|

धनकुटा : धेरैको जागिरपछिको निवृत्त जीवन घरैमा बसेर तथा चोकमा चिया पसलमा गफ गरेर बितिरहेको हुन्छ। कतिपयको त निवृत्त जीवन निरस र पट्यार लाग्दो ढंगले बितिरहेको हुन्छ। 

तर कोहि भने निवृत्त जीवनलाई व्यावहारिक बोझ बिसाएर निवृत्त समयलाई झन् गतिशील र सृजनात्मक बनाइरहेका भेटिन्छन्। यिनै मध्येका एक हुन् धनकुटाका डिल्लीकृष्ण आले। 

६५ वर्षका आले आफूले देखे भोगेका जीवन र जगत्का चित्रहरूमा अनेक रंग भरेर सेवानिवृत्त जीवन सजाइरहेका छन्।

प्रशासनिक सेवामा २०३६ सालदेखि २०७२ सालसम्म गरेर ३६ वर्ष बिताएका धनकुटा ७ श्रीवानीका आलेले सात वर्षयता कागज, पेन्सिल, कुची र रंगसँगको साइनो थप घनिष्ट बनाएका छन्। 

२०१४ सालमा जन्मेका उनी कहिले कुनै जंगलको बिचमा भेटिन्छन् त कहिले बीच सडकमा अनि कहिले बीच बजारमा बसेर चित्र कलामा रमाइरहेका हुन्छन्। सरकारी सेवामा खरदारबाट प्रवेश गरेका उनी नायब सुब्बा भएर निवृत्त भएका हुन्। 

विद्यालय जीवनदेखि अर्थात १४ वर्षको उमेर देखिनै चित्र कोर्दै आएका आलेले जागिर पछिका पाँच वर्षमा भाव र रंगको संयोजनलाई अझ निखार्ने अवसरका रुपमा सदुपयोग गरिरहेका छन्। बचपनदेखिको रुचि अहिले आएर केही हदसम्म पूरा गरेको आले बताउँछन्। 

सरकारी सेवामा रहँदा चित्रकलालाई समय दिन नपाएको बताउने आलेले अहिले फुर्सदको समय सदुपयोग गरिरहेको बताउँछन्। आलेले २ वर्ष धनकुटामा आर्ट सेन्टर पनि खोलेको तर, सरकारी सेवाका कारण समय दिन नपाएर बन्द गरेको बताउँछन्। 

आलेले प्रोटेट र ल्याण्डस्केप चित्र बनाउँदै आएको बताउँछन्। प्रोटेटमा मानिस र ल्याण्डस्केपमा विभिन्न दृश्य र संस्कार, संस्कृतिको चित्र बनाउँदै आएको आलेको भनाइ छ।

चित्रकला सम्बन्धी कुनै औपचारिक अध्ययन नगरे पनि उनले अहिले सम्म एक्रेलिक, ओइल र वाटर कलर विधामा तीन हजार भन्दा बढी चित्र बनाइसकेका छन्। आलेको चित्रमा ऐतिहासिक, संस्कार संस्कृति, प्रकृति, काल्पनिकका र जीवजगत्का अनेक आयाम नियाल्न सकिन्छ। 

तर, तराइका बजार क्षेत्र र उपत्यकामा जस्तो पहाडी क्षेत्रमा चित्रकलाको भविस्य नभएकोमा उनी चिन्तीत छन्। धनकुटाजस्तो पहाडि क्षेत्रमा चित्रकलाको भविस्य नभएको आलेको भनाइ छ। 

नेपालमा चित्रकला पेशामा लागेर बाँच्न कठिन भएपनि रहरले चित्रकार भएको आले बताउँछन्। ‘पहाडि क्षेत्रमा मुख्य त चित्रकलाका लागि कच्चा पदार्थ पाउन नै समस्या हुन्छ।’ आले भन्छन, ‘मुख्य यहि कारणले चित्रकला ओझेलमा परेको छ।’

चित्रकलालाई नै उत्तराद्र्ध जीवनको मुख्य पाटो बनाएका उनले समय–समयमा एकल प्रदर्शनी समेत गर्दै आएका छन्। खासगरी बिद्यार्थी आफूले जानको चित्रकलाको ज्ञान पोख्ने गरेको छन्। आलेले कक्षा ८ पढ्दा बनाएको चित्र धरानमा धेरै अगाडि प्रदर्शनी राखेर त्योबेला ५० रुपैयाँ पाएको आले सुनाउँछन्। 

