स्थानीय निर्वाचनमा बल्ड्याङ खाएपछि ओलीलाई पार्टीभित्रैबाट दबाब

|

काठमाडौं : ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र कांग्रेससँगको सहकार्यमा थियो। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन र संयुक्त सरकारलाई भत्काएर ०७४ मंसिरमा भएको प्रदेश र संघीय निर्वाचनमा एमालेसँग वाम गठबन्धन मात्रै गरेनन् पार्टी नै एकता गरे। 

एमाले-माओवादी गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्यायो भने कांग्रेसलाई २३ सिटमा झारिदियो। एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपामा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बने। आलोपालो सरकार र सत्ता सञ्चालन गर्ने सहमति ओलीले तोड्दै गएपछि प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनालको साथ लिएर ओलीविरुद्ध मोर्चाबन्दी गरे।

नेकपाभित्र कमजोर बनेर पार्टीको आधिकारिकता नै प्रचण्ड-माधव खेमाको हातमा पुग्ने देखेपछि ओलीले संसद नै भंग गरिदिए। ओलीले दुई पटक संसद विघटन गरेपछि प्रचण्डले माधव नेपाललाई साथमा कांग्रेस सभापति शेरबहादुर देउवालाई हात लिएर पाँचदलीय गठबन्धन बनाए।

वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन निर्वाचनमा होमियो। तर एमाले लक्षित गरेर बनेको गठबन्धनले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो नजिता ल्याउन सकेन। 

गठबन्धनले एमालेलाई कमजोर भने अवश्य बनायो तर गठबन्धनभित्रै दलहरूबीच विश्वास गुम्दै गएको छ र मतभेद बढ्दै गएको छ। गठबन्धनले कांग्रेस र माओवादीलाई मात्रै फाइदा भएको भन्दै नेपाल, खनाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायत शीर्ष नेता असन्तुष्ट बनेका छन्। 

गठबन्धनभित्र बढ्दो अविश्वास र वाम गठबन्धनको दबाबले फेरि वाम गठबन्धन हुने चर्चा चलिरहेको छ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार एमाले अध्यक्ष ओलीसँग लामो भेटवार्ता गरेपछि वाम गठबन्धनको ढोका खुलेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ। 

गठबन्धनमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वको कारणले माओवादीले पनि आफ्नो शक्ति सन्तुलनका लागि एमालेको साथ खोजेको आँकलन गर्न थालिएको छ। स्थानीय तहको निर्वाचनमा एमालेले पनि सोचेजस्तो परिणाम ल्याउन नसकेर दोस्रोमा खस्किएपछि फेरि वाम गठबन्धन गर्न पार्टीभित्र अध्यक्ष ओलीमाथि अरु नेताले दबाब बढाइरहेका छन्। 

ओली र नारायणकाजीबीच आइतबार करिब दुई घण्टाको वार्तामा समसामयिक राजनीतिक विषय र राष्ट्रियताबारे कुराकानी भएको नेता श्रेष्ठनिकट माओवादीका एक नेताले बताए। 

ती नेताले भने, ‘पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ। अहिले यही भेटले वाम गठबन्धन हुन्छ भन्ने कुरा पनि होइन। भेटमा सामान्य कुरा हुनु स्वभाविक हो।’

माओवादी केन्द्रका नेता देव गुरुङ नारायणकाजी श्रेष्ठले ओलीसँग भेट गर्नु स्वभाविक रुपमा लिन्छन्। उनले भने, ‘राष्ट्रिय स्वाधीनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिन्छ। विगतमा संसद विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले हामी कांग्रेससँग सहकार्य गर्न बाध्य भएको हौँ।‘ 

ओलीसँग मात्रै नभएर सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र मंगलबार बिहान समाजवादीकै सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरिसकेका छन्। 

ओलीमाथि दबाब

एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच छलफल चलिरहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली स्वीकार गर्छन्। उनी भन्छन्, ‘अहिले एमाले र माओवादी नेताहरूबीच भेट र संवाद भइरहेका छन्। तर ती भेट वाम गठबन्धनबारे होइन। अन्य समसामयिक विषयमा केन्द्रित छ। वाम गठबन्धन मंसिरमा हुने निर्वाचनअघि सम्भव छैन।’

कांग्रेसलाई शिरमा बोकेर वामपन्थी शक्तिलाई हराएर खुशीयाली मनाउने प्रचण्ड–माधव वामपन्थी नै नभएको उनको दाबी छ। 

‘वामपन्थी भनिने साथीहरुले कम्युनिष्ट आन्दोलन सफल हुँदा होइन। कांग्रेसले जित्दा खुसी भइरहेका छन्।  कम्युनिष्ट पार्टीलाई हरायौँ भनेर खुसी मनाउनेहरुसँग वाम गठबन्धनको सम्भावना छैन। एमाले बलियो शक्तिको रुपमा खडा भएको छ’ उनको बुझाइ छ। 

वाम गठबन्धन भन्दापनि राष्ट्रियताको सवालमा माओवादीसँग नजिक हुनसक्ने उनले बताए। 

‘अहिले भएका छलफल राष्ट्रियताको बिषयमा केन्द्रित छन्। इस्युबेस आलोचना र समर्थन हुन्छ। इस्युमा मिले पनि माओवादीसँग पनि नजिक हुनसक्छ। तर, वाम गठबन्धन हुँदैन’ उनले भने, ‘यो बाहिर हल्ला भएको प्रधानमन्त्रीको  अफर गनि सरासर झुट हो। एमाले कसैलाई प्रधानमन्त्री अफर गर्न आवश्यक छैन।’

