

भेडाको बथान लिएर धवलागिरि गाउँपालिका– ५ र रघुगंगा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा जान लागेका छन्त्यालले व्यावसायिक भेडापालन गर्नेको संख्या घट्दै गएको बताए। छन्त्याल एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएको र २५ लाख बढी आम्दानी गरेको जानकारी दिए ।

उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जंगलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले यो पेशा रोजेको उनी बताउँछन्। छन्त्यालको दैनिक बिहान उठेर भेडाको गणना गर्दै सुरु हुन्छ। त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने गर्छन्। लेकको बुकी र पाखा पखेरामा चराइसकेपछि पुनः गोठमै फर्केर भेडाको स्याहारमा लाग्छन्। 

‘जंगलको बास। फोन र इन्टरनेटको त परको कुरा रेडियो समेत सुन्न सकिँदैन। वर्षा, हिमपात केही भन्न पाइँदैन’, छन्त्यालले भन्छन्, ‘गोठालाको जीवन सजिलो त छैन तर, स्वच्छ प्राकृतिक वातावरणमा आफ्नै राजीखुशीको काम गर्न पाउँदा आनन्द लाग्छ’। छन्त्यालले विदेशमा आर्जन गरेको रकमसहित ऋणसमेत गरेर पाँच वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेका थिए। आफूबाहेक दुई जना हेरालु राखेका छन्।

धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यसलाई अँगालेको उनी बताउँछन्। पछिल्लो समय परम्परागत गोठ विस्तारै घट्दै गएको छ। युवा आकर्षित नहुनेर पुराना गोठ बिक्री गर्ने क्रम बढेकाले भेडापालन व्यवसाय संकटमा परेको उनको बुझाइ छ। यसको प्रवर्धनका लागि स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.