|

काठमाडौं : पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अंकले गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २३७ कम्पनीको ५० लाख ८ हजार कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार नेप्से परिसूचक उच्च गिरावट आए पनि दुई कम्पनीको शेयर कारोबार भने सकारात्मक सर्किट लेभलमा भएको छ। जसमा आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यता शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी र जोशी हाइड्रो पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा साढे ९ करोडभन्दा बढीको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.