|

म्याग्दी : यतिवेला म्याग्दीका ग्रामीण भेगका पाखा र जंगलमा ऐंसेलु, काफल, चुत्रो, जानमान्द्रो र मच्छ्यान्नो (चुत्रोका प्रजाति दुवै) लगायत जंगली फलफूलहरू पाकेका छन्। तर गाउँघर युवाविहीन भएका र शहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकतायुक्त स्वादिष्ट जंगलमा फल्ने अधिकांश अर्ग्यानिक फलफूल त्यहीँ नै कुहेर खेर गइरहेका छन्।

पछिल्ला २ वर्ष कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवा जंगली फलफूलको स्वादमा रमाएका भए पनि यस वर्ष भने ती फलफूल चराको आहारा र कुहेर खेर गएका स्थानीय बताउँछन्। विदेश र शहरबाट आएकाहरूको बसाइले गाउँबस्तीमा चहलपहल बढेको थियो।

‘यस वर्ष जंगलमा तीजु पाकेर खेर गए,अहिले चुत्रो र ऐंसेलु पाकेको छ, तर खाने मान्छे नहुँदा ती फलफूल त्यत्तिकै जंगलमा खेर गइरहेका छन्‚’ गौश्वाराका चन्द्रकान्त रिजालले भने‚ ‘पछिल्लो समय गाउँबस्ती सुनसान भएका छन्। जंगलमा पाकेका मौसमी फलफूल त्यत्तिकै खेर गइरहेका छन्।’ वनमा पाकेका ऐंसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगायतका फलफूल चराचुरुङ्गीको आहारामा सीमित भएका उनको भनाइरहेको छ।

देखिन थाल्यो जलवायु परिवर्तनको असर

वनस्पति, कृषि र मानव स्वास्थ्यमा पछिल्लो समय जलवायु परिवर्तनका असर प्रत्यक्ष देखिन थालेका छन्। सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुले। त्यसैगरी काफल र ऐँसेलुजस्ता जंगली फल पनि बेमौसममै फल्न थालेको वातावरणविद्हरूले बताएका छन्।

फागुनको मध्यदेखि कोपिला लाग्न शुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेको थियो। म्याग्दीका जंगलमा पुसदेखि नै लालीगुराँस फुल्नासाथै जंगली फलफूल र कन्दमूल पाक्न थालेका थिए। यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताए।

सापकोटाका अनुसार स्वाभाविक समयअगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।

अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको असर देखिएको मंगला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताए। ‘अहिले बेमौसममा नै काफल, तिजुलगायत जंगली फल पाकेको र अन्नबालीको फल लाग्ने र खेती गर्ने समयमा समेत नजानिँदो गरी परिवर्तन आएको छ‚’ उनले भने।

वातावरण संरक्षणकर्मी सापकोटाका अनुसार स्वाभाविक समयअगाडि नै फूल फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय परिवर्तनको असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्। उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.