पूर्वाग्रह होइन सहकार्य आवश्यक

|

निरन्तर परिवर्तन विकासको प्राकृतिक अभ्यास हो। आफू परिवर्तन हुने चाहना राख्नु, आफ्नो भौतिक अवस्थाबाट उन्नत हुन खोज्नु सही मानिने तर नेतृत्व, प्रवृत्ति र पद्धति परिवर्तन हुने समय आयो भने विरोध किन ?

परम्परागत नेतृत्व र धारणा त्यागेर नयाँ परिवर्तनले ल्याएको नयाँ कुरा स्वीकार्ने क्षमता राख्नु पनि विकसित हुनु हो। विशेषगरी हालै सम्पन्न स्थानीय निर्वाचन परिणामले नागरिकमा ल्याएको उत्साहलाई परम्परावादीले खुलेर स्वीकार गर्न नसकेको महसुस भइरहेको छ।

तर, नागरिककै मत प्राप्त गरेर आएका स्वतन्त्र जनप्रतिनिधिलाई स्वीकार्न ठूला दललाई नै कठिन किन? यसको कारण हो उनीहरूमा गढेर बसेको पुरातनवादी सोच, क्षेत्रीय, जातीय, भूगोल र संस्कृतिलाई माध्यम बनाएर गलत रूपले आफूलाई स्थापित गर्दै आएकोमा अप्ठ्यारो पर्ने डर। पुरानो ढर्रामा चलेकाहरूलाई नयाँ पुस्ता र नयाँ सोच अनि परिवर्तन पचाउन गार्‍हो हुने रहेछ। जसरी पहिले राणा, पञ्च वा पुराना स्थापित नेताहरूलाई सहज हुँदैनथ्यो। 

अहिलेसम्म नागरिकले पचाएका थिए दलका नेताका मिठा भाषण र विश्वस्त थिए विभिन्न आश्वासनका ललिपपबाट। तर, समय धेरै अगाडि बढिसकेको र निराशाले जर्जर बनाइरहेको अवस्थामा नागरिक मतले नयाँ रोज्यो, आशा खोज्यो।

सधैं सुन्दर, विकसित, स्वर्ग र शान्तिप्रिय बनाउँछु भन्ने प्रचार प्रसार र नाराको अब दिन गए र तिनलाई कर्ममा बदल्ने समय आयो। त्यसकै परिणाम हो स्वतन्त्र उमेदवारको विजय। स्वतन्त्र उमेदवारको विजय राजनीतिको विरोध होइन, न त व्यवस्था र संविधानविपरीत कुरा हो। यसबाट आत्तिइहाल्नु पर्ने केही छैन।

स्थापित राजनीतिक नेतृत्वको काम, कर्तव्यप्रतिको बेवास्ता र वितृष्णाको परिणाम हो। पुरातनवादी सोचले मेरै थलो, मेरै मर्जी, मेरै दल, अनि जनता चाहिँ दलदलमा देखिएको संस्कारको परिणाम हो।

आगामी दिनमा सुध्रिने र जनतालाई केन्द्रमा राखेर जनताप्रति शासन होइन, जनप्रतिनिधि भएको नाताले सेवा प्रवाह गर्ने लक्ष्यसहित अघि बढ्ने र आफ्ना कमजोरी महसुस गर्ने एउटा सिकाइको अवसर हो।

किन विकल्प खोज्छन् जनता ?

निर्वाचनद्वारा चुनिने प्रतिनिधि जनताद्वारा विश्वास गरिएका पात्र हुन्। जसले आफ्नो संकल्पका साथ जनता र राज्यको हितमा बहुजन हितायको भावले निष्ठा र इमान्दारीपूर्वक कर्म गर्न अग्रसर हुनुपर्छ। तर, जब संकल्प बिर्सन्छन्, राजनीतिक नेतृत्वले तब जनताले विकल्प खोज्न थाल्दछन्।

घोषणापत्र अनुसारको कर्म, जनताको अपेक्षा अनुसारको सेवा अनि माटो सुहाउँदो विकासको विकल्प छैन। त्यसैले नेतृत्वमा विकल्प खोज्ने समय आउँछ।

