|

विराटनगर : ‘केही मिठो बात गर, वाइफाई त घरमै छँदैछ नि’  मुस्कुराउँदै सन्तोष राई भन्छन्, ‘क्याफे सञ्चालनमा ल्याउँदा मसँग नेट जोड्ने पैसा थिएन त्यसैले यो लाइन भित्तामा लेखेको हुँ ।’ त्यसो त अभावले नयाँ सृजनाहरू सिकाउँछ भन्ने भनाइ पनि छ। 

यही भनाइलाई सन्तोषले चरितार्थ गरेका छन्। क्याफे खोल्दाताका उनीसँग पर्याप्त पैसा थिएन‚ क्याफेका लागि नयाँ समान खरिद गर्ने। विभिन्न समानले ‘डेकोरेशन’ गर्ने  योजना थियो तर उनीसँग पैसा थिएन। थोरै पैसामा धेरै काम गर्ने सपना बोकेर व्यवसायमा होमिएका  सन्तोषका लागि चुनौतीका चाङ थियो। उनी अप्ठ्याराहरूमा पाइला नडगमगाइ अगाडि बढिरहेका छन्।

‘जीवनमा धेरै हन्डर खाएँ, यहाँसम्म आइपुग्नलाई धेरै अप्ठ्याराहरू झेलेको छु,’ उनले सुनाउँछन्, ‘मसँग यो क्याफे खोल्दा २ लाख रूपैयाँ मात्रै थियो, इन्टरनेट जोड्ने पैसा पनि थिएन। त्यसैले मैले भित्तामा विभिन्न लाइनहरू कोरेको थिएँ।’

इटहरीको रंगशाला मुखैमा ‘क्याफे डी स्टेडियम’ नाम दिएर सन्तोषले सञ्चालनमा ल्याएको क्याफेमा आउने ग्राहक र  चियाका कपमा आफ्नो भविष्य कोरेका छन्।

केही गर्छु भनेर अगाडि बढ्दै गर्दा धेरै पटक असफलताले उनको यात्रा नरोकिएको पनि होइन। तर हारलाई जितमा बदल्ने साहस र आत्मविश्वास लिएर अगाडि बढेका सन्तोष मिहिनेत र लगनशीलताले नै सफलता प्राप्त गर्न सकिने बताउँछन्।

उनले यसअघि साझेदारीमा क्याफे नखोलेका पनि होइनन्। साझेदारी खासै नफापेपछि वैदेशिक रोजगारीका लागि दुबई हानिएका उनी फेरि नेपाल फर्किए र थोरै बजेटमा क्याफे डी स्टेडियम सञ्चालनमा  ल्याएको सुनाउँछन्।

‘मैले योभन्दा अगाडि साथीसँग साझेदारीमा क्याफे खोलेको थिएँ, त्यहाँबाट खासै फाइदा भएन उल्टै गोजीको पैसा गयो,’ उनी विगत सुनाउँदै भन्छन्, ‘क्याफे छोडेर काठमाडौं पुगेँ, दिदीको सहयोगमा विदेशको भिसा अप्लाई गरे, त्यहीँ बसेर ६ महिना कुकको तालिम पनि गरे।’

उनलाई वैदेशिक रोजगारीले पनि खासै भने जस्तो लाभ दिएन। तर पनि खाइनखाई पैसा जोहो गरे। त्यही पैसाले नेपालमै केही नयाँ गर्ने सोचले तयार भएर व्यावसायिक यात्रा आरम्भ गरेका उनले एक्लो व्यवसायमा भने केही आशा पलाएको उनी सुनाउँछन्।

पुरानो सामानमा नयाँपन

भनिन्छ मान्छेको जीवन भोगाइको पुस्तक हो। आफूले भोगका भोगाइलाई मनन र अध्ययन गर्न सके नयाँ तरिकाबाट जीउन सिकिन्छ। सन्तोषले पनि भोगाइका थाकहरूबाट केही सिकेर नयाँ  ढंगले जीवन अघि बढाए।

उनले जानेका विषयलाई नयाँ तरिकाबाट व्यवसायमा प्रयोग गरे अर्थात उनले क्याफे नयाँ खोले त्यहाँ प्रयोग भएका सामान पुरानै हुन् तर नयाँपन थपिदिए। ग्यारेजमा कामविहीन थन्किएका टायरलाई रंगरोगन लगाएर नयाँ बनाए, त्यसलाई बस्ने टुलको आकार दिए। बिग्रिएका टिभीलाई टेबलका रुपमा प्रयोग गरे। फालिएका हेल्मेटलाई गमलाको आकार दिए। बिग्रिएका साइकलमा फूलको बगैँचा बनाए।

‘यहाँ सबै उमेर समूहका ग्राहकहरू आउनुहुन्छ,’ उनले भने, ‘शुरुमा आउने हुनेहरू सबै अचम्भित हुनुहुन्छ पुरानो सामानलाई पनि प्रयोग गर्न मिल्ने रहेछ भनेर आउने ग्राहक क्याफेको चियासँगै यहाँको दृष्यसँग रमाउनुहुन्छ।’

उनी क्याफेमा मट्का चियामात्र बिक्री गर्दैनन्‚ खानाका विभिन्न परिकार पनि आफैँ बनाउँछन् र सर्व पनि आफैँ गर्छन्। केही समयसम्म आफैँ भाँडा धुने, पकाउने र बाँड्ने काममा व्यस्त रहने सन्तोषलाई केही राहत मिलेको छ। आफूले थालेको व्यवसायबाट राम्रो आम्दानी भएसँगै भर्खरै एकजना स्टाफ थपेका छन् उनले।

‘क्याफेको डिजाइन आफैँ गरे, रंगरोगन आफैँ लगाए, यहाँ प्रयोग भएका सामान सबै पुराना हुन् मैले नयाँ आकार दिएको हुँ,’ उनी हाँस्दै सुनाउँछन्, ‘पहिले त भाँडा धस्काउने काम पनि आफैँ अनि पकाउने, बाँड्ने पनि आफैँ, अहिले एकजना बहिनी राखेको छु केही राहत मिलेको छ।’

उनले पुराना सामान कसरी प्रयोग गर्न सकिन्छ भन्ने यु-ट्युबबाट सिकेको बताउँछन्। यु-ट्युबको माध्यमबाट पुरानो सामानलाई नयाँ आकार दिएर ग्राहकको मन तान्न पुगेका सन्तोषको भविष्य र वर्तमानको आकार उनले सञ्चालनमा ल्याएको क्याफेमा अल्झिएको छ।

गर्न सके नेपालमै राम्रो

पछिल्लो युरोपका विभिन्न देश कमाइ र पढाइको हिसाबले नेपाली युवाका लागि आकर्षक गन्तव्य बन्दै गएका छन्। थोरै पढाइ र निम्न आर्थिक अवस्था हुनेका लागि खाडीका विभिन्न देश कमाइको मुख्य गन्तव्य बनेका छन्।

केही वर्ष वैदेशिक रोजगारीको स्वाद चाखेर नेपाल फर्किएका सन्तोषका लागि भने मिहिनेत गर्न सके नेपालमै धेरै गर्न सकिने बताउँछन्। कामप्रतिको जिम्मेवारी नयाँ योजना र भिजन भए नेपाल नै विदेशसरह हुने अनुभव उनी सुनाउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.