|

इलाम : ६० को दशकमा नेपाली राष्ट्रिय टिममा विभागीय क्लबमा आवद्ध खेलाडीको दबदबा हुन्थ्यो। घरेलु फुटबलमा समेत विभागीय टोलीलाई उपाधिको दाबेदारको रुपमा हेरिन्थ्यो। तर ७० को दशकमा आएपछि नेपाली फुटबलको शीर्ष चारमा रहन नै विभागीय टोलीहरुलाई हम्मेहम्मे देखिन्छ। त्रिभुवन आर्मीबाहेक नेपाल पुलिस र एपिएफले बिरलै मात्र प्रतियोगिता जित्न सफल भएका छन्।

१७/१८ वर्षअघि राष्ट्रिय टोलीका कप्तान हरि खड्का, अनन्तराज थापा, जुमानु राई, देवनारायण चौधरी, राकेश श्रेष्ठ सम्मिलित नेपाल पुलिस क्लब खेल मैदानमा प्रवेश गर्दा दर्शकहरु उनीहरुको नाम लिएर हुटिङ गर्थे। नेपालका धेरैजसो गोल्डकपमा पुलिसको उपस्थिति अनिवार्य जस्तै थियो। तर अहिले त्यो क्रम छैन।

एक समय विभागीय टोलीबिनाको फुटबल प्रतियोगिता हुँदैनथ्यो। देशकै प्रतिष्ठित आहा(रारा, बुढासुब्बा, तिलोत्तमा, त्रिभुवन, महेन्द्र लगायतका गोल्डकपको विजेता इतिहास हेर्ने हो भने विभागीय टोलीहरु हावी भएको देख्न सकिन्छ। तर २०७० सालयता आएर त्यो क्रममा ब्रेक लागेको छ।

धेरैजसो प्रतियोगितामा अहिले विभागीय टोली अनिवार्य छैनन्। यसको एउटा कारण दर्शकहरुको सर्मथन नहुनु पनि हो। पुलिसको टचलाईनमा अहिले पनि अनन्त देखिन्छन्। तर उनको नाम लिएर हुटिङ सुन्न छाडिएको वर्षौं भइसक्यो। विभागमा आवद्ध समर्थकबाहेक बिरलै मात्र समर्थकहरु व्यानर र प्लेकार्डसहित मैदानमा देखिन्छन्।

सन् २००० देखि २०१० बीचको नेपाली राष्ट्रिय टोलीको खेलाडीहरु हेर्ने हो भने धेरैजसो विभागका ३ वटा टिमबाट छानिन्थे। पर्वत पाण्डे, जुमानु राई, हरि खड्का, रितेस थापा, राकेश श्रेष्ठ, रमेश बुढाथोकी, राजु तामाङ, देवनारायण चौधरी, जिवेश पाण्डे, अनन्तराज थापा, भरत खवास, रविन श्रेष्ठ लगायत नेपालको राष्ट्रिय टिममा थिए।

कप्तानकै रुपमा नेपाल पुलिसका हरि खड्का र राकेश श्रेष्ठले नेपालको टिमलाई सम्हाले। तर अहिले त्यो क्रम छैन। सन् २०१० पछिको १२ वर्षको अवधिमा विभागबाट राष्ट्रिय टोलीका कप्तानी सम्हाल्ने आर्मीका भरत खवास र नवयुग श्रेष्ठ मात्र छन्। पछिल्लो राष्ट्रिय टोलीको २५ सदस्यमा ९ जना मात्र विभागका क्लबहरुबाट छन्।

ए डिभिजन लिगको नवप्रवेशी टोली सातदोबाटोबाट ३ जना खेलाडीले थाइल्यान्ड विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी नेपाली टिममा प्रतिनिधित्व गर्दै गर्दा विभागमध्ये सबैभन्दा बलियो आर्मीबाट ४ जना, पुलिसबाट २ जना र एपिएफबाट १ जनाले प्रतिनिधित्व गरेका थिए।

मुख्य प्रशिक्षक अब्दुल्ला अल(मुताइरीले एएफसी एशियन कप छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै घोषणा गरेको २५ सदस्यीय टोलीमा आर्मीका ८ जना खेलाडीले स्थान बनाउँदा पुलिसबाट १ जनाले मात्र स्थान बनाए। एपिएफका कोही पनि खेलाडी टिममा परेनन्।

अहिले पुलिसबाट राष्ट्रिय टोलीमा खेलेका सुमन लामाले क्लब छाडिसकेका छन्। विभागमा खेलाडीहरुको आर्कषणमा समेत कमी आएको छ। सन् २०१५र१६ को सिजनमा एपिएफ क्लबको जर्सीमा देखिएका अञ्जन विष्ट अहिले मनाङ मर्स्याङदीको कप्तानी आर्मब्यान्डमा देखिन्छन्।

एपिएफबाट ए डिभिजन लिग खेलेका आभाष लामिछाने, प्रदिप लामा र आशिष लामा मोफसलका गोल्डकपमा फरक फरक टिमका देखिए। सुमन र आशिष अहिले अष्ट्रेलियामा लिग खेल्नका लागि गएका छन्। सम्भवतः उनीहरु नेपाल फर्कने छैनन्।

विभागीय टोली व्यावसायिक बन्न नसक्दा धरासायी

पुलिसका पूर्वखेलाडी समेत रहेका प्रशिक्षक अनन्तराज थापा विभागीय टोली व्यावसायिक फुटबलतर्फ अघि बढ्न नसक्दा समर्थकहरु नपाएको गुनासो गर्छन्।

