|

जुम्ला : जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपक्षीको लागि राहत वितरण गरिने भएको छ। सोमवार जिल्लास्तरीय राहत वितरण समितिको बैठकमा  प्रदेश सरकारबाट प्राप्त भएको राहत कार्यविधि अनुसार ८ लाख उपलब्ध गराइने भएको हो।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं र जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा बसेको जिल्लास्तरको बैठकले पशु सेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले कार्यविधि अनुसार तयार पारेको राहत उपलब्ध गराउने निर्णय गरेकाे छ।

पशु सेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८/०७९ मा गत २०७८ साउन देखि हालसम्म क्षति भई प्रहरीको मुचुल्का अनुसार पुष्टि भई आएका भेडा, पाठापाठी, बाख्रा खसी, गाई गोरु, कुखुरा, माछाको क्षतिमा पाउने राहत जानकारी गराएकाे थियो।

कार्यालय प्रमुख गोविन्द बहादुर महतले प्रस्तुत गरेकाे राहत मापदण्ड अनुसार कार्यालयलाई आएको नौ लाख मध्ये आठ लाख वितरण गर्ने निर्णय भएको छ। एक लाख भने असार अन्तिमसम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ।

कार्यालय प्रमुख महतका अनुसार २०७८ कार्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी क्षति भएका तातोपानी गाउँपालिका वडा नम्बर ७ का किसानका भेडाको क्षति भने सङ्घीय सरकारले राहत दिने भएको छ। ताम्ति क्षेत्रका ९ जना किसानका १ सय ४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए।

त्यस्तै बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहत भए पनि उपलब्ध हुने भएकोमा राम्रो भएको बताए। प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले लामो समयदेखिको प्रयासमा किसानले पाउने पशुपक्षीको राहतका लागि निर्णय भएको र चाँडै खातामा हाल्न कार्यालयलाई निर्देशन गरे।

पशु अस्पताल तथा पशु सेवा कार्यालयले गत आर्थिक बर्षमा रु १४ लाख राहत वितरण गरेको जानकारी गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.