|

दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट एकल उम्मेदवारी परेको छ।

बिहीबार तुलसीपुरमा भएको मनोनयन दर्तामा ८ जना कार्यपालिका सदस्यका लागि एमालेबाट एकल उम्मेदवारी परेको हो। एमालेको तर्फबाट निर्वाचित महिला सदस्यको लागि ५ जनाको मनोनयन दर्ता भएको छ।

जसमा वडा नं. १ बाट गौरी नेपाली, वडा नं. ६ बाट यमुना परियार, वडा नं. ९ बाट वसन्त केसी, वडा नं. १५ बाट सीता कुमारी लामिछाने र वडा नं. १६ बाट रिखा शर्मा रहेका छन्। उनीहरु सबै नवनिर्वाचित वडा सदस्य हुन्।

त्यसैगरी कार्यपालिका सदस्य ३ जना, मनोनित तर्फ दलित, अल्पसंख्यक तर्फबाट ३ जनाको उम्मेदवारी परेको छ। जसमा दलित तर्फ वडा नं. ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नं. १२ बाट मोहन बिक र अल्पसङ्ख्यकमा वडा नं. १७ बाट तुलाराम नेपालीले रहेका छन्।

बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको लागि समय सीमा तोकिएको थियो। उक्त समयमा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए। बिहीबार साँझ ५ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारहरूको सूची प्रकाशन हुने भएको छ।

त्यसैगरी उम्मेदवार माथिको दावी विरोध शुक्रबार हुनेछ। जेठ २१ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने र जेठ २४ गते मतदान हुने कार्यतालिका छ। ८ जना पदाधिकारीको लागि सबैको एकल उम्मेदवारी परेकाले स्वत उनीहरु निर्विरोध निर्वाचित हुने सम्भावना छ। कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेका ६७, नेपाली कांग्रेसका २३, नेकपा माओवादी केन्द्रका ६ र स्वतन्त्र १ जना गरी ९७ जना मतदाता रहेका छन्।

कार्यपालिका सदस्य निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ। तुलसीपुरमा मेयर र उपमेयर एमालेले जितेको छ भने १० वटा वडा एमालेले, नेपाली कांग्रेसले ५ वटा , नेकपा माओवादी केन्द्रले ३ वटा र एक जना स्वतन्त्र वडाध्यक्षमा निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.