स्थानीय निर्वाचनको परिणामसँगै आएको बजेटमा जसरी आकर्षक फूलबुट्टा भरेर प्रस्तुत गरिएको छ, त्यसलाई कार्यान्वयन गर्नमा नेतृत्व तहको त्यतिनै भूमिका रहन्छ। विकासकै कार्यमा निकासा भएको बजेट समेत कार्यान्वयन नहुनुमा नेतृत्व तहबाट आवश्यक पहल नहुनु पनि हो।

आम नागरिकको पहिलो प्राथमिकतामा रहनुपर्ने शिक्षा र स्वास्थ्यलाई आफ्नो कार्य थालनीको पहिलो प्राथमिकतामा राखेका स्वतन्त्र जनप्रतिनिधिलाई उनको सकारात्मक र दीर्घकालीन सोच अनि काम गर्न सक्ने क्षमतालाई साथ दिनु सबैको कर्तव्य हो। जब दीर्घकालीन सोच आउँछ तब मात्र कर्म गर्ने संकल्प अगाडि बढ्छ। अनि मात्र यो भूगोलको इतिहास, कला, संस्कृति, सम्पदा सबै नै आफैँ समेटिएर आउनेछन्।

पात्र र प्रवृत्तिको रोजाइमा वैकल्पिक जनप्रतिनिधि उदाएका हुन्। दलका केन्द्रीय नेतृत्वको स्थानमै स्वतन्त्र उमेदवार विजयी हुनु संयोग मात्र होइन ।

परिणाममुखी विकास गर्ने सोच भएका वैकल्पिक नयाँ नेतृत्व नै रोजाइमा परेका हुन्। अन्यथा राजनैतिक विरासत स्थापित गरिसकेका स्थानबाट स्वतन्त्र उमेदवार विजयी हुने अवस्था रहने थिएन। स्वच्छ छवि, मर्यादित पद्धति, विना चलखेल पारदर्शी निर्वाचन प्रक्रिया, विचौलियारहित स्वस्थ प्रतिस्पर्धा र इमान्दार राजनीति हुने हो भने विकल्पमा स्वतन्त्र किन आउँछन्? यसबेला विकल्पको अर्थ नै नागरिकको अभिमत बनेर प्रस्तुत भएको छ।

कमजोरीलाई आत्मसात गर्न यो सकारात्मक सन्देश हो। कार्यशैलीमा लोकतान्त्रिक परिवर्तन आओस्। यही चाहनाका लागि विकल्पको खोजी भयो। कैयौँ केन्द्रीय नेतृत्वको स्थानमै स्वतन्त्र उमेदवार विजयी हुनु संयोग मात्र होइन, यसबाट धेरै शिक्षा लिनु जरूरी छ। पात्र र प्रवृत्तिको रोजाइमा वैकल्पिक जनप्रतिनिधि उदाएका हुन्।

पुरातनवादी सोच, दल, नेतृत्व र उनीहरूको चित्त नबुझ्दो कार्यशैली, चरित्र र प्रवृत्तिविरुद्ध जनताको विरोध, निराशा, आक्रोश र अविश्वासको एकमुष्ट अभिव्यक्ति हो, वैकल्पिक नेतृत्व। एक आपसमा गालीगलौज र दोषारोपणका भाषण मात्र आइरहेको समयमा सहरको सुधार, विकास, सेवा र सुविधाका योजना र लक्ष्य सुनाउने नागरिक पक्कै सबैका भरोसाका केन्द्र बने। यहाँ मात्र होइन विश्व इतिहास हेर्ने हो भने यसरी नै जनताको चेतावनी र राजनीतिक दललाई चुनौतीस्वरूप उदाउँछ, वैकल्पिक नेतृत्व।

कुराभन्दा कामबाट परिवर्तन

विगतमा स्थानीय निकायका जनप्रतिनिधिले दिनुपर्ने नागरिकको दैनिक जीवनशैलीमा प्रभाव पार्ने आधारभूत सेवा र सुविधा उपलब्ध गराउन सकेको भए यसपटक उनीहरूको पराजय हुने थिएन।

