|

काठमाडौं : जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाको २ करोड ४४ लाख ७१ हजार १०५ रुपैंयाको सम्पत्ति स्रोत नखुलेको भन्दै बुधबार विशेष अदालत काठमाडौं आरोप पत्र दायर गरेको हो। 

झाले गैरकानूनी रुपमा कमाएको अकुत सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति उनकी श्रीमती मिनादेवी झा र छोराहरु दिवाकर, शिवाकरण र करुणकर झाको नाममा राखेको देखिएकाले जफतका लागि उनीहरुलाई समेत प्रतिबादी बनाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार नासु पदमा कार्यरत झालाई भने कानून अनुसार कैद तथा जरिवाना गर्न र भ्रष्टाचार रकम असुल गर्न माग दाबी लिइएको छ।

झाले विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाएको उजुरी अख्तियारमा परेको थियो।

उनी २०३९ मंसिर ९ गते गा.वि.स सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी विभिन्न पद तथा कार्यालयमा रहि २०७८ साउन महिनामा अवकाश पाएका थिए। सोही अवधिसम्मको झाको आम्दानी र खर्च हेर्दा २ करोड ४४ लाख ७१ हजार १०५ रुपैंया अवैधानिक देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले परीक्षण अवधि २०३९ को साउनदेखि २०७७/०७८ सम्म अनुसन्धान २ करोड ४२ लाख ६७ हजार १०४ आम्दानी र ४ करोड ८७ लाख ३८ हजार २१० रुपैंया खर्च तथा लगानी देखिएको छ । 

पाँच दिन अघिपनि अख्तियारले ६ करोड भन्दा बढी अकुत सम्पत्ति आर्जन गर्ने झापाका कवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.