|

काठमाडौं : कोरोनाका कारण लामो समय निस्क्रिय जस्तै रहेर विश्व सिनेमा लयमा फर्किसकेको छ। व्यावसायिक तथा सिर्जनात्मक दुवै किसिमका फिल्म बनिरहेका छन् र प्रदर्शन पनि भइरहेका छन्। केही फिल्मले व्यावसायिक रुपमा आफूलाई अब्बल साबित गर्दै विभिन्न कीर्तिमान बनाएका छन् भने केही फिल्म सिर्जनात्मक रुपमा विश्वभरि चर्चाको विषय पनि बनिरहेका छन्। 

योसँगै हलमा दर्शकले आफूलाई मन पर्ने जनराका फिल्म रोजेर हेर्न पाउने माहोल पनि बनेको छ। यतिवेला नेपाली दर्शकको लागि पनि रोजेर हेर्नका लागि धेरै विकल्प छन्। जसमा दुई वटा नेपाली फिल्मसहित फरक फरक जनराका पाँच वटा विदेशी फिल्म रहेका छन्। 

केही महिनाअघिसम्म मात्रै पनि कोरोनाकालपछि नेपाली फिल्म उद्योग कुन दिशातर्फ जाने हो भन्ने गम्भिर प्रश्न उठिरहेका थियो। तर नेपाली फिल्म उद्योग अहिले इतिहासमै सबैभन्दा दरिलो गरी उभिएको देखिएको छ। जसमा वर्षको शुरुमै बहुप्रतीक्षित कन्नड फिल्म 'केजिएफ च्याप्टर २' सँग मिति जुध्दा पनि 'ए मेरो हजुर ४' ले झण्डै ६ करोड बक्स अफिस कलेक्सन गर्नु, 'कबड्डी ४' ले बक्स अफिसमा धेरै कीर्तिमान बनाउँदै इतिहासमै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बन्नु दुई महत्त्वपूर्ण घटना हुन्। 

गत शुक्रबारदेखि प्रदर्शनमा आएको दीपेन्द्र के खनाल निर्देशित 'चिसो मान्छे'ले पनि बक्स अफिसमा राम्रो कारोबार गरिरहेको छ। फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ। सोसल ड्रामा जनरामा बनेको 'चिसो मान्छे' र कमेडी जनरामा बनेको 'कबड्डी ४' यतिवेला प्रदर्शनरत दुई नेपाली फिल्म हुन्। पहिलो हप्तामा प्रदर्शन भइरहेको ‘चिसो मान्छे’ र चौथो हप्तामा प्रदर्शन भइरहेको 'कबड्डी ४' दुवैमा दर्शकको चाप सन्तोषजनक छ। 

एडभेन्चर कमेडी ड्रामा जनरामा बनेको कन्नड फिल्म '७७७ चार्ली' यतिवेला सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको छ। किरनराज के को लेखन तथा निर्देशनमा बनेको फिल्ममा कुकुर र मान्छेको सम्बन्धको कथालाई केन्द्रीय विषय बनाइएको छ। फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

एक्सन थ्रिलर जनरामा बनेका दुई फिल्म यतिवेला प्रदर्शनरत छन्। जसमा टम क्रुज अभिनित हलिउड फिल्म 'टप गनः मावेरिक' र तामिल फिल्म 'विक्रम' रहेका छन्। चौथो हप्तामा प्रदर्शन भइरहेको 'टप गन' वर्ष २०२२ को सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो नम्बरमा रहेको छ भने वरिष्ठ तामिल अभिनेता कमल हासन, विजय सेतुपति र फहाद फसिलको मुख्य भूमिका रहेको 'विक्रम' यो वर्ष सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा तेस्रो नम्बरमा पुगेको छ। 

एक्सन एडभेन्चर साइन्स फिक्सन हलिउड फिल्म 'जुरासिक वर्ल्ड डोमिनियन' पनि यतिवेला हलमा छ भने हरर कमेडी जनराको 'भूल भूलैया २' पनि यतिवेला हलमा छ। 'भूल भूलैया २' यस वर्ष राम्रो कमाइ गर्ने भारतीय फिल्मकाे सूचीमा पाँचाैँ नम्बरमा रहेकाे छ। फिल्मले विश्वभरिबाट २ सय ५० करोडभन्दा माथिको कमाइ गरिसकेको छ। 

शुक्रबार नेपाली फिल्म 'घनचक्कर'देखि हलिउड फिल्म 'एल्भिस' र 'जुगजुग जियो' एकसाथ प्रदर्शनमा आउँदैछन्। नयाँ फिल्म प्रदर्शनमा आएपछि हलमा कुन फिल्म रहन्छ‚ कुन निस्किन्छ‚ कस्तो कारोबार गर्छ‚ त्यो हेर्न बाँकी छ। तर यतिवेला हलमा प्रदर्शन भइरहेका सबै फिल्म आ-आफ्नो जनराका सफल फिल्ममा गनिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.