|
इटहरीबाट प्रहरीले नियन्त्रणमा लिएको चितुवा

काठमाडौं: पूर्वी नेपाल सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित जुट विकास क्षेत्र एकता टोलमा सोमबार बिहानै एक्कासी खैलाबैला मच्चियो। कारण थियो, चितुवा।

राति नै गाउँ पसेको चितुवा बिहान करिब ५ बजेतिर खेत हुँदै घर वरीपरी दौडिन थालेपछि स्थानीय त्रसित भए। स्थानीयको होहल्लाले आत्तिएर चितुवा जुट विकासकै एक घरभित्र पसेको थियो। लगत्तै स्थानीयले सुरक्षाका लागि प्रहरी र स्थानीय प्रशासनलाई खबर गरे। 

बिहान ६ बजेतिर सूचना पाएलगत्तै जिल्ला वन कार्यालय, कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल स्थानीयवासीको सुरक्षाका साथै चितुवा नियन्त्रण गर्न खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

सुरक्षाकर्मी र स्थानीय प्रशासन पटक–पटकको प्रयासपछि करिब ९ घण्टामा घरभित्र रहेको चितुवालाई नियन्त्रणमा लिन सफल भयो। 

बेहोस बनाएर नियन्त्रणमा लिइएको चितुवालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा राख्न नसकिने भएकाले वन कार्यालयले चितवन राष्टिय निकुञ्जमा पठाएको प्रजिअ यादवले जानकारी दिए। 

बैतडीको सुर्नायामा बथान चितुवाको आतंक

सोमबार दिनभरजसो त्रसित इटहरी एकता टोलका बासिन्दालाई हाइसञ्चो भए पनि सुदूरपश्चिमको एक बस्तीमा बथानैगाउँ पसेको चितुवाले स्थानीयलाई निदाउन दिएका छैनन्। चितुवा आतंकले बैतडीको सुर्नया गाउँपालिका ८ स्थित ढोले क्षेत्रका बासिन्दा दुइ सातादेखि निदाउन पाएका छैनन्। 

पछिल्लो दुई सातादेखि एक दिन बिराएर गाउँमा चार–पाँच चितुवा पस्न थालेपछि दिनरातै डरमा बिताउन बाध्य भएको स्थानीयवासीको गुनासो छ। ‘गाउँ पसेर चितुवाले दुई हप्तामा एक दर्जन भन्दा बढी खसीबाख्रा ​खाइसके' तेजन बोहराले भने,​ 'घरपालुवा जनावर र मान्छेको सुरक्षा दिन रातदिन नभनी गाउँले नै कुर्न बसेका छौं।’

चितुवा आतंकले बालबालिकाहरूलाई विद्यालय पठाउनसमेत निकै समस्या हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन्।  ‘अस्तिमात्रै जंगलमा घाँस काट्न गएकी एक महिला चितुवाको आक्रमणबाट बल्ल बल्ल बाँच्न सफल भइन्’, बोहराले थपे, ‘हत्तपत्त रुख चढ्न भ्याइन् र मात्रै बाँचिन्। बथानै चितुवाले गाउँमा धेरै आतंक मच्चाएको छ।’ 

जंगली जनावरबाट सुरक्षा दिलाउन उनी दिनहुँ जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालय धाइरहेका छन्। केही दिन अघि सुरक्षा दिन निवेदन लिएर प्रशासन कार्यालय पुगेका उनी सोमबार वन कार्यालय पुगे पनि सम्बन्धित अधिकारीलाई भेट्ने समय पाएनन्। बस्तीकै सुरक्षाको माग राख्न फेरि वन कार्यालयमा धाउने उनले बताए। 

चितुवा किन पस्छ बस्तीमा?

