|

सल्यान : संघीयता कार्यान्वयनसँगै दोस्रो पटक भएको स्थानीय निर्वाचनले नयाँ जनप्रतिनिधि छानेको छ। पहिलो कार्यकालका जनप्रतिनिधिको प्राथमिकतामा सडक, भौतिक संरचना निर्माण जस्ता एजेन्डा परे।

हरेक बस्तीमा सडक सञ्जाल जोडिए पनि ती सडक बाह्रै महिना सञ्चालन हुँदैनन्। नवनिर्वाचित जनप्रतिनिधिहरुले भने सूचना, सञ्चार, स्वास्थ्य क्षेत्रका विषयमा ध्यान दिन थालेका छन्। पहिलो निर्वाचन भन्दा यस पटकको निर्वाचनमा धेरै पालिकामा युवाको उपस्थिति रहेको छ।

जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको शारदा नगरपालिकाले वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। चुनावमा पहिलो एजेन्डाको रुपमा राखेका नवनिर्वाचित नगर प्रमुख प्रकाश भण्डारीले बैंकहरुसँग समन्वय गरी १५ वटै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन्।

अति अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिकलाई वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको उनकाे भनाई छ। भत्ताकै लागि दुई तीन घण्टा हिडेर बैंकसम्म धाउनु पर्ने बाध्यतालाई मध्यनजर गरी वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको भण्डारीको भनाई छ।

यस्तै बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाले प्रत्येक वडामा निःशुल्क एम्बुलेन्स सेवा र बिरामी अस्पतालसम्म पुग्न निःशुल्क यातायातको सेवा प्रदान गर्ने बताएका छन्। एक वर्ष भित्र सिद्ध कुमाखका सबै वडामा एम्बुलेन्स आउने सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले बताए। उनले निर्वाचनको समयमा जनतासँग गरेको बाचालाई पूरा गर्न अबको एक वर्षभित्र सबै वडामा एम्बुलेन्स उपलब्ध हुन्छ।

यातायात र स्वास्थ्यको अभावमा कुनै पनि सर्वसाधारण समस्यामा नपरोस् भन्ने आफूहरुको सोच रहेको गिरीको भनाई छ।

यस्तै दोस्रो पटक निर्वाचित भएका कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले पहिलो कार्यकालमा अधुरा रहेका योजनासँगै नयाँ योजनाका साथ अघि बढ्ने बताए। कालिमाटी गाउँपालिकाले पालिकालाई खरको छाना बनाउने निर्णय गरेको छ। पालिका भित्र रहेका जति पनि खरका छाना भएका घरहरु छन्, ती सबै विस्थापित गर्ने आफ्नो लक्ष्य रहेको खत्रीको भनाई छ।

बार्षिक करोडौँको तरकारी निर्यात गर्दै आइरहेको कपुरकोट गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ भने बनगाड कुपिण्डे नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.