|

म्याग्दी : रासायनिक मलको अभावमा धानको बिउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानहरुले लगाएको खेती र फलफूलमा समेत रोग र किराको प्रकोप देखिएपछि चिन्तित बनेका छन्।

यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे गवारो र मकैवालीमा फौजी किराको प्रकोप देखिएको छ।

फूल फूलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौला, गोलभेंडा लगायतमा औंसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका हुन्।

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा किराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्। किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुबखडामा पनि औँसा किराको व्यापक सङ्क्रमण भेटिएको छ।

मकैबालीमा अमेरिकन फौजी किरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिए। किराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकहरुले बताएका छन्।

कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ।

यसैगरी गोलभेंडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको वावियाचौका हरिकृष्ण पौडलले बताए।

म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी किराले क्षति पु–याएको छ। जिल्लाको ज्यामरुककोट,बाबियाचौर,अर्मन,रत्नेचौर लगाएतका क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो।

घोवा हाल्न लागेका मकैका बोटमा फौजी किराको आक्रमण बढी भएकोले बोट नै सकिन थालेको मंगलाका किसान टेकबहादुर विकले बताए। उनका अनुसार विषादीले समेत फौजी किराको आक्रमण रोकिन सकेको छैन।

बगरफाँट,खबरा,भकिम्ली,बाबियाचौर लगाएतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी किराको प्रकोप बढेको कृषि प्राविधिकहरुले बताएका छन्।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र किराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्न परेको बताए।

प्रायः सुख्खा मौसममा देखिने फैजी किरा पछिल्लो समय वर्षा भैरहँदा पनि  फौजी किराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन्। फौजी किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पु–याउने कृषि प्राविधिक बताउँछन्

यसैगरी म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन्।

केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने,कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोटहरु सुक्न थालेका छन्।

 जिल्लाको बेनी नगरपालिका– २ बगरफाँट,खबराका साथै मङ्गला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन्।

त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानहरुले औषधि प्रयोग गर्न थालेका छन्। कतिपय ठाउँमा औषधी प्रयोग गरेपनि रोगको प्रकोप कम नभएको बरु रातो कमिला समेत देखिन थालेको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.