|

बागलुङ : जिल्लाको गलकोटमा भिषण वर्षका कारण तीन घर र एक विद्यालय उच्च जोखिममा परेका छन्। गलकोट नगरपालिका वडा नम्बर ३ हटिया बजारमा भलसहितको बाढी पस्दा एक घरमा क्षति पुग्नुका साथै बजार क्षेत्रका सडकहरु अवरुद्ध भएका छन्।

मंगलबार रातिदेखि मध्यपहाडी लोकमार्ग र ग्रामीण सडकबाट आएको भलसहितको बाढीले सडकको नाली बन्द भएपछि बजार क्षेत्रमा बाढी पसेको वडा नम्बर ३ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिए।

बाढीले लोकमार्गसमेत अवरुद्ध गरेको भन्दै अध्यक्ष खत्रीले राति नै खुलाएको बताए। बजार क्षेत्रका सडकहरु खुलाउने प्रयास भइरहेको उनको भनाइ छ।

वडा नम्बर ६ को जामुनडाडाका नारायण नेपाली र भुजुङ्गेका टिका बहादुर घर्तीको घर पहिरोको उच्च जोखिममा परेको गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए।

शिला खोलामा आएको बाढीका कारण नवज्योती दुर्गा आधारभुत विद्यालय समेत जोखिममा परेको उनको भनाइ छ।

बाढीले हिमपाइप जाम भएर भलसहितको बाढी बजारमा पसेको हो। राति करिब २ बजे जेसीवीको प्रयोग गरी नाली सफा गरेर थप जोखिम हुनबाट जोगाएको स्थानीय बताउँछन्। गलकोट नगरपालिका वडा नम्बर ३ को कोतमैदान चोकमा समेत बाढिपसेको छ। ग्रामीण सडक बाढीका कारण अवरुद्ध बनेको वडा अध्यक्ष खत्रीले जानकारी दिए।

वर्षाका कारण गलकोट नगरपालिका-६ को कोइराबारी खानेपानी, चरौदीखोला खानेपानी र देउरालीखोला खानेपानीको मुहान तथा पाइपमा क्षति पुगेको वडा अध्यक्ष कँडेलले जानकारी दिए। खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको उनको भनाइ छ।

गलकोट नगरपालिका-६ मा रहेको हटिया, मजुवा हुदै ताराखोला जोड्ने कृषि सडक समेत अवरुद्ध भएको छ। त्यस्तै गलकोट नगरपालिकाको कार्यालयदेखि ढलेपिपलसम्मको सडक समेत बाढी पसेर बगरमा परिणत भएको छ।

वडा नम्बर ६ कै ढलेपिपल गुयली सेतिबेसी मोटरबाटो, ढलेपिपल डाँडा पुछार पैयुडाडा सडक, नगरपालिकादेखि नेपाने हुँदै कायस, भुजुङ्गे सडक, राजाको पुलदेखि मसार तथा ठुलाथर लामिडाँडा भुजुङ्गे सडक, जामुनडाडा पयुडाँडा सडक समेत पूर्ण रुपमा अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको छ।

चरौदी खोला, दरम खोला तथा शिला खोलाबाट बनाइएका सिञ्‍चाइ कुलोसमेत अवरुद्ध भएको अध्यक्ष कँडेलले बताए। वडा नम्बर ६ कै चरौंदी खोलाले खोला आसपासको खेतमा बाढीले कटान गरेको छ।

हटिया बजार क्षेत्रको बाढी पन्छाएर सडक खुलाउने प्रयास गरिरहेको वडा नम्बर ३ का अध्यक्ष फमहादुर खत्रीले बताए। उनले स्वास्थ्य चौकी जाने सडक पहिले खुलाउने प्रयास गरिरहेको भन्दै बजार क्षेत्रका अन्य सडक पनि खुलाउन सुरु गरेको जानकारी दिए।

‘मध्य रातमा बाढी आउँदा बजार क्षेत्रका केही सडकहरु अवरुद्ध भएका छन्, बाढीले क्षति पुर्‍याएका घरहरुको पनि हामीले अवलोकन गरि सकेका छौँ, स्वास्थ्य चौकीमा जाने सडक खुलाउने र अन्य बजार क्षेत्रका सडकहरु क्रमस खुलाउने प्रयास गरिरहेका छौँ’ अध्यक्ष खत्रीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.