|

काठमाडौं : झण्डै २ वर्ष सुनसान रहेका नेपाली नाट्यघर पुनः लयमा फर्किएका छन्। गत चैतदेखि कुनै निर्बाध सञ्चालनमा आइरहेका नाट्यघरमा नियमित नाटक मञ्चन भइरहेका छन्। दर्शकले रोजेर नाटक हेर्न पाइरहेका छन्। 

यतिवेला राजधानीमा एकसाथ चारवटा नाटक मञ्चन भइरहेका छन्। चार नाट्यघरमा फरक स्वादका चारवटा नाटक एकसाथ मञ्चन भएका हुन्। 'चोरको स्वर', 'सेमुना', 'कथा कस्तूरी' र 'ऐया! माया' मञ्चनरत चार नाटक हुन्। ती सबै नेपाली नाटक हुन्। 

जेठ २० गतेदेखि मण्डला थिएटरमा मञ्चन शुरु भएको नाटक ‘चोरको स्वर’को परिकल्पना तथा निर्देशन अनिल सुब्बा र अन्वेष राई थुलुङले संयुक्त रूपमा गरेका हुन्। आर्टमाण्डुको प्रस्तुतिमा बनेको नाटकको कथा नवीन चौहानले लेखेका हुन्। यसअघि म्युजिक भिडियो र म्युजिकल फिल्म बनाउँदै आएको आर्टमाण्डुले पहिलोपटक नाटक बनाएको हो। 

लिम्बुवान संस्कृतिमा आधारित नाटकमा झण्डै डेढ दर्जन कलाकारको अभिनय रहेको छ। जसमा अनिल सुब्बा, इंगी होपो कोइँच सुनुवार, सुरज तमु, प्रयास बान्तवा राई, संगीता थापा मगर लगायतका कलाकार रहेका छन्। तेस्रो हप्तामा मञ्चन भइरहेको नाटकले दर्शकको उत्साहजनक साथ पाएको छ। नाटक असार १५ गतेसम्म मञ्चन हुनेछ। 

त्यस्तै नयनराज पाण्डेको कथा सर्पदंशमा आधारित नाटक 'कथा कस्तूरी' गौशाला पिङ्ग्लास्थान स्थित स्टुडियो थिएटरमा मञ्चन भइरहेको छ। दिया मास्केको निर्देशनमा बनेको नाटक स्टुडियो थिएटरमा मञ्चन भएको पहिलो नाटक हो। एक्टर्स स्टुडियोका कलाकारको अभिनय रहेको नाटक जेठ २७ देखि शुरु भएको हो भने असार १९ गतेसम्म मञ्चन हुनेछ। 

यी बाहेक दिलीप बान्तवा राईको कथामा आधारित नाटक 'सेमुना' पनि यतिवेला मञ्चमा छ। आरोहण गुरुकुलको प्रस्तुतिमा बनेको नाटक थापागाउँस्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेको छ। पूर्वी नेपालमा फैलिएर रहेको किरात समुदायको संस्कृति झल्किने नाटकलाई नीता राईले निर्देशन गरेकी हुन्। जेठ २८ देखि मञ्चन शुरु भएको नाटक असार ११ गतेसम्म मञ्चन हुनेछ। 

त्यस्तै टेकुस्थित कौसी थिएटरमा नाटक 'ऐया! माया' मञ्चन भइरहेको छ। सुदाम सिकेको निर्देशनमा बनेको नाटकमा शरीर, संगीत र संवादमा नयाँ प्रयोग गरिएको छ। कथा घेराको प्रस्तुति रहेको नाटक असार ७ गतेदेखि मञ्चन शुरु भएको हो। नाटक असार ३२ गतेसम्म मञ्चन हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.