|

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ।

मंगलबार न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ ले ०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको उक्त संवाद  हाल सार्वजनिक गरेको हो। १० मिनेटको उक्त अडियोमा वकिल रुद्र प्रसाद पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको छ।

अडियोमा वकिल पोख्रेल इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाए बापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका छन्। अडियोमा न्यायाधीश कोइराला घुस लिएर तामाङलाई छुटाउने फैसला गरिदिन राजी भएको सुन्न सकिन्छ। यस्तो छ दुईजना बीचको कुराकानी :

न्यायाधीश : रुद्रजी ।

वकिल : प्रधानन्यायाधीशबाट १ नम्बर र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश : प्रधानन्यायाधीशलाई ?

वकिल : प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश …

वकिल : हजुरले गर्दै नगर्ने भए बेकारमा किन वचन खेर फाल्न जाने, भन्नु न । गर्दै गर्दिनँ भन्ने हो भने

न्यायाधीश : सुन्नुहोस् न, सुन्नुहोस् न ।

वकिल : हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अनि किन ? अरू मान्छे कत्रो गरेर बसेका छन् ।

न्यायाधीश : त्यो हो कि हुनलाई, तर के भनेदेखि त्यो अब …

वकिल : तपाईंले यो छोड्नु भयो भने तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन् । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुन चाहिँ माइकालालले पैसा खाएर यति गर्‍यो भन्ने खालको छ? अभियोगपत्र नै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठ्यारो हुन्थ्यो । किनकि त्यहाँ त ऐनका सबै कुराहरू थिए । ठगी त केही गरे ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

न्यायाधीश : (केहीबेर हाँसो हा… हा… हा…) । त्यो त हो कि, हुनलाई । त्यो कुरामा म कन्भिन्स छु । तर कुरा के भनेदेखि …

वकिल : त्यस्तो क्या हजुर, त्योमध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तँलाई हामी ठीक गर्छौं भनिसके । बहस नै गर्न सक्नेलाई पनि नभन्ने भन्ने हुन्न । त्योमध्ये रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउँदै आएका थिए । त्यसको १० करोड कि १२ करोड रहेछ । तपाईं त इमान्दार राम्रो वकिल भनेको त तामाङको पक्षमा त्यस्तो बहस गर्नुभयो । अनि मैले …

न्यायाधीश : डिल्लीप्रसाद भट्टराई भन्ने आठराईको हो । हिजो भेट भयो । ‘वकिललाई त्यसो भन्नु हुन्छ ? उहाँको पेसा हो, धर्म हो’ भने । हँ त त्यस्तो भन्नु हुन्न भनेँ ।

वकिल : भन्छन् के । यस्तो के । मैले त सुरुदेखि नै हजुरलाई भनेको थिएँ ।

न्यायाधीश : सुन्नु न त । जाहेरवालाको वकिल केशव बराल के रे ?

वकिल : होइन, रमेश बडाल ।

न्यायाधीश : को रे ? रमेश बडाल बहस गर्न आउने रे ?

वकिल : बहस त गर्न पाइयो नि त हजुर।

न्यायाधीश : आज दिनभरि लागिहाल्छ । आज, भोलि हुन सक्दैन । त्यसले गर्दा फेरि, सुन्नुस न । बर्बाद हुन्छ नि त ।

वकिल : केही हुँदैन । केही हुन्न ।

न्यायाधीश : हँ ।

वकिल : ममाथि गराउँछु । माथिबाट संकेत आएन भने नगरिस्यो हगि । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढङ्गले लिऊँ। यो अवसर सधैं आउँदैन, हेरिस्यो हगि । फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए हजुर के भन्या तैंले भन्नुहुन्थ्यो । मैले चाहिँ । अब हजुरले त सुरुदेखि नै अलिअलि मानसिकता बनाएको । मैले बरु ।

न्यायाधीश : प्रधानन्यायाधीशले भन्छन् त ? प्रधानन्यायाधीशले उनलाई ?

वकिल : भन्छन । म भनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

न्यायाधीश : ल हेर्नु न । (खितितिती हाँसो) ।

वकिल : ल हेरौं न, होइन । मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइँ भने ?

