पत्रकारलाई समाचार छापेर देखाउन चुनौती

|

लक्ष्मी खरेल
बारा :
जीतपुरसिमरा उपमहानगर पालिकाले सीपविकास तालिमको नाममा अनियमितता गरेको खुलासा भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटबाट डेढ करोड रुपैयाँ खर्च हुने गरी ३० वटा तालिम सञ्‍चालन गराउन लगाएको उपमहानगरले महिलालाई सिप सिकाएर रोजगार बनाउनुको साटो संस्थासँग मिलेमतो गरी रकम कुम्ल्याउने दाउ रचेको रहस्य खुलेको हो।

आफूनिकट रहेका संस्थासँग मिलेमतो गरी उपमहानगरले डेढ करोड रुपैयाँ सक्न फरक फरक प्रकृतिका ३० वटा तालिमका लागि ९ वटा संस्थालाई छनोट गरेको छ।

एकाएक बाहिरियो रहस्य

एउटा तालिमबापत पाँच लाख रकम खर्चेको उपमहानगरले एउटै संस्थालाई सात वटासम्म तालिम सन्चालनको जिम्मा दिएको खुलेको छ। एउटा तालिम २० जनाको सहभागितामा प्रतिदिन ६ घण्टाको दरले ६५ दिन अर्थात् ३९० घण्टा गराउन संस्थासँग सम्झौता भएको देखिन्छ।

तर, एउटै संस्थाले एउटै प्रकृतिकका पाँचदेखि सात वटासम्म तालिमको जिम्मा पाएको र २० जनालाई दैनिक एकदेखि तिन घण्टा तालिम गराई ६० जनालाई दैनिक ६ घण्टाको हाजिरी तयार पारेको तालिमका सहभागीहरूले नै गुनासो गरेपछि तालिममा अनियमितता भएको रहस्य बाहिरिएको हो।​

सिपविकास तालिम अन्तर्गत पर्साको के.एस. मल्टिपर्पसले ३५ लाख रकम भुक्तानी पाउने गरी सातवटा कम्प्युटर तालिमको जिम्मा पाएको देखिन्छ।
पाँचमध्ये तिन वटा तालिम जितपुर बजारस्थित गुरुकुल कम्प्युटरमा सन्चालन भए पनि असारको ५ गते पुग्दा मुश्किलले ८ जना सहभागी अटाउने दश वटा कम्प्युटर राखिएको सानो कोठामा ७ जना मात्र सहभागी देखिए। सहभागीको कम्प्युटर टेबलमाथि हाजिरी रजिष्टर थियो जसमा असार १५ गतेसम्म २० जनाको हाजिरी देखियो।

तालिमको जिम्मा पाएको के.एस, मल्टिपर्पसले आफूले गराउनुपर्ने तालिम पेटी कन्ट्रयाक्टमा गुरुकुल कम्प्युटरलाई प्रति सहभागी तीन हजार रुपैयाँको दरले जिम्मा दिएको पाइयो। यो कुरालाई तालिमका प्रशिक्षकले पनि घुमाउरो पाराले स्विकारे।

गुरुकुलका प्रशिक्षक शिवशंकर पटेलले आधारभूत तालिम गराउन के..एस मल्पिर्पपसमार्फत आफूले ५४ जना विद्यार्थीलाई तालिम गराउने जिम्मा पाएको बताए।
उनले भने,'दिनमा एक देखि दुई घण्टा तालिम दिन्छौँ। तिन महिने कोर्सका लागि तीन हजार पाँच सयदेखि चार हजार रुपैया लिनेगरेका छौँ। उनले ५४ जना विद्यार्थीहरूलाई तालिम गराइरहेको बताए पनि न त त्यहाँ ५४ जना विद्यार्थी नै भेटिए, न त ५४ जना बस्ने ठाउँ र तालिमको पूर्वाधार नै देखियो।'

३९० घण्टाको अव्यावहारिक कोर्स

अचम्मको कुरा त के छ भने प्रतिविद्यार्थी तीनदेखि चार हजार रुपैयाँमा प्रतिदिन एकदेखि दुई घण्टा दरले अधिकतम तीन महिनामा सिक्न सकिने कम्प्युटर आधारभूत तालिमका लागि उपमहानगरले तीन सय ९० घण्टाको कोर्स डिजाइन गरेको छ।

जुन आफैँमा अव्यावहारिक छ। अझ तीन हजार रुपैयाँमा सिक्ने सकिने सिपका लागि प्रतिसहभागी २५ हजार रुपैयाँका दरले २० जनाका लागि पाँच लाख रुपैयाँ खर्चिनु आफैँमा हास्यास्पद छ।

