|

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएको बजेटलाई प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्न नसकिने बताएको छ। एमाले संसदीय दलका नेता यामलाल कँडेलले थप खाडल हुनेगरी ल्याइएको बजेटलाई राम्रो मान्न नसकिने बताएका हुन्।

बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘यसअघि नै विभेदका थुप्रै खाडलहरू थिए। थप खाडल हुने गरी बजेट ल्याइएको छ। यसलाई एमालेले मात्र होइन कसैले राम्रो मान्न सक्दैन।’ 

कँडेलले नीति तथा कार्यक्रम ल्याउँदासम्म केही आशलाग्दो बजेट ल्याउने देखिएपनि अन्तिममा आउँदा सरकारले पुरानै बाटो रोजेको बताए। प्रतिपक्षसँग गरिएको सम्झौता सरकारले भुलेको बताउँदै कँडेलले बरु एमालेको भोट घटे घट्ला तर नीति, विधि विपरीत सरकारले कदम चाले त्यसको विरोध गरिने ठोकुवा गरे।

उनले भने, ‘विगतको टुक्रे योजनाको बाटो ‘करेक्सन’ हुन्छ कि भन्ने लागेको थियो। किताब हेरेपछि थपिएका नयाँ योजनाको सूची हेर्दा सबै सांसदहरुलाई ढाँटेजस्तो लाग्यो।’

साथै कँडेलले अधुरा योजना सम्पन्न गर्ने सरकारले निर्णयमाथि पनि प्रश्न उठाए। उनले भने, ‘संसदमा बोल्दा धेरै योजना पुराना छन् भने अर्कोतिरबाट योजना बढ्ता समेटिएका छन्। किताब मोटाएकै छ। भित्र हेर्न बाँकी छ। खाल्टो फेरि गहिरिएर नै आयो।’ उनले बजेटमा असमानता र विभेदका खाडलहरू थुप्रै रहेको दाबी समेत गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.