|

रुकुम (पूर्व) :  परम्परागत कला, सांस्कृतिकलाई जगेर्नाका निम्ति रुकुमपूर्व भूमे गाउँपालिकाले सांस्कृतिक महोत्सव आयोजना गरेको छ। महोत्सवमै परम्परागत नाच जगेर्नाका निम्ति पुरस्कारको व्यवस्था गरी प्रतिस्पर्धा गराइएको छ।

प्रकृति पुजक मगर समुदायको मुख्य पर्व भूम्याको अवसरमा भूमे गाउँपालिकाले परम्परागत कला, सांस्कृतिकलाई जगेर्ना गर्ने उद्देश्यका साथ भूमे गाउँपालिका–२ खाबाङ बगरमा तेस्रो खुला सांस्कृतिक महोत्सव २०७९ सञ्चालन गरिएको छ।

जेठ मसान्तका दिन लेक अर्थात अग्ला पहाडमा गई भूमि देवतालाई धारधुप, अक्षता चढाइ विधिगत रूपमा प्रकृति पुजक मगर समुदायको मुख्य पर्व भूम्या सुरुवाति हुन्छ। जेठ मसान्त देखि सुरु भएको भूम्या पर्व असारको पहिलो साता सम्म हरेक गाउँमा भूम्या नाचगान गरी मनाउने गर्दछन्।

भूमे गाउँपालिकाको आफ्नो विशेषता बोकेको पर्वकै अवसरमा परम्परागत अर्थात् पुराना कला, सांस्कृतिकको जगेर्नाका निम्ति नाचगान प्रतियोगिताका लागि सांस्कृतिक महोत्सव आयोजना गरिएको छ।

उक्त सांस्कृतिक महोत्सवमा भाग लिनका लागि छिमेकी गाउँपालिकासँगै छिमेकी जिल्लाबाट पुरस्कार जित्न र आ–आफ्नो विशेषता बोकेको परम्परागत नाच प्रदर्शन देखाउनका लागि सांस्कृतिक महोत्सवको प्रतियोगितामा भाग लिएका छन्। विभिन्न ठाउँका आफ्ना भेषभूषा तथा पहिरणमा सजिएर सांस्कृतिक महोत्सवको प्रतियोगितामा कला प्रदर्शन गर्दा जो कसैको पनि मन लोभ्याएको छ।

पुर्खाको परम्परागत कला, सांस्कृतिक प्रदर्शनका लागि विभिन्न कला, सांस्कृतिक नाच अनुसारकै फरक–फरक पोसाकमा पहिरिएर असार २ गते देखि प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

भूम्या, नचारु, मयुर, पैसेरी, फाँक र झोरेल्नी नाचको प्रतिस्पर्धा गराइ राखिएको छ।  विशेष गरी परम्परागत रूपमा नाँचिँदै आइएका नाचको संरक्षण गर्ने उद्देश्य प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सविना बुढा मगरले बताइन्।

 ‘परम्परागत संस्कृति लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि सरकार आफैँ लागेको छ’, गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले भने, ‘परम्परा र संस्कृति संरक्षणका लागि वार्षिक कार्यक्रम बनाएरै काम गरिरहेका छौं ।’

प्रतियोगिता मौलिक र मौलिक भेषभूषामा हुने उनले बताए। हरेक वर्ष प्रतियोगिता गर्दा तयारी गर्नेले पनि राम्रो गर्ने र संरक्षणमा टेवा पुग्ने भनाई उनको छ। ‘हरेक वर्षको प्रतियोगिताले लोप हुन लागेको संस्कृतिलाई संरक्षण गर्ने भयो, परम्परामा आधारित नाचिने भएकाले हामीले हरेक वर्ष प्रतियोगिता गर्ने र आकर्षक पुरस्कार दिने नीति बनाएका हौँ’, उपाध्यक्ष बुढाले भनिन्।

पर्यटन विकासमा परम्परागत कला, संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने भएकाले त्यसको संरक्षण र प्रवद्र्धन स्थानीय सरकारको प्राथमिकतामा परेको भनाई उनको छ।

पुरस्कार राशि

भूम्या नाँचमा प्रथम आउनेले नगद एक लाख पुरस्कार पाउनेछ। दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना समूहले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। नचारु नाचको प्रथमले ७५, दोस्रोले ५०, तेस्रोले ३० र सान्त्वनाले १५ हजार नगद प्राप्त गर्ने छ।

मयुरमा प्रथम आउनेले ५०, दोस्रोले ३०, तेस्रोले २० र सान्त्वना हुने समूहले १० हजार नगद पाउने छ। यसैगरी पैंसेरु, फाँक र झोरेल्नी नाचमा प्रथम आउनेले ३०, दोस्रोले २०, तेस्रोले १५ तथा सान्त्वना हुने समूहले ५ हजार नगद पुरस्कार पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.