सिलाइकटाइ तालिममा पनि बेथिति

त्यस्तै, महिलाका लागि सिलाई कटाई तालिमको सम्झौता गरेको संस्थाले पनि बेथिति गरेको छ। तालिमको विषयमा असार ३ गते थाहाकर्मी बुझ्न जाँदा वडा नं. १ स्थित हुलास पछाडि रहेको मगर भवनमा सञ्चालित सिलाइकटाइ तालिममा १३ जना सहभागी मात्रै कक्षामा उपस्थित भेटिए।

वैशाख ७ गते बाट सुरु भएको तालिममा आधा सहभागीले आफूहरु जेठबाट सिक्न आएको बताए भने आधा सहभागीले वैशाख ७ गतेबाट आएको बताए।
तर, त्यहीँ फेला परेको हाजिरी रजिष्टार हेर्दा २० जनाकै हाजिरी वैशाख ७ देखि नियमित भएको देखियो।

समापनको अवधि नजिकिँदै गएको उक्त तालिमको सिकाई प्रभावकारी नभएको सहभागी रविना खतिवडाले बताइन्। उनी भन्छिन्, “तालिम सकिन लाग्दा पनि तालिममा सिकेका सिकाइबाट अरूको कपडा सिलाएर आम्दानी गर्न सक्छु भन्ने हिम्मत जुटेको छैन।”

विश्वस्त छैनन् सिकारु

बजारमा व्यक्तिगत खर्चमा पहिला पनि सिलाइ सिकेकी ममता वस्ती तालिमबाट कटिङ सिक्न सकिन्छ कि भनेर आएको बताउँछिन्। तर यो कक्षामा खासै उपलब्धि नपाएको उनले बताइन्। याहाँ भन्दा युट्युवबाट बरु फाइदा पुगेको अनुभव सुनाउँदै उनी भन्छिन्, “तालिमको अवधि कम भो, सिक्ने वातावरण पनि उस्तै छ। फेरि मेशिन दिनुभएको भए सिकेको जति सिलाउन सजिलो हुन्थ्यो। तर भन्दा सरहरुले मेशिनको बजेट छैन भन्नु भो। बाहिर तीन हजारमा तिन महिना बाहिर सिक्ने तालिम जतिको पनि यो छैन। फेरि एक जनामा २५ हजार रुपैयाँ कसरी खर्च भयो<” भन्दै उनले प्रतिप्रश्न गरिन्।

तालिमका लागि छनौटमा परेको संस्था नेपाल स्किल ट्रेनिंग सेन्टरले तीनवटा सिलाई कटाई तालिमको जिम्मा पाएको छ।

वडा नं. १२ मा पुग्दा एउटै हलमा ३ वटा तालिमको ब्यानर झुण्ड्याएर एकै साथ ३ वटा तालिम भइरहेको भेटियो। कुल ३० जना सहभागि देखिएको उक्त तालिममा पनि २०/२० जनाको दरले ६० जनाको हाजिरी गरिएको पाइयो।

तालिमका एक सहभागी महिलाले दिनमा ६ घण्टा दिने भनिएको तालिम तिन घण्टाको दरले मात्र दिनेगरेको गुनासो गरिन। उपमहनगरको ४ नम्बर वडामा भैरहेको तालिमको अवस्था झनै भद्रगोल देखियो।

अनुहारै नदेखिएका १० जनाको हाजिर

कुशन डल बनाउन पाँच वटा तालिमको जिम्मा पाएको अभियान नेपाल पर्साले वडा नम्बर ४ औराहामा तीनवटा तालिम गराईरहेको बताए पनि १३ जना महिलाहरु मात्र सहभागी देखियो। जबकी सोही वडामा संस्थाले २० जनाको दरले ६० जनालाई ३ समुहमा तालिम गराएको हाजिर गरेको देखिन्छ।
सहभागी मध्येकी रोहिता अधिकारीले भनिन्, अहिले यो वडामा ३ वटा तालिम चलेको छ। दुईटा तालिमको ३० र अन्तको १० जनाको गरी ४० जनाको हाजिरी यहाँ हुन्छ। सरले एउटा तालिम अन्तै चलेको छ भन्नुहुन्छ। त्यहाँ पनि ३० जना छन्। तर त्यहाँ २० जनाको मात्रै हाजिरी हुन्छ भनेर अनुहारै नदेखेको १० जनाको हाजिरी यहा गर्न लगाउनुहुन्छ।”

