रोकिए खेलकुद गतिविधि

|

म्याग्दी : बेनीबजारको खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बितेपनि बजेट अभावले योजना अलपत्र परेको छ। खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू यस अघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुगिसकेका भएपनि केही वर्ष यता खुलामञ्च खेलमैदान उपयोग विहीन बनेको छ।

खुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थित रुपमा राखिएका कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगिता समेत प्रभावित बनेका छन्। बेनी स्थित विभिन्न विद्यालय र क्लबका खेलाडीहरूले खेल अभ्यास राम्रोसँग गर्न पाएका छैनन्।​

मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारहरू समेत बीचैमा अलपत्र बनेका छन्। अहिले खुलामञ्च सवारीसाधनको पार्किङ गर्ने स्थान र बजारको सडक कालोपत्रे गर्ने सामानहरू ढुङ्गा, गिटी र बालुवा भण्डारण गर्ने स्थानको रुपमा परिणत भएको छ।

पूर्वाधार निर्माण योजनाले पूर्णता पाउन नसक्दा युवाहरूलाई खेलकुद अभ्यासमा कठिनाई र फुटबल प्रतियोगिता आयोजना गर्न नपाएको एभरग्रीन युवा क्लबका अध्यक्ष निरज राम्जालीले बताए।

‘खुल्लामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न गाह्राे छ, ढुङ्गा, बालुवा र सडक कालोपत्रे गर्ने अलकत्रा लगायतका सामग्री खुल्ला मञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप बिग्रिएको छ, खेलकुद अभ्यासमा युवाहरू घाइते हुने अवस्था सिर्जना भएको छ’, अध्यक्ष राम्जालीले भने।​

खुल्लामञ्चको पूर्वाधार निर्माणमा ढिलाई गर्दा बेनीमा विभिन्न समयमा एभग्रीन, बौद्ध युवा क्लब, कालीपुल युनाइटेड र दोभान युवा क्लवले आयोजना गर्ने फुटबल लगायतका खेलकुद प्रतियोगिता समेत प्रभावित बन्दै आएका छन्। खुल्लामञ्चलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढेपनि बजेटको निरन्तरता नहुँदा पूर्वाधार निर्माण अलपत्र परेको हो।

खुल्लामञ्च खेलमैदान मात्र नभएर व्यापारिक मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थलपनि हो। तर, पछिल्लो समय क्लब, विभिन्न संघसंस्था, विद्यालयले आयोजना गर्ने खेलकुद प्रतियोगिता र मेला महोत्सव रोकिएको छ।

बजेटमा निरन्तरता नहुँदा निर्माणधीन प्याराफिट अलपत्र छ। विभिन्न खेलकुद प्रतियोगितामा जनप्रतिनिधिले खुलामञ्चलाई मिनी स्टेडियम बनाउने घोषणा भाषणमा सीमित भएको छ। संघ, प्रदेश र स्थानीय तहले खुल्लामञ्चको पूर्वाधार निर्माणमा प्राथमिकता नदिएको स्थानीयको गुनासो छ। अलपत्र अवस्थामा रहेको खुल्लामञ्चलाई पूर्णता दिनेगरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका – ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

म्याग्दी नदीको किनारतर्फ अग्लो पर्खाल निर्माण सम्पन्न भएको छ। प्याराफिट निर्माणको करिब आधा काम सकिएको छ भने आधा भागको प्याराफिट निर्माणमा बजेट अभावले रोकिएको छ। कालीगण्डकी किनारतर्फ खुलामञ्चलाई फराकिलो बनाउने किसिमले प्याराफिट निर्माणका लागि सुरु गरिएको काममा पिल्लर मात्र राखिएकाे छ।

जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्याराफिटसहितको स्तरीय रंगशाला बनाउने योजना जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डीपीआरसहित ९ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो।

