‘पुराना दलप्रति जनतामा निराशा, नयाँ अनुहारप्रति आकर्षण’​

|

काठमाडौं : वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंमा महानगरपालिकामा बालेन साह र सुनसरीको धरान उपमहानगरपालिकामा हर्क साम्पाङ स्वतन्त्रबाट रुपमा निर्वाचित भए।

स्थानीय तहको निर्वाचनमा ठूला दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारले जितेपछि आगामी प्रदेश र संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको होड नै चलेको छ। 

देशको संघीय राजधानी समेत रहेको काठमाडौंमा उम्मेदवारीको घोषणा गर्ने लहर नै चलेको छ। काठमाडौंबाट चुनाव लड्ने तयारीस्वरुप सञ्चारकर्मी रवि लामिछाने पनि राजनीतिमा होमिएका छन्। 

उनले स्वतन्त्र नभएर स्वतन्त्र राष्ट्रिय पार्टी घोषणा गरेर नै अगाडि बढ्न निर्वाचन आयोगमा प्रस्ताव गरेका छन्। तर पार्टीको नाम नै स्वतन्त्र राख्यो भनेर विरोधमा आएका छन्। भलै पार्टी भने दर्ता भइसकेको छैन। रविकाे पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। 

काठमाडौंमा नयाँ अनुहारकाे लहर 

काठमाडौंमा ठूला दललाई चुनौती दिँदै एकपछि अर्को उम्मेदवारले उम्मेदवारी घोषणा गरिरहेका छन्। काठमाडौं ५ मा जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले उम्मेदवारी घोषणा गरेकी छन्। 

विवेकशील नेपालकी पूर्व नेता रञ्जु दर्शनाले पनि काठमाडौं ५ बाट उठ्ने घोषणा गरेकी छन्। ०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा २३ हजार ४३९ मत ल्याएकी उनले अहिले संघको निर्वाचनमा उठ्ने तयारी गरेकी हुन्।

काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि काठमाडौं ८ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १३ हजार ७७० पाएका थिए।

नेपाल प्रहरीका पूर्वडीआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल पनि काठमाडौं १ बाट चुनाव लड्ने तयारीमा छन्। उनी मात्रै नभएर काठमाडौं १ बाट पुकार बमले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्।

२०७० सालमा दोस्रो संविधान सभाको चुनावमा काठमाडौं ६ बाट उम्मेदवार बनेका सञ्जय श्रेष्ठले पनि फेरि प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यस्तै, काठमाडौं ४ मा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी ०७४ को निर्वाचनमा पनि सोही चुनाव लडेका थिए।

काठमाडौंमा स्वतन्त्र उम्मेदवारको लहर लाग्दै गर्दा काठमाडौं ५ बाट सांसद ईश्वर पोखरेल, क्षेत्र ४ बाट गगनकुमार थापा, क्षेत्र ८ बाट जीवनराम श्रेष्ठ, क्षेत्र ६ बाट भीमसेनदास प्रधान, क्षेत्र २ बाट माधवकुमार नेपाल क्षेत्र १ बाट प्रकाशमान सिंहलगायत शीर्ष नेताहरुलाई चुनौती थपिएको छ।

स्वतन्त्र उम्मेदवार हावी हुन थालेपछि ठूला दलका शीर्ष नेताहरू पनि उम्मेदवार चयनमा आफूहरु चुकेको स्वीकार्न थालेका छन्।

‘दलप्रति वितृष्णा बढ्यो’

राजनीतिक दलहरूप्रति वितृष्णा बढेकै कारणले पछिल्लो समयमा स्वतन्त्र उम्मेदवार हावी हुन थालेको राजनीतिक जानकार श्याम श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, ‘स्थानीय तहको निर्वाचनमा ठूला ठाउँमा समेत स्वतन्त्र उम्मेदवारले जितेका छन्। त्यसैले अहिले स्वतन्त्र उम्मेदवार दिनेहरू हौसिएका हुन्।’

राजनीतिक दलहरूको व्यवहार नसुध्रिएकै कारणले जनताले विकल्प खोज्न थालेको उनको बुझाइ छ।

‘जनताले दलीय व्यवस्थालाई धेरै हेरे। तर, अपेक्षा अनुसारको काम नगरेपछि दलहरूप्रति जनताकाे निराशा छायो। अब स्थानीय तहमा केही स्वतन्त्र उम्मेदवार सफल भएका छन्। संघ र प्रदेशमा के हुन्छ हेर्न बाँकी छ’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.