|

तुलसीपुर : गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गाउँपालिकामा भन्दा उपमहानगरका धेरै मत बदर भएको छ। थोरै मात्रामा पूर्णरूपमा बदर भए पनि धेरै मात्रामा मेयर र उपमेयरका लागि बदर भएका हुन्।

तुलसीपुरमा मात्र पूर्ण रूपमा १ हजार ३४८ मत बदर भएका थिए भने मेयरका लागि ११ हजारभन्दा बढी र उपमेयरका लागि करिब १७ हजार मत बदर भएका थिए। तुलसीपुर उपमहानगरपालिकामा खसेको जम्मा मत ७४ हजार ३३६ खसेको थियो। त्यस्तै तुलसीपुर १२ मा हजार ५६५ मत खसेकोमा वडाध्यक्षमा सदर मत ३ हजार ९४१ थियो भने ६२४ मत बदर भएको थियो।

त्यस्तै घोराहीमा पनि अवस्था उस्तै रहेको थियो। पूर्णरूपमा भन्दा पनि प्रमुख र उपप्रमुखको मत बदर हुँदा निर्वाचन अधिकृतदेखि उम्मेदवार र मतदाता पनि केही मतदाता शिक्षाको कमी र मतपत्र जटिल हुँदा पनि भएको बताउँछन् भने केही जानी जानी  पनि गरेको हुनसक्ने उनीहरूको भनाइ छ।

घोराहीमा ७६ हजार २४२ मत खसेकोमा ६५ हजार ८३८ मत सदर भएको थियो भने करिब साढे १० हजार मेयर पदका लागि र उपमेयरका लागि १० हजारभन्दा बढी मत बदर भएको थियो।

तुलसीपुर उपमहानगर-१६ की निर्मला डाँगीले मतदाता शिक्षाको कमीले गर्दा नै मत बदर भएको बताइन्। उनका अनुसार गाउँ घरमा ज्येष्ठ नागरिकले मतपत्रमा लेखेका कुरा पढ्ने नजान्ने भएकाले पनि उनीहरूलाई मतदाता शिक्षा आवश्यक हुन्छ तर योपटकको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा दिइएको पाइएन।
त्यस्तै उनले निर्वाचन आयोगले मतदाता शिक्षा नदिएको भएयता पनि उम्मेदवारले गाउँटोलमा गएर चुनाव चिह्नबारे जानकारी दिएको भए पनि त्यसमा कमी हुने बताइन्। त्यस्तै उनले कतिपय कुरामा मतदाताले नियतवश बदर गर्ने गरेको पनि उल्लेख गरिन्।

त्यस्तै अर्का दोर्णबहादुर खत्रीले भने केही मतदाता शिक्षाको कमी र अर्को गठबन्धन हुँदा मतदाताले चुनाव चिह्न थाहा नपाउँदा पनि बदर भएको बताए। उनले भने, ‘पहिला मतदाता शिक्षा पनि हुन्थ्यो। त्यस वेला मत बदर कम हुन्थ्यो तर अहिले मतदाता शिक्षा पनि भएन। मतपत्र पनि ठूलो र गठबन्धन हुँदा धेरै दलका उम्मेदवारलाई भोट दिनुपर्ने अवस्था थियो। जसले गर्दा नै मत बदर भएको हो।’

उनले पनि कतिपय मतदाताले उम्मेदवारहरू मन नपराउँदा सबैलाई भोट दिँदा नै बदर भएको आफूले देखेको बताए। उनले अझै पनि मतदातालाई शिक्षा दिन आवश्यक रहेको र दलहरूले पनि राम्रा उम्मेदवारलाई टिकट दिनुपर्ने अवस्था आएको उल्लेख गरे।

मतदातालाई मात्र नभई पार्टीका नेताहरूलाई पनि मतदाता शिक्षाको कमीले गर्दा अहिलेको निर्वाचनमा मत बदर भएको बताउँछन्। नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले पनि तुलसीपुरका धेरै वडामा मतहरु बदर भएको बताइन्।

उनले भनिन्, ‘मत गणना हुँदा मैले पनि केही वडाको हेर्ने अवसर पाएकी थिएँ तर ती वडामा धेरै मत बदर भएको देखेँ। यसरी मत बदर हुनुका कारण पहिलो त मतपत्रको कारण हो। त्यसपछि धेरै उम्मेदवार उठेको हुँदा र गठबन्धनले गर्दा पनि कुन उम्मेदवारको चिह्न कुन हो ? भनेर थाहा नपाउँदा मत बदर भएको हो। त्यसको लागि मतदाता शिक्षाको कमी भए जस्तो लाग्यो।’

