|

काठमाडौं :  संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। 

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७–७८ पेश गर्ने सम्भावित कार्यसूची छ। 

यस्तै प्रधानमन्त्रीका तर्फबाट राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ र लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधन छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

बैठकमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै दिउँसो १ बजे नै बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा भने आगामी वर्षका लागि विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी रहने भएको छ। आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, उर्जा जलस्रोत तथा सिँचाई, सञ्चार तथा सूचना प्रविधि, गृह र रक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने भएको छ। 

आजै राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालय शीर्षकमा विनियोजित बजेटमाथि छलफल हुने भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.