|

हेटौँडा : नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा परेपछि यतिबेला हेटौँडा कपडा उद्योगप्रतिको चासो बढेको छ। कयौँ पटक सरकारको बजेटमा परेर पनि सञ्चालनमा आउन नसकेको उद्योग पुनः बजेटमा  परेसँगै  उद्योगको चासो पनि बढेको हो।

राजनीतिक खिचातानीले गर्दा २२ वर्षअघि बन्द भएको सरकारी स्वामित्वमा रहेको हेटौँडा कपडा उद्योगको अवस्था दयनीय छ। उद्योगको भवनमा लेउ र झार पलाएर भवन जीर्ण बनेको छ। पानी चुहिने जीर्ण भवनका केही भागमा सशस्त्र प्रहरी बल बसिरहेको छ। दुई दशकदेखि बन्द रहेको उद्योगमा रहेका  मेसिनहरुमा खिया लागेका छन्।

जालो, लेउ र खियाले मेसिनहरुलाई पनि जीर्ण देखाएको  छ। २२ वर्षअघि हालिएको कपडा बुन्ने धागो र कपडा अझैपनि उद्योगमा देख्न सकिन्छ। कपडा बुन्न ल्याइएका धागो र अन्य सामानहरु उद्योगभित्र बोरामा नै कुहिरहेको देखिन्छ।

आकाशको पानी छानोबाट चुहिएर उद्योगका मेसिनमा परेका छन्। वर्षौंदेखि बन्द उद्योगमा बिजुली पनि छैन। उद्योगभित्र चलचित्रमा देखाइने भुत्याहा घरजस्तै दृश्य देखिन्छ। भयानक अन्धकार उद्योगभित्र लथालिङ्ग अवस्थामा रहेका मेसिन र कपडा बुन्ने धागोसहितका  सामानहरु पुनः प्रयोगमा आउन सक्ने अवस्थामा देखिँदैन।

सरकारले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन मेसिन मात्रै होइन भवन पनि  मर्मत गर्नुपर्ने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका व्यवस्थापक राजेन्द्र कँडेल बताउँछन्। उनका अनुसार उद्योगभित्र रहेका अधिकांश मेसिनहरु पुनः प्रयोगमा ल्याउन  सक्ने अवस्थामा पनि छैनन्।

केही मेसिनहरु पुनः प्रयोगमा ल्याउन सक्ने भएपनि त्यसको  मर्मत गर्न चीनबाट विज्ञ टोली बोलाउनुपर्छ। पुराना मेसिनले अहिलेको बजारमा प्रतिष्पर्धा  पनि गर्न नसक्ने उनी बताउँछन्।

त्यसैले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले ठूलो  खर्च गर्नुपर्ने देखिन्छ। उनका अनुसार चीनको सहयोगमा २०३२ सालमा निर्माण सुरु भएको उद्योग २०३५ सालबाट सञ्चालनमा आएको थियो। नेपाललाई कपडा उत्पादनमा पूर्ण आत्मनिर्भर बनाउने लयमा दौडिरहेको उद्योग विस्तारै राजनीतिक हस्तक्षेप बढ्दै जाँदा बन्द नै हुन पुग्यो।

राजनीतिक पहुँचको आधारमा आवश्यकताभन्दा बढी कर्मचारी भर्ती गर्नु, कर्मचारीका रूपमा कार्यकर्ता भर्ती गर्नु र भर्ती भएका कार्यकर्ता काम छोडेर राजनीतिक आन्दोलनमा होमिनुले उद्योग बन्द भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.