स्थानीय निर्वाचन सम्पन्न भयो। आर्थिक वर्षको बजेट पारित भयो। भौतिक पूर्वाधार, सहर सरसफाई, फोहोर व्यवस्थापन लगायतका कार्य र योजनाले समाचारपत्र र सामाजिक संजाल तातेका छन्।
दूई दिने सार्वजनिक छुट्टि लागू भएको एक महिनामै फिर्ता भयो। बजेट निर्माण र निर्णयमा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर गोप्य सूचना सार्वजनिक भएको हल्लाले बिजुली चम्किदा तर्सिनुपर्ने जस्तो स्थिति सृजना भएको छ।
अमेरिकाले नेपालमा एसपिपी लागू गर्ने हल्लाले अर्को भूकम्प आउने हो कि जस्तो भएको छ।
लाग्छ दीर्घकालिन सोच विनाको प्रशासनिक निर्णय, योजनाबद्ध जनशक्ति विनाको कार्य योजना र नागरिक र राष्ट्रको हित भन्दा आफ्नो व्यक्तिगत स्वार्थले राष्ट्रलाई कुन दिशामा लैजान खोजिदै छ अन्यौल र भ्रम पैदा हुनु स्वाभाविकै हो।
विगतका विभिन्न अभ्यास बानी व्यबहारले गर्दा राजनीतिक नेतृत्वले नागरिकबाट पाउने विश्वास गुमाइसकेका छन् भन्दा अनुपयुक्त हुँदैन।
गुरू चेलाको परीक्षा
जब व्यक्तिलाई संसारका आपधापी र अनेक तिकडमले आशातित परिणाम दिन सक्दैन तब उसले अध्यात्मको सहारा लिन खोज्दछ।
कतिपय अवस्थामा युवा जमातमा समेत सांसारिक विरक्तताले सताउन थाल्दछ अनि गुरूको सहारा लिन पुग्दछन् जबकी जीवनमा सद्गुरूको संगत सधैं आवश्यक पर्छ दुखमा र अपूर्णतामा मात्र होइन।
धेरै समय अघिको कुरा हो आफ्ना चेलाहरूलाई आश्रममा राखेर जीवनशैली, सभ्यता, साधना र जीवनको यथार्थता सिकाउने प्रयास गरेका एक जना गुरूले आफ्ना ३ जना चेलाको परीक्षा लिने निर्णय गरे र २०–२० रुपियाँ दिएर ३ वटा चिज किनेर ल्याउने आदेश दिए।
ति ३ चिज थिए यता, उता र यता न उता। ति चेलाले २०–२० रूपियाँ लिएर गाउँ गाउँ डुले र सोधे यता छ, उता छ, यता न उता छ ? कसैले त्यो चिज आफूसंग, आफ्नो पसलमा नभएको जानकारी दिए।
झन्डै ३–४ दिन आफ्नो गाउँ वरिपरी खोजेर नभेटेपछि अब उनीहरू अर्कै जिल्लातिर जाने निधो गरे। तीन जना तीन तिर हिँडे। कतै ति चिज भेटिएन। दुई जना शिष्य अर्को जिल्लामा भेट भए, ति चिज नपाएको र अब गुरू कहाँ नै फर्केर २० रूपियाँ फिर्ता दिने र गुरुकै शरणमा पर्ने सल्लाह गरे र गुरूकहाँ फर्किए।
अर्को एकजना चेलाले पनि १–२ दिन त खोज्नमै लगाए। उनको पनि मष्तिस्कले काम गरेको थिएन कहाँ कसरी भेटिएला त। खोजिकै क्रममा हिंडीरहेका थिए, थकाई लागेको थियो एउटा चौतारीमा थकाई मार्न बसे।
चौतारीको अर्को कुनामा केहि युवाहरू भेला भएर चिच्याउदै थिए, हाँसिरहेका थिए। के गरेका तिमीहरूले उनले सोधे। हामी तास खेलिरहेका छौं र यसबाट जित्नेजति हाँसी रहेका छन् एकजना व्यक्तिले बताए।
कहिल्यै तास नखेलेका उनी एकछिन त्यहाँ बस्दा बस्दै तास खेल्न हौसिए। तर दुर्भाग्य उनले तासमा १० रुपियाँ हारे। ओहो सामान किन्न हिँडेको मान्छे, आधा पैसा त सक्कियो, उनी झस्किए र त्यहाँबाट हिँडे।
अलिकति पर जाँदै थिए एउटा लामो लाइनमा मानिसहरू उभिएर केहि कुराको प्रतिक्षा गरिरहेका थिए। उनी पनि त्यही लाइनमा उभिए। सोचे, यहीँ पो भेटिन्छ कि गुरूले भनेको चिज। लाइन अगाडि बढ्दै गयो, छेउमा पुगेको त त्यो मन्दिर रहेछ र मन्दिर भित्रका गुरूलाई दक्षिणा दिंदै टिका र आशिष लिएर मानिसहरू फर्किदै गरेका रहेछन्।
लाइनको छेउमै पुगियो, सबैले गरेको कुरा नगर्दा उनलाई असहज भयो र ५ रूपियाँ गुरुलाई भेटी राखेर टीका र आशिष लिएर आए। अब बाँकी ५ रुपियाँ छ, यसले त गुरुलाई समान लगिदिनु पर्दछ। उनी बाटो लागे।
अलिकति पर पुगेका थिए, बाटोको छेउमा जेरिको बास्ना आयो। एक किलोको पाँच रूपियाँको दरले तातो तातो जेरी बिक्रि भैरहेको रहेछ। भोक पनि लागेको थियो, सोचे अब जे हुन्छ हुन्छ बाँकी ५ रुपियाँले जेरी किनेरै खान्छु। एक किलो जेरी किनेर चौतारीमा बसेर खान थाले।