न्यायाधीश : आज हुँदैन । भोलि हुन्छ भनेपछि । आज मुद्दा रोकिने कुरा छैन । हैन…

वकिल : सामान पनि ल्याओ भन्नुपर्‍यो । उ… गर्नुपर्‍यो । त्यत्तिकै फोगटिया त किन गर्ने फेरि । समय नै छैन नि त । होइन किन उ… गरिस्या भन्या । सबै कुरा गरिसकेपछि । यस्तो बेलामा यताउता गर्नुहुन्न, सबै कुरा म गरिहाल्छु । बाहिर, माथि पनि म भनाउँछु । सामान पनि म लिन्छु । त्योभन्दा बहिर अन्त कहीँ एक्स्पोज हुँदैन । केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले । यिनीहरूका सबै च्यानल हावा खाए । खासमा यिनीहरू दरोसँग जान सकेनन् ।

न्यायाधीश : धरौटी माग्दा नि, कति माग्ने ? कति भन्नु त ?

वकिल : एउटा रिजनेबल भन्ने नि ।

न्यायाधीश : कती माग्ने त ?

वकिल : १० करोडको हाराहारीमा माग्नु नि ।

न्यायाधीश : कति, १० करोड ? हा… हा… हा… हा… । ठीक छ, हुन्छ । अब अप्ठ्यारो पर्‍यो भने हजुर …

वकिल : पर्दैन, पर्दैन । सधैं यस्तो आउँदैन । अरू बेला गर्ने, यस्तो बेलामा एक दुई वटा सिद्धान्त छाँट्ने, गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नि के–के गर्ने । एक दुई वटा, एक दुइटा आइडिया निकालौं ला नि हजुर!

न्यायाधीश : अँ । (हाँसो)

वकिल : त्यो गरौं । यतातिर झ्यापर्याक्कै २ जति (२ करोड) लिउँ न ।

न्यायाधीश : अँ । (हाँसो)

वकिल : माथिबाट हुन्छ । तपाईं, ए रामप्रसाद सर । अहिले गएर मैले नमस्ते गरेर मेरो यति काम तैँले गर्नु पर्छ भन्दा गरेन भने त यो जति खुद्रागत को हुन्छ त ? पैसा खाएर चाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ, हैन त ?

न्यायाधीश : उनीहरूले गर्ने ?

वकिल : उनीहरूले त गर्ने नि !

न्यायाधीश : ए अँ ।

वकिल : होइन, अब मैले यो यो कारणले तैंले गर्नुपर्छ भन्दा किन नगर्ने ? फेरि गर्न नहुने चिज भए हुने । यो त उही लिगल्ली तपाईं कन्भिन्स भएको, खालि मिडियाले के गर्ला कि, कसले के गर्ला कि भनेर न हो ।

न्यायाधीश : मिडियाले लेख्ने र मानिसहरूले नारा जुलुस गर्लान् कि फेरि ?

वकिल : केही गर्दैनन् । त्यो केही गर्दैनन् । नारा जुलुस केही गर्दैनन् । माथि जान्छ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आत्तिएको ? हो त ?

न्यायाधीश : त्यही त ।

वकिल : पहिला पास हुँदैन होला कि भन्ने थियो । मुद्दा सबै हेरी सकेपछि यो त तपाईंले सक्नु भएन भने माथिकाले सक्छन् । बेकारमा अर्काका छोराछोरी ऊ गरेको किन गर्नुहुन्छ ? तपाईं आफ्नै गरून ।

न्यायाधीश : त्यो त हो कि । ठीकै छ । माथिबाट भन्नु न ।

वकिल : ठीक छ, म भन्न लगाउँछु ।

न्यायाधीश वकिलबीच भएको संवाद गम्भीर ठहर गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन्। बुधबार दिउँसो १ बजे परिषदको बैठक शुरु भएको छ।​

न्यायपरिषद बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिका माथि पनि छलफल हुने बताइएको छ।

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकिएको छैन ।

सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो।

तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन गत वर्षको पुसमा विशेष अदालतले आदेश दिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.