‘विभागीय टिम व्यावसायिक फुटबलतर्फ अघि बढ्न सकेका छैनन्। एएफसी लाइसेन्स प्रक्रियामा हामी प्रवेश गर्न सकेका छैनौं। क्लबले विदेशी खेलाडीहरु अनुबन्ध गरेर खेलाउन पाउने हो भने विभागीय टोली पनि व्यावसायिक फुटबलतर्फ अघि बढ्न सक्छ‚’ उनले भने ‘हाम्रो पुलिस क्लबमा विदेशी खेलाडीहरु छैनन्। अरु देशका विभागीय टिमलाई हेर्ने हो भने उनीहरुको क्लबमा अन्य देशका खेलाडीहरुलाई समेटेर व्यावसायिकतामा ढालेका छन्। उदाहरण श्रीलंकन पुलिस क्लब छ भन्छन् उनी। त्यहाँ सबै पुलिस कहाँ छन् त ? एक समय ए डिभिजन लिगमा प्रभुत्व कायम गरेको हामी यस पटक झन्डै रेलिगेसनमा पर्‍यौं।’

विभागका ३ मध्ये पुलिसबाहेक एपिएफ र त्रिभुवन आर्मीले एएफसी लाइसेन्स पाएका छन्। थापाको तर्कलाई पछिल्लो ए डिभिजन लिगको खेलले अझ बढी पुष्टि गर्छ। शहीद स्मारक ‘ए’ डिभिजन लिगको शुरुआती ३ खेल गुमाएपछि विभागीय क्लब एपिएफमाथि शुरुमै ‘रेलिगसन दबाब’ बढ्यो।

पाँचौ चरणमा आइपुग्दा क्लबले उदार बन्दै जापानी गोलरक्षक युया कुरियामा भित्र्यायो। केही समयपछि अफ्रिकी मुलुक मालीका डिफेन्डर आडामा डोम्बियालाई जावलाखेलबाट भित्र्यायो। लगत्तै लुम्बिनी एफसीबाट नेपाल सुपर लिग खेलेका अफ्रिकी मुलक चाडका मिडफिल्डर अर्मान्ड बेडुम भित्र्याएपछि एपिएफले आफूलाई शीर्ष डिभिजनमै यथावत राख्न सफल रह्यो।

३ खेलमा जित र ६ बराबरीका साथ एपिएफ आठौं स्थानमा रहँदा अनन्तको टोलीले २ जित र ६ बराबरी खेल्दै ११ औं स्थानमा रहयो। पुलिस ४ अंकले मात्र रेलिगेसन जोनमा पर्नबाट बच्यो। अर्को विभागीय टोली त्रिभुवन आर्मीले अघिल्लो सिजनमा झैं आफूलाई दोस्रो स्थानमा उभ्यायो।

आर्मीसमेत पछिल्लो समय लय गुमाउँदो अवस्थाबाट गुज्रँदो छ। झापा गोल्डकपमा भारतको मानेभञ्ज्याङ विरुद्ध ४–० गोल अन्तरको जित निकालेको टोली एक महिनापछि दमक गोल्डकपमा उही टोलीसँग समान अन्तरले हार्न पुग्यो।

नेपाली खेलाडीमा मात्र भरपर्दा आर्मीको खेल स्तरमा उतारचढाव छ। आर्मीबाट फुटबल खेल्दै प्रशिक्षक बनेका पूर्वराष्ट्रिय खेलाडी राजु तामाङ विभागीय टोलीसमेत व्यावसायिकतातर्फ ढल्कनुपर्ने बताउँछन्। उनी अनन्तजस्तै विभागीय टोली उदार हुनुपर्ने तर्क राख्छन्। तामाङ पछिल्लो समय सामाजिक सञ्जाल मार्फत आर्मीले समर्थकहरुलाई एकजुट बनाएको बताउँछन्।

‘मेरो बुझाई अन्य क्लबहरुमा बर्सेनी खेलाडीहरु परिर्वतन भइरहन्छन् नयाँ नयाँ खेलाडीहरुको प्रवेश भइरहने भएकाले समर्थकहरुको नजर विभाग बाहेकका क्लबमा परेको हो की भन्ने लाग्छ। हाम्रो क्लबमा वर्षौंदेखि उही खेलाडी भएकाले पनि दर्शकले खासै नरुचाएका होला रु’ राजुले अनुमान गरे।

आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने विभागीय टोलीप्रति आम फुटबल समर्थकहरुमा रहेको भ्रम चिरिँदै गएकाले क्रमशः समर्थकहरु बढ्दै गएको बताउँछन्। उनी कर्तव्य पालनका क्रममा आर्मी, पुलिस र सशस्त्र प्रहरीहरु शान्ति सुरक्षाको लागि जनतासँग प्रत्यक्ष सरोकारमा रहने भएकाले त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा देखिएको बताउँछन्।

न्यौपाने समर्थकहरुलाई विभागीय टोलीहरु खेलकुदकै क्लब भएकाले दर्शकहरुले दृष्टिकोण परिर्वतन गरेर सर्मथन गरिदिन अपिल गर्छन्। आर्मीका कप्तान भरत खवास दर्शकहरुको खासै समर्थन नआए पनि खेललाई रोमाञ्चकता दिन हरसम्भव प्रयास गरिरहने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.