|

झापा : भद्रपुर नगरपालिकामा नेकपा (एमाले) र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरू आपसमा सहकार्य गरी अघि बढ्ने सङ्केत देखिएको छ। भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भद्रपुरमा ५२ सदस्यका लागि नेकपा एमाले, राप्रपा, जसपा लगायतका अन्य साना दलहरू एक्लाएक्लै प्यानल बनाएर निर्वाचन लडेका थिए।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धन बनाएर निर्वाचन लडेका थिए। निर्वाचनमा आएको मत परिणामअनुसार प्रमुख पद एमालेले नजिते पनि भद्रपुर नगरपालिकामा एमालेको एकल बहुमत रहेको छ। एमालेबाट ३ वडा अध्यक्ष र २६ सदस्य गरी २९ जना निर्वाचित भएका छन्।

गठबन्धनबाट काँग्रेसका मेयर, ४ वडा अध्यक्ष र ८ सदस्य गरी १३ जना निर्वाचित भएका छन्। राप्रपाबाट उपमेयर, २ वडा अध्यक्ष र ५ सदस्य गरी ८ जना निर्वाचित भएका छन्, भने गठबन्धनबाट माओवादीका १ वडा अध्यक्ष र १ सदस्य गरी २ जना निर्वाचित भएका छन्।

निर्वाचनमा गठबन्धन नगरेका एमाले र राप्रपाले भने अन्ततः कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गरेका छन्। कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गरेका एमाले र राप्रपाले नगरपालिकामा सहकार्य गरेर अघि बढ्ने सङ्केत गरेको छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार भएको कार्यपालिका सदस्य निर्वाचनमा ८ जनै एमालेबाट निर्वाचित भएका छन्।

निर्वाचित हुने महिला सदस्यहरू कमला अछामी, ममता लिम्बु, सन्ध्याकुमारी डङ्गोल, सीताकुमारी गुरुङ, सीतादेवी ढकाल निर्वाचित भएका छन्। उनीहरू सबैले बराबर ३७ मत ल्याएर निर्वाचित भएका हुन्।

दलित र अल्पसंख्यकमा एमालेका कहरसिंह राजवंशी, प्रशंसा ठटाल र विवेक राजवंशी निर्वाचित भएका छन्। कहरसिंह र प्रशंसाले ३७/३७ मत ल्याएकोमा विवेकले ३८ मत ल्याएका छन्। ५२ जनामध्ये एमालेको २९ र राप्रपाको ८ गरी ३७ मत उनीहरूले पाएका हुन्।

काँग्रेसबाट कार्यपालिकामा उठेका ८ जनै पराजित भएका छन्। कार्यपालिका निर्वाचनमा माओवादीले भने आफ्नो इच्छाएको व्यक्तिलाई मत दिएको मतगणनाले देखाएको छ।

कार्यपालिका निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाले बिहीबारदेखि पूर्णता पाएको छ। मेयर, उपमेयर, १० जना वडा अध्यक्ष र निर्वाचित ८ सदस्य गरी २० जनाको कार्यपालिका बनेको छ। कार्यपालिकामा एमालेको ११, काँग्रेसको ५, राप्रपाको ३ र माओवादीको १ सदस्य रहने छन्।

अब कार्यपालिकामा एमाले र राप्रपा मिलेर अघि बढेमा १४ सदस्य अर्थात् एकल निर्णायक बहुमत हुने निश्चित छ। राप्रपा नमिलेको खण्डमा पनि एमालेकै बहुमत देखिन्छ। कार्यपालिका बैठकले नै नगरको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने चलन छ। 

एमाले र राप्रपाले किन गरे तालमेल?

निर्वाचनमा एक्लाएक्लै प्यानल बनाएर निर्वाचन लडेका एमाले र राप्रपाले भद्रपुर नगर कार्यपालिकाको निर्वाचन तालमेल गरी अघि बढेपछि यसतर्फ नगरवासी चासो बढेको छ।

एमाले र राप्रपा मिल्नुको खास भित्री कुरा के हो भने नगर कार्यपालिका बैठकमा काँग्रेसलाई एक्ल्याएर बहुमतले कार्यक्रम पास गर्ने र चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आसन्न निर्वाचनमा सहकार्य गरी अघि बढ्ने बुझिएको छ। चन्द्रगढी खानेपानीको निर्वाचन यही असार ४ गते हुँदैछ।

सो निर्वाचनमा एमाले र राप्रपा गठबन्धन गरी प्यानल बनाएर लड्ने सहमति गरिसकेको छ। त्यही कारणले पनि कार्यपालिका निर्वाचनमा राप्रपाले एमालेलाई सघाएको हो। एमालेका एक नेताले भने, ‘चन्द्रगढी खानेपानीको निर्वाचनसँगै नगरपालिकाको हरेक गतिविधिमा सहकार्य गरी अघि बढ्न तालमेल गरिएको हो।’    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.