|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको बैठकबाटै जनप्रतिनिधिले निर्णयपुस्तिका खोसेर भागेका छन्।

गाउँ कार्यपालिकाको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य विमला बरुवालले निर्णयपुस्तिका खोसेर भागेकी हुन्। बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ।

दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानूनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा विषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए। 

निर्णयमा असहमति जनाउदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै बैठक पुस्तिका मागेर मोटरसाइकलमा दौडिएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए।

अध्यक्षले विषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन् । गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानुनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए। 

‘चुनावको जित हारको मानसिकता त्याग्न नसकेको अवस्था देखिएको छ, ‘सहमति र सहकार्यबाटै गाउँपालिका बनाउन सकिन्छ’ कार्यपालिकाका एक सदस्यले भने। गाउँपालिकाको कानुनअनुसार विषयगत समिति गठन गर्दा सर्वसहमतिमा निर्णय गर्ने र सहमति नभएमा अध्यक्षले विषयगत समिति गठन गर्नसक्ने व्यवस्था रहेको गठबन्धनका ती जनप्रतिनिधिको भनाइ छ। 

गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले विषयगत समिति तोक्नसक्ने उल्लेख छ। सोही कानुनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपद् र पूर्वाधार गरी चारवटा विषयगत समितिको घोषणा गरेका थिए। 

आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपदमा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए।

‘छ वटा विषयगत समितिमध्ये तीन वटा रोज्नुस् भन्दा उहाँहरूले मान्नुभएन, हामीले तीन वटा गठबन्धनलाई, तीन वटा एमालेलाई भनेकै हुँ, उहाँहरुको नियत नै काम गर्न नदिने, अल्झाएर राख्ने भएपछि निर्णय गरेको हुँ’ अध्यक्ष आचार्यले भने। प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आइतबार कार्यालय समयावधिसम्म निर्णयपुस्तिका ल्याउन आग्रह गरे पनि अहिलेसम्म फिर्ता नल्याएको बताए। 

यता नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बहुमतको कदर नभएपछि उठेर हिँडेको भएपनि निर्णयपुस्तिकाका विषयमा थाहा नै नभएको बताएका छन्। ‘बैठक भएको थियो, हामीले रोजेका समितिका संयोजक दिइएन र बहुमतको कदर पनि भएन, त्यसैले हामी उठेर हिँडेका हौँ, माइन्युटको विषयमा कुनै थाहा भएन’ एक कार्यपालिका सदस्यले भने। गाउँपालिकाको निर्वाचनपछि नेकपा एमाले र सत्ता गठबन्धनबीचको असहज गतिविधिले कर्मचारीलाई समेत समस्या भएको छ। 

जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन्। गाउँपालिकाका प्रवक्ता हरिविकास जिसीले विज्ञप्ती जारी गर्दै बैठकबाट निर्णय पुस्तिका लिएर भाग्नु कायरताको पराकाष्ठा भएको भन्दै खेद प्रकट गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.