|

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच जहाज बेस स्टेसनमा जाने सहमति भएको छ। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ। 

प्राधिकरणले तोकेको जहाज बेस स्टेसनमा जाने सहमति भए पनि कहिलेबाट जाने भन्ने विषय स्पष्ट भएको छैन। १३ असारबाट वायुसेवा निगमका ५५ वटा जहाज प्राधिकरणले तोकेको विमानस्थलमा पार्किङ गर्ने सहमति भएको बताएको छ। नेपाल वायुसेवा संघले भने चरणबद्ध रूपमा जाने बताएको छ। 

प्राधिकरणका प्रवक्ता निरौलाले असार १३ गतेदेखि वायुसेवा कम्पनी अनिवार्य रूपमै तोकिएको बेस स्टेसनमा जानुपर्ने बताए। उनले भने, ‘प्राधिकरणको निर्णयमा अडिग छौँ। वायुसेवा सञ्चालकहरूसँग सहमति भएको छ।’ प्राधिकरणको निर्देशक पालना गर्ने उनको भनाइ थियो।

यता वायुसेवा सञ्चालक संघका महासचिव योगराज कँडेलले १३ गतेबाट चरणबद्ध रूपमा अगाडि बढ्ने बताएका छन्।

‘प्राधिकरणले दिएको निर्देशनमा हामी सहमत छौँ तर १३ गते नै जानुपर्छ भन्ने छैन। त्यस दिनबाट शुरु गर्नेछौँ’‚ उनले भने,‘प्राधिकरणले पूर्वाधार लगायत सुविधा थप्दै जाने र वायुसेवा कम्पनीले काठमाडौंबाहिर बेस स्टेसन बनाउँदै जाने सहमति भएको छ।’

त्रिभुवन विमास्थलमा सबै जहाज अटाउन कठिन भएको भन्दै प्राधिकरणले ५ असारमा प्रेस विज्ञप्ति जारी गर्दै १३ असारदेखि प्राधिकरणले तोकेको स्थानमा राति पार्किङ गर्नुपर्ने बताएको थियो। सो सूचनाको विरोध गर्दै वायुसेवा सञ्चालक संघले सबै उडान  चरणबद्ध रूपमा बन्द गर्ने घोषणा गरेको थियो।  

मंगलबार र बुधबार लगातार छलफल गरी सहमति जुटेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले भने, ‘वायुसेवा कम्पनीहरूले असहमति   जनाएको भन्दा पनि बुझाइ फरक भएको हो। छलफलबाट स्पष्ट पार्‍यौँ। त्यसपछि बुधबारदेखि नियमित रूपमा उडान सुचारु भएका छन्। अब उडान नरोक्ने सहमति भइसकेको छ।’

हाल वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थललाई बेस बनाएर उडान गर्दै आएका छन्। प्राधिकरणले कम्पनीहरूलाई काठमाडौंसहित बाहिरका विमानस्थलमा बिसानको अनुमति दिएको थियो‚ कार्यान्वयनमा भने आउन सकेको थिएन।

सबै जहाज काठमाडौंमा थुप्रिँदा जहाजका पखेटा ठोक्किने‚ डिले हुने जस्ता समस्या देखियो। यसलाई व्यवस्थापन गर्न प्राधिकरणले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरको नेतृत्वमा त्रिभुवन विमास्थलको क्षमता कति हो। कतिवटा वायुसेवालाई रात्रि बिसान गर्न सकिन्छ भन्ने प्रतिवेदन दिन समिति गठन गरेको थियो। 

उक्त समितिले आन्तरिक जहाज ५२ वटा रहेको तर पार्किङ क्षमता १७ वटा मात्रै रहेको प्रतिवेदन तयार पारेको थियो। ३८ हेलिकप्टर रहेकोमा काठमाडौंमा २१ वटा मात्रै राख्न सकिने क्षमता रहेको प्रतिवेदन पेसा गरेको थियो। उक्त प्रतिवेदनका आधारमा प्राधिकरणले क्षमताअनुसार मात्रै काठमाडौंमा राख्ने र बाँकी सञ्चालन अनुमति लिँदा बेस स्टेसन पाएकै ठाउँमा जाने निर्णय गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.