पछिल्लो समय जंगली जनावर चितुवा गाउँगाउँमा पस्न थालेको छ। पछिल्लो १० दिनमा बैतडी, सुनसरी, तनहुँ गोरखाका विभिन्न गाउँमा चितुवा देखिएको छ। गाउँ पसेका चितुवाले घरपालुवा जनावरलाई मात्र नभई मान्छेलाई समेत आक्रमण गरिरहेको छ।

विज्ञ भने चितुवाको वासस्थान र आहारा नष्ट हुँदै गएपछि बस्तीमा पस्न थालेको बताउँछन्। वनमा चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा लोप भएपछि चितुवाले बस्तीमा पसेर घरपालुवा जनावार तथा बालबालिकामाथि आक्रमण गरेको उनीहरूको भनाइ छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जा पुन बस्ती पसेको चितुवालाई एक ठाउँबाट अर्को ठाउँमा सार्नु मात्रै समस्याको समाधान नभएको बताउँछन्। चितुवालाई आवश्यक आहारा बासस्थान तथा पानीको व्यवस्था जंगलमै गर्न सके मात्र आतंक रोकिने उनको तर्क छ । 

‘चितुवाहरू खासगरी खानाको खोजीमा बस्ती पसेको हुनसक्छ’, उनले भने, ‘चितुवाले रुचाउने आहारा भनेको कुकुर पनि हो। कुकुरकै पछि लागेर पनि गाउँ पसेको पनि हुनसक्छ।’

पुनका अनुसार आफ्नो बासस्थान वरिपरी बाघ आउँदा पनि चितुवा बस्तीमा पस्ने गरेको छ। चितुवा बाघसँग डराउने स्वभावको हुने उनले बताए। चितुवाले आहाराकै लागि मान्छेलाई आक्रमण नगर्ने भएपनि जम्काभेट हुँदा मानवीय क्रियाकलापबाट डराएका चितुवा आक्रमणमा उत्रिने गरेको पाइएको छ। त्यसैले जोखिम भएको बस्तीमा साँझ बिहान एक्लै नहिँड्न र सतर्कता अपनाउन उनले सुझाव दिए।

गोरखा र तनहुँमा चितुवाको आक्रमणबाट ५ जना घाइते

गत शनिबार तनहुँ बन्दीपुर गाउँपालिका ४ की ८ वर्षीया रियाना थापा चितुवाको आक्रमणबाट घाइते भइन्। बजारबाट घर फर्किँदै गरेको बाबुआमा देखेर घरबाहिर निस्किएकी रियानालाई चितुवाले आक्रमण गरेको थियो। बाबुआमा दौडिएर आएपछि चितुवा भागेको थियो। 

त्यसको एकदिन नबित्दै बन्दीपुर १ बागदलेका ३५ वर्षका भीमलाल गरम्जालाई घरकै पिँढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो। गत जेठ १७ गते गोरखाको पालुङटार नगरपालिका ४ स्थित रानीटारमा चितुवाले पटकपटक आक्रमण गर्दा तीन जना घाइते भए। उक्त दिन साँझ खेतमा मकै गोड्दै गरेका स्थानीय ४४ वर्षका केशरबहादुर नेपाली र १६ वर्षका अभिषेक भण्डारीमाथि चितुवाले अचानक आक्रमण गर्‍यो। 

चितुवा आक्रमणबाट घाइते उनीहरुको आवाजले गाउँभरि नै होहल्ला मच्चियो। त्रसित गाउँलेले सुरक्षाको लागि नेपाल प्रहरीलाई गुहारे। सुरक्षा दिन पुगेको प्रहरीले चितुवाको खोजी गरे। फेला नपरेपछि बेलुकी गाउँलेलाई सर्तकता अपनाउने उपाय सिकाउन सबैजना भेला गरे। सोही ठाउँमा चितुवाले पुनः आक्रमण गर्दा एक प्रहरी सहायक हवल्दार समेत घाइते भएको गोरखाका डीएसपी लीलाराज लामिछानेले बताए। 

गोरखा र तनहुँमा चितुवा आक्रमणबाट घाइते भएका पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। २०७९ वैखाख १ गतेदेखि हालसम्म जंगली जनावरको आक्रमणबाट आठजनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार दुई महिनामा जनावर आतंकका ३३ घटनामा एक जना बेपत्ता भएका छन्। यो अवधिमा २१ जना घाइते भएका छन्।

गत वर्ष २०७८ मा जनावर आतंकका २७७ घटना भएका थिए। ती घटनामा ४८ जनाको मृत्यु भएको थियो भने ११९ जना घाइते भएका प्राधिकरणको तथ्यांक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.