पञ्चायत कालमा भएको भन्ने थाहा भएपनि कति सालमा हो भन्ने थाहा नभएको आलेको भनाइ छ। धनकुटामा कलाकार आलेको एकल चित्रकला प्रदर्शनी तीन पटक गरिएको छ। हाम्रो बहुमुखी पाठशालाले २०७४, २०७५ र २०७९ मा आलेको एकल चित्रकला प्रदर्शनी तीनै पटक तीन दिनसम्म जारी रह्यो। 

‘चित्रकार डिल्लीकृष्ण आलेको एकल चित्रकला प्रदर्शनी’ नाम दिइएको यो प्रदर्शनीमा आले  आफ्नो जीवनकालमा पार गरेका विभिन्न महत्वपूर्ण चरणहरूलाई सुन्दर चित्रमा देख्न सकिन्थ्यो। यो चित्रकला प्रदर्शनी आलेको जीवनको महत्वपूर्ण क्षण भएको आले बताउँछन्। 

जन्मसँगै बाल्यावस्था, युवा अवस्था, पुर्नजन्म, विवाह, सोचमग्न परिस्थित, जीवनका आरोह–अवरोह, नयाँ सोच र सफलता लगायत कुराहरुलाई चित्रमार्फत समेटेर राखिएको प्रदर्शनी निकै कलात्मक देखिन्थ्यो। आफ्नो सबैभन्दा रुचिको चिज चित्रकलालाई अगाडी बढाउन पनि उनले थुप्रै कठिन परिस्थितीको सामना गर्नुपरेको बताउँछन्। 

चित्रकारले बनाएका चित्रहरू प्रदर्शनी भइरहेमा कलाको प्रभाव हुने र पहाडी क्षेत्रमा पनि यसको भविष्य बन्ने आले बताउँछन्। चित्रकलामा सरकारको ठोस नीति नभएको उनको गुनासो छ। 

चित्रकला व्यावसायीक नबनाएसम्म चित्रकारहरू भने पारिश्रमिक नै कम पाउने गरेको आले गुनासो गर्छन्। चित्रकला नेपालको मौलिक कला भएको हुनाले यो बनाउने पेसालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आलेले सरकारसँग माग गरेका छन्।

धनकुटामा रहेको हाम्रो बहुमुखी पाठशालाले बालबालिकाको अतिरिक्त क्रियाकलापको काम गरिरहेको र कोरोनाको कारणले भएको क्षति तथा स्थानीय तहको निर्वाचनले बालबालिकाको पढाइलाई सहज बनाउन चित्रकला प्रदर्शनी गरिएको पाठशालाका अध्यक्ष सरोज भुजेलले बताए। 

भुजेलले चित्रकारको सम्मान, नयाँ पुस्ताको आकर्षण तथा नयाँ पुस्तामा चित्रको माध्यमबाट समाज रुपान्तरणको सन्देश दिन चित्रकला पटकपटक चित्रकला प्रदर्शनी गरिएको अध्यक्ष भुजेलको भनाइ छ। 

प्रदर्शनीमा सबै बालबालिकालाई निशुल्क प्रबेश दिइएको थियो। नयाँ पुस्ता आउन चित्रकलामा आउन रुची आवश्यक रहेको आले बताउँछन्। उनले प्रत्येक विद्यालयमा एक आर्ट शिक्षक राख्ने हो भने चित्रकलाको प्रवद्र्धन हुने आलेको भनाइ छ। 

देशमा आएको परिवर्तनपछि तीन तहको सरकारको संरचना बनेका छन्। तर, यी कुनैपनि सरकारले कलाको सम्मान गर्न नसकेको गुनासो बढिरहेको छ। अझ आलेजस्ता निवृत्तहरूको हकमा सरकारले समय कटाउन मनोरञ्जनका नयाँ कार्यक्रम ल्याउनु पर्नेमा आले आफै लाग्दा कुनै सहयोग गरेको छैन्।

तरपनि आलेले आफ्नो कलाको प्रयोग गरेर निवृत्त जीवन बिताइरहेको कार्य प्रशंसनीय छ। त्यसकारण आलेले झैँ आफ्नो रूचिका विषय छनौट गरी क्रियाशील रहने हो भने सेवा निवृत्त जीवन अझ रचनात्मक र मनोरञ्जन बनाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.