|

म्याग्दी :  बेनी नगरपालिका- २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगायत स्टेशनरी र विद्यालय पोसाक,झोला लगायतका सामाग्रीहरू वितरण गरिएको छ।

थाहाखबरका म्याग्दी संवाददाता धु्रवसागर शर्मामार्फत सहयोग दाताहरूले पठाएको ३१ हजार रकमबाट खाद्यान्न,कपडा,जुत्ता,झोला लगायतका सामाग्री खरिद गरी असहाय बालबालिकाहरूलाई वितरण गरिएको हो।

सिराहा नगरपालिका सिराहा घर भै हाल कतारमा कार्यरत डा.एम.आलमले पठाएको २० हजार र काठमाण्डौंबाट नानीकिरण सुनुवारले ११ हजार सहयोग गरेका हुन्।

अन्य सहयोग दाताहरूले पनि विद्यार्थीहरूलाई खाद्यान्न,स्टेशनरी लगायतका सामाग्रीहरू सहयोग गरेका छन्। कार्यक्रममा स्थानीयवासी समेत रहनुभएका म्याग्दी क्याम्पसका  भुतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजाल लगायत शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

अरुले दिए मात्र खान पाउने  नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा अघिल्लो हप्ता थाहा खबरमा 'विद्यालयको खाजाको भरमा असहाय बालबालिका, दाताको खोजी' शीर्षकको समाचार  प्रकाशन भएपछि ती बालबालिकाहरूलाई खाद्यान्न लगायतका आवश्यक सामाग्री जुटेको हो।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसँग विवाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको थियो। उनलाई  एक महिनाका लागि स्थानीय बुद्धवीर चर्मकारले घरमा राख्ने र सहयोग दाताले दिएको खाद्यान्न पकाएर खुवाउने गरेका थिए।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका- ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न,स्टेशनरी लगायतका सामाग्री प्रदान गरिएको छ। पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसँग विहे गरेकी र पुजन अहिले साथीहरूको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन्।

कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरू अध्ययनरत छन्। अधिकाँश अभिभावकहरू दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरूको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरू थप समस्यामा परेका हुन्।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरूलाई आश्रय दिने विद्यालयको योजना रहेको छ। त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरूसँग सहयोगको आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.