|

काठमाडौं : लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनी कारबाहीमा परेका छन्। बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरूलाई जरिबाना गरेको हो।

समितिले बिहीबार आर्थिक वर्ष २०७७।०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिबाना गरेको जानकारी दिएको छ। यसैगरी आर्थिक वर्ष २०७७।०७८ को लेखापरीक्षण नबुझाई दोस्रोपटक कानुनी व्यवस्था उल्लंघन गर्ने कम्पनीलाई थप ५ सय गरी १० हजार ५०० रुपैयाँ जरिबाना गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

बीमा कम्पनीहरूले आफूले गरेको बीमा कारोबारको मान्यता प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई आर्थिक वर्ष सकिएको १० महिनाभित्र समितिमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

१० हजार रुपैयाँ जरिवाना पर्ने कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, एशियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन्।

त्यसैगरी आर्थिक वर्ष २०७६।०७७ को लेखापरीक्षण प्रतिवेदन पनि नबुझाएका कारण त्यतिवेलै जरिवाना गरिएका राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, दि ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पुनः दोस्रोपटक आव २०७७।०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई कानुनी व्यवस्थाको दोस्रोपटक उल्लंघन गरेको भन्दै ती कम्पनीलाई  समितिले १० हजार ५०० रुपैयाँ जरिबाना गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.