कुरा ठूला गर्ने, काम सानोतिनो पनि परिणाममा नदेखिएकै कारण आज नागरिक सचेत बनेर जनता र जनप्रतिनिधिको सम्बन्ध विकसित गर्न खोज्दैछन्। यो आजको माग होइन दशकौँदेखि नागरिकले भोगेको वितृष्णाको परिणाम हो।

ठाउँ–ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था, सुलभ यातायात, सवारी साधन पार्किङको व्यवस्था, पैदल यात्रुलाई दिनुपर्ने सुविधा, फरक क्षमता भएकालाई त्यस्तै बाटो र सहज हिँडडुल गर्न सक्ने व्यवस्था, सार्वजनिक सवारी साधन सुरक्षित र सुविधायुक्त महशुस गर्ने वातावरण जस्ता साना कुराले धेरै परिवर्तन ल्याउनेछ।

सरकारी तथा खाली जग्गामा पार्क, खेलकुद मैदान, पुस्तकालय तथा सूचना केन्द्र, स्वच्छ सफा नदीनाला तथा वृक्षारोपण चाहिएको हो। महिला तथा बालबालिकाले सुरक्षाको अनुभूतिका साथ आफ्नो काममा आवतजावत गर्न सक्ने वातावरण खोजेका हुन्। नि:शुल्क स्वास्थ्य केन्द्र, आपतकालीन स्वास्थ्य सेवा, चिकित्सकहरूको उपलब्धता, सेवाप्रदायक सार्वजनिक र निजी संस्थाले दिने सेवामा बिना मोलमोलाइ र सेवाको भावनाले काम गर्ने परिपाटी चाहेका हुन्।

सरकारी तथा निजी विद्यालयमा आफ्ना नानीहरू पठाउँदा सजिलै सकुशल घर आइपुग्छन् भन्ने निर्धक्क भावनाको विकास गर्न सक्ने परिपाटी न चाहिएको हो। ठूलासाना भ्रष्टाचार हुन् या अनियमितता एवं अन्य विविध खालका संगठित अपराधका घटनाको छानबिन कारवाही चाहेका थिए, मानिसहरूले।

संस्कार र मानसिकताको परिवर्तन सजिलो काम होइन। यसका लागि नियम र कानुनले मात्र काम गर्दैन। यो मानसिकताको परिवर्तनमा सञ्चारको पनि भूमिका बढी हुनेछ। त्यसैले सञ्चार सहयोग अभावमा यो कानुनको सही र सशक्त कार्यान्वयन पनि सजिलो छैन।

समाजमा  सुशासन र पारदर्शिता स्थापना गर्न नगरिकको दबाब र सञ्चारमाध्यमका प्रयास सफल एवं सकारात्मक बनाउने जिम्मा नागरिक र जनप्रतिनिधि दुवैतर्फको भूमिका महत्त्वपूर्ण छ। नगरवासी भएर गर्व गर्ने जीवनशैली विकासमा ध्यान पुर्‍याउन सकेमात्र धेरै व्यवस्थित, मर्यादित, सभ्य र शिष्ट समाजको परिकल्पना गर्न सकिन्छ।

पूर्वाग्रह होइन सम्मान जरुरी

काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित बालेन्द्र साहको अभिव्यक्तिले एक अर्कामा सम्मानजनक परिस्थिति सृजना गरेको महशुस हुन्छ।  उनले विशाल र पवित्र लक्ष्यलाई आत्मसात गर्दै सबैमा सकारात्मक परिवर्तन ल्याउने बृहत् सोच सहितको उद्देश्य व्यक्त गरिरहँदा राजनीतिक दलको व्यक्ति होइन भनी पूर्वाग्रहपूर्ण आलोचना गर्न जरुरी छैन।

बरु नयाँ दृष्टिसहित आएको र दलभन्दा माथि उठेर सबैलाई समेट्ने र सहकार्यमा जाने प्रयास गरेकोमा सम्मान र सहयोग गर्न सिक्नुपर्छ।