अर्का सहभागी रीता भट्टले भने ५ लाख रुपयाँको दरले ३ वटा तालिमका लागि संस्थाले १५ लाख रुपैयाँ लिए पनि सो को बारेमा आफूहरुलाई कुनै जानकारी नदिएको र तालिमका लागि आवश्यक सामानहरु पनि संस्थाले नदिएकोले सिकाइमा समस्या भएको बताइन्।

एउटै वडामा सातवटासम्म तालिम

जीतपुरसिमरा उपमहानगरले उपमहानगरभित्र सन्चालन गर्ने ३० वटा तालिममध्ये के.एस.मल्टिपर्पस पर्साले ७ वटा, अभियान नेपाल पर्साले ५ वटा, नेपाल स्किल टे«निङ सेन्टर बाराले ३ वटा, शान्ति स्किल डेभेलोपमेन्ट बाराले ३ वटा, एक्शन फर स्किल डेभेलपमेण्ट कम्पनि पर्साले ३ वटा, नारायणी स्किल डेभेलपमेन्ट पर्साले ३ वटा, समाजिक विकास अभियान नेपाल पर्साले ३ वटा, नेशनल स्किल डेभेलपभमेन्ट प्रालिले २ वटा र युनिक स्किल डेभेलपमेन्ट प्राली पर्साले १ वटा गरी ३० वटा तालिम सञ्चालनको सम्झौता गरेको हो।

नगरभित्रका २४ वटै वडाका लागि ३० वटा तालिम भनेर सम्झौता भएको देखिए पनि एउटै वडामा ७ वटासम्म तालिम र त्यसमध्ये पनि कतिपय कागजमै संचालन भएको पाइएको छ।

सिलाइकटाइका ४, डलकुशनका १, ब्युटीसियनको २ गरी ७ वटा तालिम वडा नं. १२ फत्तेपुरमा मात्रै सन्चालनमा रहेको देखाईएको छ। वडा नं. ७ मा कम्प्युटरको ३, हाउस वायरिङ १, डलकुशन १, सिलाइकटाइ १ गरी ६ वटा तालिम सन्चालनमा रहेको देखिन्छ।

फरक फरक तालिमका लागि फरक फरक संस्था छनोट गरेको देखिए पनि १ देखि १३ वडाका प्रतिनिधि बोलाएर ९ वटा तालिम एकैदिन वडा नं. ५ मा उद्घाटन गरिएको थियो।

सम्बन्धित वडा अध्यक्षसहित स्थानियको रोहबरमा सोही वडामा उद्घाटन र सञ्‍चालन गर्नुपर्ने तालिमका सहभागिलाई दौडाएर गुपचुप रुपले अन्यत्र उद्घाटन गर्नुले पनि संस्था र उपमहानगरको प्रवृतिलाई उजागर गरेको छ।
अझ आफ्नै वडामा सन्चालित तालिमको विषयमा सम्बन्धित वडा अध्यक्षलाई समेत जानकारी नदिएको वडा नम्बर १ र ४ का अध्यक्षहरूले गुनासो गरेका छन्।

गयल हुनेको हाजिरमा रातो लगाउन निर्देशन

अनुगमनमा पुगेका उप–प्रमुख भोला अधिकारीले हाजिरीमा नआएकोलाई रातो चिन्ह लगाउनुस् है भन्नेबाहेक केही भनेनन्। ५ लाखको तालिम रहेछ, हामीलाई मेशिन दिन मिल्दैन< भन्ने सहभागीको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले भने, “ ५ लाख भनेर मात्र हुन्छ< कपडा, प्रशिक्षक मेशिनमा खर्च हुन्छ नि” भनेर तर्किए।

पत्रकारलाई समाचार छापेर देखाउन चुनौती

हाम्रै लागि किनेको मेशिन हामीलाई दिए हुन्न भनेर सहभागीले प्रतिप्रश्न गर्दा बोल्नै लागेका प्रमुख प्रशासकीय अधिकृतलाई “यो विषयमा तपाईं चुप लाग्नुस् भनेर सामाजिक शाखाका कर्मचारी हरिकिशोरले प्रमुख प्रशासकीय अधिकृतको मुख नै बन्द गराए।
पत्रकारको उपस्थितिप्रति असन्तुष्टि जनाउँदै साहले पत्रकारलाई समाचार छाप्ने चुनौती दिँदै त्यस्ता समाचारले आफुलाई केहि फरक नपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.