सबै खाए तर २ वटा उनले खानै सकेनन् र पोको पारेर आश्रम फर्के। यसो हेर्छन् २ जना साथी त पहिले नै आएर गुरुकहाँ साधना गर्दै रहेछन्। ति शिष्यलाई गुरूले सोधे –ल्यायौ त मैले भनेको कुराहरु ? उनले झट्ट जवाफ दिइहाले–ल्याएँ गुरू ल यो २ वटा जेरी खाइ हाल्नुस्।
के कुरा गर्छौ के हो यो ? यता हो हो, अहिले यहि तपाईंको अगाडि भएको चिज हो यो ल खानुस्। गुरुले भने ल यो त मैले अहिले मेरो अगाडि भएको खान्छु। उता चाहिं खोइ नि ? त्यो पनि छ गुरू जी तर मैले त्यो उतै छोडेर आएको छु।
मन्दिरमा मैले गुरूलाई चढाएको पाँच रुपियाँ त्यो उतै छ त्यसैले त्यो उतै काम लाग्छ यहाँ ल्याउन मिलेन। गुरूले सोध्नु भो फेरि– यता न उता खोइ त ? चेलाले भने– त्यो पनि भयो गुरू, मैले थाहा नपाएर तास खेलें, सबै भन्दा धेरै पैसा त्यहिँ हारें। न यता न उता भयो त्यो पैसा चाहिं।
गुरूले ति चेलालाई स्यावासी दिनुभयो र भन्नुभयो– मैले तिमीहरूलाई संसारको जीवनशैली र यथार्थता बोध गराउन खोजेको नै हो। दुई जनाले बिचमै छोडेर आयौ। कम्तिमा एकजनाले अनुभूति गर्यौ नि हामीसंग भएको स्रोत, साधन र सम्पदा कस्तो चिजमा खर्च गर्दा के फल हामी हाँसिल गर्दछौं त्यसको मूल्यांकन गर्न सक्नुपर्दछ।
चेलाको लागि मात्र होइन यो दृष्टान्त, सबै मनुष्यको जीवनमा यस्तै अवस्था आएको हुन्छ दैनिक रूपमा र जीवनमा। सोचाई र लगानीको आधारमा परिणाम हात लाग्छ।
संसारको कर्म र सफलता बाहिरको सम्पन्नता हो। अध्यात्म हो आफू भित्र फर्केर हेर्नु र आफ्नो स्वभावलाई जान्नु। भित्रको शान्ति, शुन्यता, परम विश्राम, परम चैतन्यको अनुभूतिमा डुब्नु हो। संसारको सफलताको लागि निकै दौडधूप, भनसुन र मिहिनेत चाहिन्छ भने आध्यात्मिक ज्ञानको लागि कुनै मिहिनेत चाहिँदैन यो त स्वाध्याय हो। आफ्नो भवदशा, आफ्नो स्वभावलाई जान्नु हो।
ओशो भन्नुहुन्छ– जब तिमी केहि क्रियाकलाप नगरी, बिल्कुल शान्त, संसारका सबै कुराबाट पर, एउटा साक्षीको रुपमा रहन सक्छौ त्यही अवस्था ध्यानको अवस्था हो। ध्यान बुझेपछि अध्यात्म बुझ्छौ र अध्यात्म बुझेपछि आफूलाई बुझ्छौ। संसारका कुरालाई भोग्नु र जान्नु महत्वपूर्ण पक्ष हो। तर यो नै अन्तिम लक्ष्य भने होइन।
अन्तिम लक्ष्य त आफू भित्रको सम्पदा जुन जन्मदा संगै आएको थियो र मृत्यू पश्चात पनि संगै जान्छ त्यसलाई जान्नु हो, आफ्नो जागृत अवस्थालाई पहिचान गर्नु हो। भित्रको आनन्द, शान्ती, भक्ति, प्रिती र ऊर्जा जो लिएर आएका थियौं, संसारमा भोग्यौं र जाँदा संगै जाने चिज पनि यिनै हुन्।
संसारको सम्बन्ध, पदार्थ, द्रव्य सबै यहिँ छुट्छन्। त्यसैले मृत्यूको दिन हामीलाई विदाई गर्न जम्मा भएका मानिसको मुखबाट हामी के सुन्न चाहन्छौं ? त्यही काम गर्न बाँकी छ।
मस्तिष्कले गर्ने भन्दा परको काम गर्नुछ यता न उता हुने कामबाट बच्नु छ। जसरी संसारको सिकाईमा समय र मिहिनेत लागेको छ त्यो भन्दा दुई तिहाई कम समय ध्यानमा लगाउन सके मात्र पनि आफू हुनुको वोध हुनेछ।
अरुलाई जान्ने कोसिस गरिरहनु, अरुका विचारमा चल्नु र भौतिक विकासको प्रभावमा पर्नु सांसारिक ज्ञान हुन्। अभाव न प्रभाव मात्र आफ्नो स्वभावको पहिचानको स्थितीमा पुग्नु ध्यान हो, अध्यात्मको ज्ञान हो र वास्तविक जिउने कला हो। सबै कर्म गरिसक्यौं अब केवल आफूलाई चिन्ने, जान्ने, मस्त र आनन्द रहने कर्म गर्न बाँकी छ।
ध्यान, होश र प्रेमको मार्गमा हिंड्न बाँकी छ। अन्तर्मुखी चेतना जगाउन र भित्री ज्ञानमा दृष्टि लगाउन बाँकी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।