|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबुविहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगायत स्टेशनरी र विद्यालय पोशाकका लागि अल्पकालीन सहयोग जुटेको छ।

अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिहे गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा आइतबार थाहाखबर लगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि ती बालबालिकालाई मंगलबार तीनजना मनकारी व्यक्तिले आर्थिक सहयोग गर्दा खाद्यान्नलगायत आवश्यक सामाग्री जुटेको हो।

दुई वर्षअघि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले तयार पारेको वर्षका १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले २१ हजार ५ सय रूपैयाँ बराबरको खाद्यान्न ती तीनजना बालबालिकालाई उपलब्ध गराएकी हुन्। बेवारिसे शव व्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगरले आवश्यक स्टेशनरी र विद्यालय पोशाकलगायत अन्य आवश्यक सामाग्रीका लागि थप रकम उपलब्ध गराउने बताएकी छन्।

सिराहा नगरपालिकाको सिराहा घर भई हाल कतारमा कार्यरत डा.एम.आलमले २० हजार रूपैयाँ सहयोग गरेका छन् भने काठमाडौंबाट नानीकिरण सुनुवारले ११ हजार रूपैयाँ सहयोग गरेका छन्।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसँग बिहे गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको बिचल्ली भएको थियो । उनलाई  एक महिनाका लागि स्थानीय बुद्धवीर चर्मकारले घरमा राख्ने र दाताले दिएको खाद्यान्न पकाएर खुवाउने भएका छन्।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न, स्टेशनरीलगायत सामाग्री प्रदान गरिएको छ। पुजनका बुबा रिम फगामीको २०७८ साल कात्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसँग बिहे गरेकी र पुजन अहिले साथीहरूको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन्। पुजनलाई खाद्यान्न जुटेपनि बस्ने टुंगो अझै लाग्न सकेको छैन।

बुबा र आमा दुवैले अर्को बिहे गरेपछि आमाबुबा हुँदाहुँदै पनि असहाय बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकलाई हजुरआमाले पाल्ने र खाद्यान्न विद्यालयले सहयोग जुटाएर उपलब्ध गराउने भएको छ। मंगला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता बिकले अर्को बिहे गरेर अलग भएपछि छोरी सृष्टिको बिचल्ली भएको हो।

विद्यालयमा अध्ययनरत करिब ७७ जना विद्यार्थीमध्ये १४ जना विद्यार्थीको अवस्था अञ्जु, पुजन र सृष्टिकोभन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए। यसअघि कतै आश्रय नपाउँदा आफूले विद्यालयको बरण्डामा नै सुतेर रात बिताउने गरेको मञ्जु स्वयंले बताइन्। 

बुबाको मृत्यु भएका, आमाले अर्कैसँग बिहे गरी गएका साथै आमा र बुबा दुवैको माया नपाएका विद्यार्थीलाई देख्दा आँखाबाट आँशु आउने  शिक्षिका घनदेवी घर्तीले बताइन्। अरु मनकारी व्यक्तिले पनि उनीहरूको पढाइलेखाइको खर्च बेहोरी दिए ती असहाय बालबालिकालाई ठूलो सहयोग हुने उनले बताइन्।

कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका बालबालिका अध्ययनरत छन्। अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिँदा शिक्षक शिक्षिकाहरू थप समस्यामा परेका हुन्।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रावास बनाएर असहाय र अति विपन्न परिवारका बालबालिकाहरूलाई आश्रय दिने विद्यालयको योजना रहेको छ। त्यसका लागि विद्यालयले मनकारी व्यक्तिसँग सहयोगको आग्रहसमेत गरेको छ।

‘सधैंभरी शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन, अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ। अहिले तत्कालै दुईकोठे भवन बनाएर भए पनि उनीहरूलाई छात्रावासमा राख्ने प्रबन्ध गर्नुपर्छ‚’ बगरफाँट स्थायी घर भइ हाल काठमाडौं बस्ने वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.