त्यस्तै केही प्रतिशत मतदाताले भने जानी जानी मत बदर गरेको हुनसक्ने उनको भनाइ थियो। उनले अझै पनि मतदातालाई शिक्षा दिन आवश्यक रहेको औँल्याइन्।
घोराही उपमहानगरमा करिब ११ सय पूर्ण रूपमा मत बदर भएको थियो। यसरी मत बदर हुनुमा मतदाता शिक्षाको कमीले गर्दा भएको घोराहीका मेयर नरुलाल चौधरीले बताए।

उनका अनुसार मतदाता शिक्षामा निर्वाचन कार्यालय, राजनीतिक दलहरूको भूमिका कमी हुँदा यस्तो भएको हो। त्यस्तै उनले मतदाताले क्रसमत गर्दा बदर भएको भन्दै त्यो गठबन्धनका कारण भएको पनि बताए।

उनले भने, ‘सूर्य चिह्नमा भोट हालेको मतमा बदर कम भएको छ तर फरक फरक चिह्नमा भोट हाल्दा मत बदर भएको पाइयो। त्यसैले गर्दा दलले पनि यसमा ध्यान दिनुपर्छ।’

मतपत्रको टुक्रा च्यातेको पनि भेटिए
त्यस्तै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रीतेन्द्र थापाका अनुसार जिल्लामा दुई प्रकारका मत बदर भएका छन्। पूर्णभन्दा पनि पदका मत धेरै भएका छन्।

उनले घोराही उपमहानगरका पूर्णभन्दा पदको मत धेरै बदर भएको भन्दै सदस्यले १५ सय मत पाएर विजयी भएका छन् तर ७/८ सय मत भएको बताए। त्यस्तै घोराहीमा मेयर पदका लागि मात्र करिब ९ हजार मत बदर हुँदा चिन्ताजनक अवस्था रहेको उनको भनाइ छ।

त्यस्तै उनले मतपत्र बदर हुनुको पहिलो कारण मतपत्र जटिल भएका कारण भएको बताए। उनले भने, ‘योपटक मतदाता शिक्षा भएको थिएन तर मतदाता शिक्षाको कारण मत बदर भएको हो? भन्ने पक्षमा म छैन। पहिलाको चुनाव पनि मतदाता शिक्षा हुन्थे तर, मत बदर भएका थिए। योपटक धेरै मत बदर हुनुमा मतपत्र जटिल भएका कारण पनि हुनसक्छ।’

उनका अनुसार मतपत्र दुई लहरको र मतपत्र धेरै ठूलो आकारको हुँदा पनि मतदातालाई समस्या भएको हुनसक्छ। त्यस्तै विभिन्न दलहरू मिलेर चुनावका भाग लिँदा पनि समस्या भएको उनको भनाइ छ।

उनले भने, ‘उम्मेदवारहरू मिलेर अलग अलग चिह्नबाट चुनावमा भाग लिएका थिए। जसले गर्दा मतदातालाई आफ्नो दलको उम्मेदवारलाई मात्र नभइ अन्य दलका उम्मेदवारको चुनाव चिह्नमा पनि भोट हाल्दा समस्या भयो। जसले गर्दा धेरै बदर भएको पाइन्छ।’

यस्तै मतदाताहरूले आफूले मत हाले पनि मतपत्रको टुक्रा च्यातेर लगेको धेरै संख्यामा भेटिएका कारण पनि मत बदरको संख्या बढेको हुन सक्ने उनको भनाइ छ। उनले भने, ‘एक ठाउँमा मतदाताले मत हाल्दा मतपत्रको टुक्रा च्यातेर हालेको हाम्रो मतदान अधिकृत देख्नु भएछ। त्यो उहाँले खोसेर राख्नु भएछ। त्यस्ता मतपत्र गणनाको क्रममा धेरै भेटिएका थिए। जानजान मतदाताले त्यो कारणले गर्दा मत बदर गरेको पनि हुन सक्छ।’

त्यस्तै केही मतपत्रमा विभिन्न वस्तु टाँसेर राखेको पाइएको भन्दै उनले केहीमा आवश्यक उम्मेदवारभन्दा धेरैलाई मत दिँदा पनि बदर भएको पाइएको पनि बताए।

योपटक निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरे पनि विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट नियमित रूपमा देखिएको भन्दै मतदाता शिक्षा लागू भएको भए केही संख्यामा मत बदर घट्न सक्ने उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.