|

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरिएको छ। महानगरपालिकाको एघारौँ नगरसभामा महानगरपालिका प्रमुख धनराज आचार्यले आव ०७९/८० को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका हुन्।

नीति तथा कार्यक्रममा क्षेत्रफलका आधारमा देशको सबैभन्दा ठूलो महानगरपालिका विविधतापूर्ण तथा ग्रामीण पहाडी क्षेत्र, अर्ध शहरी क्षेत्र र शहरी क्षेत्रसहित ३ थरी भौगोलिक अवस्था रहेको पोखरामा आर्थिक तथा मानवीय विकासका परिसूचकहरू विषम अवस्थामा रहेको पनि उल्लेख गरिएको छ। त्यसका लागि आगामी दिनमा प्राथमिकता, नीति कार्यक्रम ती परिसूचकलाई उच्च बिन्दुमा लैजान केन्द्रित गरी स्रोत र साधनको बाँडफाँड गर्नुपर्ने देखिने भनिएको छ।

वर्तमान अवस्थाको समीक्षा गर्दा पोखरा महानगरपालिकाको सर्वेक्षणअनुसार ग्रस म्युनिसिपल प्रडक्ट १ खर्ब १० अर्ब ५४ करोड रहने अनुमान छ। जसअनुसार प्रतिव्यक्ति औसत आय १ हजार ६०५ अमेरिकन डलर रहेको छ। पोखरामा वार्षिक शहरीकरण वृद्धिदर ५ प्रतिशत रहेको भनिएको छ।

‘समुन्नत पर्यटकीय पोखरा’ को विकासको प्रस्थान विन्दुको रूपमा आगामी वर्षको नीति तथा कार्यक्रमका मार्ग निर्देशक सिद्धान्तका रूपमा दिगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित शहरी विकास, उत्थानशील पर्यटकीय पूर्वाधार विकास निर्माण, सामाजिक न्यायपूर्ण, समावेशी तथा समतामूलक समाजको निर्माण, गुणस्तरीय र प्रतिस्पर्धी मानव स्रोत विकास, विभिन्न तहका सरकार र निजी क्षेत्रसँगको समन्वय, साझेदारी र सहकार्य, सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाह, प्रविधिमैत्री, सूचना तथा ज्ञानमा आधारित व्यवस्थापन रहने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ।

कृषि तथा सिँचाइतर्फ पोखराको आयात परिमाणको अध्ययन गरी ५ वर्षभित्र कम्तीमा दूध, फलफूल, तरकारी, माछामासुको आयात प्रतिस्थापनमा जोड दिइने, कस्टम हायरिङ केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्र तथा प्राङ्गारिक मल उत्पादन कारखानाको विकास र व्यवस्थापन कार्य अघि बढाइने, कृषि उत्पादनको बजारीकरण, मूल्य शृङ्खला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्म गोठदेखि ओठसम्म अभियान सञ्चालन गरिनेलगायत उल्लेख गरिएको छ।

रोजगारतर्फ मानव संशाधन विकास केन्द्रका रूपमा रोजगार बैङ्क स्थापना गरिने, प्लस टु तहको अध्ययन सकेका  महानगर क्षेत्रका युवालाई भाषा‚ होटेल म्यानेजमेन्ट‚ मोबाइल मर्मत‚ कृषि स्रोत व्यक्ति, जडीबुटी सङ्कलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेरिनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइन, वेभ पेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिने, महानगर विशेष स्वरोजगार कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

क्षेत्रगत रूपमा उद्योग तथा सहकारी, पर्यटन विकास, शिक्षा, खेलकुद, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला, साहित्य र संस्कृति, वन, वातावरण, सरसफाइ र विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलगायत उल्लेख गरिएका छन्।

यस्तो छ पूर्ण पाठ:

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.