जनप्रतिनिधिले राजनीतिक रुपमा बोलेको बाचा पूरा नगर्दा जिल्लामा ठूला आयोजनाहरू मध्ये खुल्लामञ्च पनि अलपत्र छ। कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११-११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउने योजना छ। हालसम्म ३ करोड भन्दा बढी लगानी भएको खुल्लामञ्चलाई व्यवस्थित बनाउन ९ करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

कोरोना कहर र त्यसपछि समेत बजेट विनियोजन नभएपछि खुलामञ्चको पूर्वाधार निर्माण काम प्रभावित बनेको हो। आर्थिक वर्ष ०७७-०७८ मा यो योजनामा कतैबाट पनि बजेट विनियोजन भएन। आव ०७८-७९ मा पनि विगतमा दिएको आश्वासन अनुसार बजेट विनियोजन नहुँदा खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने योजना अधुरै बन्ने भएको हो।​

खुल्लामञ्चको पूर्वाधारलाई पूर्णता दिने बजेट नगरपालिकासँग नभएको मेयर सुरत केसीले बताए। उनले खुलामञ्चको पूर्वाधार निर्माणलाई नगरले प्राथमिकतामा राखेपनि १५-२० लाख भन्दा बढी बजेट विनियोजन गर्न सक्ने क्षमता नगरसँग नरहेको बताउँदै सम्बन्धित निकायमा पहल गर्ने जानकारी दिए।

अव्यवस्थित तारका कारण बढ्यो जोखिम

बेनी नगरपालिका ७ र ८ मा पर्ने जिल्ला सदरमुकाम बेनीबजारमा जडान गरिएका सडकबत्ती एक हप्तायता बलेका छैनन्। बत्ती बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई प्राविधिकलाई दुई दिनसम्म परिचालन गर्‍यो।

समस्या पहिचान हुन नसक्दा सडकबत्ती मर्मतमा ढिलाइ भएको बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

‘विद्युतको पोलमा गुजुल्टा परेका तारका कारण त्यही पोलमा राखिएका सडकबत्तीको समस्या पहिचान गर्न सकिएको छैन’, उनले भने, ‘अव्यवस्थित तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै बजारको सौन्दर्यमा पनि असर परेको छ।’ बेनी बजारका विद्युतका पोलमा नेपाल टेलिकमका टेलिफोनका साथै निजी क्षेत्रका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको पनि तार तानिएको छ।

वर्षौं पुराना र काम नलाग्ने तार पोलबाट हटाइएको छैन। विद्युतका पोल तारको गुजुल्टाले फेटा गुताएजस्तो भएका छन्। जसका कारण विद्युत् पोलमा भार बढेको छ।

सडकबत्ती मर्मतसँगै विद्युतका पोलमा राखिएका अव्यवस्थित तारको भार व्यवस्थापन आवश्यकता देखिएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिएको वडाध्यक्ष श्रेष्ठले बताए। प्राधिकरण र अन्य सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग छलफल गरेर आगामी असोज महिनाभित्र व्यवस्थापन गरिसक्ने योजना बनाएको उनले बताए।

बेनी नगरपालिकाले बजारको सडक छेउमा रातको समयमा उज्यालो बनाउन सडकबत्ती जडान गरेको छ। बजारलाई सुरक्षित बनाउन, रातको समयमा हुने अपराध न्यूनीकरण र अनुसन्धानमा सघाउने उद्देश्यले सडकबत्ती जडान गरिएको हो। सडकबत्ती बल्न छाडेपछि सुरक्षा चुनौती बढेको बजारवासीले बताएका छन्।

गत असोजमा नेपाल विद्युत् प्राधिकरणले सम्झौताबिना विद्युतका पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने अभियान थालेको थियो। तर, केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको आन्दोलन र दवावपछि प्राधिकरण पछि हटेको छ। जिल्लामा दुई केबुल टिभी र पाँचवटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन्। पोल प्रयोग गरेवापत ती कम्पनीले प्राधिकरणलाई प्रतिकिलोमिटरका दरले भाडा तिर्नुपर्ने नियम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.