 ५० प्रतिशत सिटका लागि कांग्रेससँग बार्गेनिङका लागि एमाले देखाएर वाम गठबन्धनको हल्ला चलाएको आरोप लगाए।

तर, एमाले नेताहरुलै सार्वजनिक कार्यक्रममै प्रचण्डले सरकार बनाउन चाहे आफूहरु बाहिर बसेर समर्थन गर्न सक्ने बताउन थालिसकेका छन्।

त्यसो त नेता ज्ञवालीले वाम एकताको बारेमा अस्वीकार गरेपनि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताहरूले वाम एकता गर्नुपर्ने भन्दै पार्टीमा दबाब बढाइरहेका छन्। स्थानीय तहको निर्वाचनमा  कमजोर नतिजा आएपछि ओली पनि वाम एकताको लचक भएको नेताहरुको बुझाइ छ। 

अध्यक्ष ओलीसहित संस्थापन पक्षका अधिकांश नेताहरू तत्काल वाम एकताको पक्षमा देखिएका छैनन्। एमाले विभाजनपछि माधव नेपाल खेमाबाट एमालेमै रहेका अधिकांश नेताहरू वाम एकताको पक्षमा छन्।

माओवादी र समाजवादीमा पनि 

एमालेमा मात्रै नभएर माओवादी केन्द्रमा पनि प्रचण्डलाई नारायणकाजी श्रेष्ठ, बर्षमान पुनलगायत नेताहरुले वाम गठबन्धनको लागि दबाव बढाइरहेका छन्। 

माओवादीमा मात्रै नभएर एमालेबाटै विद्रोह गरेर बनेका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा पनि वाम गठबन्धनको बहस चल्नु स्वभाविक भएको नेता जीवनराम श्रेष्ठले बताए। 

उनले भने, ‘वाम गठबन्धनको पक्षमा हामी नहुने कुरै भएन। तर अहिले बजारमा हल्ला जस्तोजस्तो पार्टीको औपचारिक रुपमा छलफल भएको छैन। तर वाम एकताको बारे बहस चल्नु स्वभाविक हो।’ 

गठबन्धनको नतिजाबाट रुष्ट बनेका समाजवादीको सम्मानित नेता झलनाथ खनालले पनि पार्टीमा वाम एकताको दबाव बढाइरहेका छन्। त्यसो त अध्यक्ष माधव नेपालले पनि आफूहरुलाई गठबन्धनमा अपमान गरेको र धोका भएको अभिव्यक्ति दिँदै आइरहेका छन्। 

देउवालाई उही डर

०७४ सालको निर्वाचनमा पनि माओवादीले धोका दिएर २३ सिटमा खुम्चिएको कांग्रेसलाई अहिले त्यही भयले गाँजेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा त्यसैले पार्टीभित्रको चर्काे दबाब खेपेर भएपछि गठबन्धन अगाडि बढाउने पक्षमा अडिग छन्। 

देउवालाई संस्थापनइतर पक्षले गठबन्धन छाड्न जोड दिइरहेका छन्। आफूहरुले गठबन्धन तोडे माओवादी फेरि एमालेसँगै मिल्न जाने देउवालाई डर छ। 

तर अहिले वाम गठबन्धनको चर्चा चलेको भएपछि सफल नहुने कांग्रेस प्रवक्ता प्रकाशशरण महत बताउँछन्। उनी भन्छन्, ‘ओलीले संविधान मिचे, कुशासन र भ्रष्टाचार भयो। संसद भंग गर्नुभयो भनेर गठबन्धन बनेको हो। गठबन्धनका हरेक नेताहरु ओली प्रवृत्तिविरुद्ध जानुभएको छ। त्यसैले  गठबन्धन टुट्ने देखेका छैनौँ।’ 

स्थानीय तहमा पनि समझदारी गरेकै कारणले सफल भएको दाबी गरे। गठबन्धन आगामी दिनसम्म पनि जानुपर्छ भनेर नेतृत्व तह सहमत भएर प्रतिबद्धता गरेको बताए। 

वाम गठबन्धनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरु सक्रिय छन् नी भन्ने प्रश्नमा उनले भने, ‘विभिन्न प्रवृत्तिका नेताहरु हरेक दलमा छन्। उहाँहरुको कुराकानी र भेटवार्ता पनि त्यही स्वरुप हो।’

मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा मात्रै नभएर ओली प्रवृत्ति अन्त्य नभएसम्म गठबन्धन जाने उनको बुझाइ छ। 

‘ओलीजीले गठबन्धन टुटाउने जुन प्रयास गर्नुभएको छ। त्यो सफल हुन सक्दैन।  र उहाँले आफनो गठबन्धन बनाउन सक्नुहुन्न’ उनले भने,  ‘हामीलाई विश्वास छ गठबन्धन कायम रहन्छ।’ 

गठबन्धन शीर्ष नेताहरुकै सहमतिमा जिससमा पनि गठबन्धन गर्ने निर्णय भएपनि केही जिल्लामा तोडिएको पाइएकाले त्यसको समीक्षा हुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.