कुनै राजनीतिक दल विशेषमा नबाँधिएर स्वतन्त्र हुनुले सबैप्रति समान सम्मान र निरपेक्ष भएर हेर्ने अभ्यास पनि त विकास हुन्छ। यसबाट नै सम्मानजनक निकटताका साथ सहकार्य र विकासमा अघि बढ्ने नयाँ अभ्यासको थालनी हुन्छ। यस्तै नयाँ आयामको पद्धति नै नेपालमा चाहिएको छ।

जनप्रतिनिधि 'सबैको साथ, सबैको विकास' भन्ने भावनाले ओतप्रोत हुनुपर्छ। उनीहरूलाई सहयोग गरी विकास पथमा अगाडि बढ्नु सबैका लागि सम्मानजनक शुरुवात हुनेछ।

निर्वाचित हुनासाथ बालेनले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिदेखि, बैंकर, सामाजिक अभियन्ता लगायतलाई भेटेर सहकार्यका लागि सुझाव संकलन गर्नु सही संकेत हो।

जनप्रतिनिधि 'सबैको साथ, सबैको विकास' भन्ने भावनाले ओतप्रोत हुनुपर्छ। उनीहरूलाई सहयोग गरी विकास पथमा अगाडि बढ्नु सबैका लागि सम्मानजनक शुरुवात हुनेछ।

जोस होसको सन्तुलन

राष्ट्रमा खोजे जतिको विकास नहुनु, समाजमा अराजकता फैलिँदै जानु, स्वार्थी र लोभीपापीको संख्या बढ्दै जानु, सार्वजनिक सम्पत्तिको संरक्षण नहुनु, नीतिनिर्माण कार्यमा ढिलाइ, भ्रष्टाचार बढ्नु, नीति नियममा आफ्नै स्वार्थ हावी हुनु, व्यक्तिहरू शान्त नभई तनावग्रस्त हुनु, जताततै बेथिति बढ्दै जानुकाे एक मात्र कारण हो, जोश र होशको सन्तुलन नहुनु।

समाजमा र नेतृत्व तहमा खटिएका व्यक्तिमा दुई किसिमका व्यक्ति हुन्छन्, कसैमा जोश छ, होश छैन। कसैमा होश छ, जोश छैन। समाज र राष्ट्रको अस्थिरता र अराजकता हेर्दा सहजै अनुमान गर्न सकिन्छ, ९९ प्रतिशत मानिसमा जोश छ, होश छैन।

यस्ता प्रवृत्तिका व्यक्ति बाहिरबाट हेर्दा अति सक्रिय, कुरैकुराले देश खाने, कुरैकुरामा विकास, भाषणकै भरमा देश हाँक्ने उत्साह दिए जस्तो गर्छन्। तर परिणाम नगण्य हात लागेको हुन्छ र त्यस्तै भएको महशुस गरिँदैछ।

देश र समाजमा यिनीहरूको क्षमताको परिणाम, गुणात्मकता त नगन्य मात्रामा छँदैछ, स्वयंमा पनि यिनीहरू शान्त र आनन्दित हुँदैनन्, छैनन्। भित्रभित्रै अस्थिरता र तनावले ग्रसित हुन्छन्। कर्मको आधारमा कर्मठ देखिएपनि बुद्धि र विवेकको हिसाबले शून्य हुन्छन्।

समाजमा देखिने उपद्रव, अन्याय र अनैतिकताको परिणाम यसकै प्रतिफल हो। जोश भएका तर होश नभएका व्यक्तिमा न संस्कार र धार्मिकताको गुण फलित भएको हुन्छ, न त व्यावहारिकता र दीर्घकालीन सोचको नै।

कर्मठता र जोशको निकासका लागि, प्रतिफलको लागि आन्दोलन, बन्द हडताल र अराजकता यही कर्ममा जीवन बिताइरहेका हुन्छन्।

अबको जनप्रतिनिधिबाट अराजकता निर्मूल गरी जोश र होशसहितको ऊर्जा सबैले महशुस गर्न पाउने स्थितिको विकास हुन सकोस् सबैको चाहना यहि नै हो। यो खोजी निरन्तर रहनेछ अन्यथा जनताले फेरि विकल्पको बाटो खोज्ने छन्, जसरी यसपटक खोजे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.