|

विराटनगर : विराटनगरमा उद्योगी व्यवसायीहरूले अर्थमन्त्री विरुद्धमा आन्दोलन गरेका छन्।

आर्थिक विधेयक २०७९/२०८० मा जी आई वायर, वनस्पति घिउ, तेल र स्यानिटरी प्याडका उद्योगलाई  बजेटमा कर बढाइएको विरुद्धमा उद्योगी, व्यवसायीहरू बुधवार आन्दोलनमा उत्रिएका हुन्।

मोरङको बुढीगंगाको गोकुवा चोकबाट सुरु भएको विरोध जुलुस निमुवा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले  बजेट वक्तव्यमा फलामे कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुललाई ५ प्रतिशतबाट बढाएर १० बनाइएको बताए।

भन्सार विन्दु एमएसमा लाग्दै आएको प्रतिकिलो २ रुपैयाँ ५० पैसाको अन्तःशुल्कलाई ४ रुपैयाँ ५० पैसा बनाइएको बताउँदै उनले एमएसबाट उत्पादन गरिने जी आई वायरको पैठारी भने साफ्टा अन्तर्गत ६ प्रतिशत भन्सार महसुलमा गर्न सकिने व्यवस्था रहेको बताए।

यस्तो नीतिका कारण देशभरिमा एमएसमा आधारित सय भन्दा बढी उद्योग बन्द हुन सक्ने उनको भनाई थियो।

उद्योगीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बजेट सम्बन्धी त्रुटि सच्याउन आग्रह समेत गरेका थिए। अर्थमन्त्री शर्माले संसदबाट  बजेट पास भएको भोलिपल्टै सच्याउने आश्वासन दिए पनि हालसम्म चासो नदेखाएको रिजालले बताए।

केही उद्योगको फाइदाका लागि अर्थमन्त्रीले बजेटमा कर बढाएर नेपालका उद्योगलाई विस्थापित गर्न खोजेको उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश  प्याकुरेलको आरोप छ।

नयाँ बजेटले तयारी सेनेटरी प्याडको पैठारी १.५ प्रतिशत भन्सार महसुलमा गर्न पाइने सुविधा दिएको छ। भने, देशमा उत्पादन हुने सेनेटरी प्याडले पैठारी गर्ने कच्चा पदार्थको औसत भन्सार महसुल ७.५ प्रतिशत भएको उद्योगीहरू बताउँछन्।

आत्मनिर्भर भइसकेको सेनेटरी प्याड उद्योग सरकारी कदमका कारण बन्दको स्थितिमा पुगेको भन्दै आन्दोलन सुरु गरेको उनीहरूको भनाई छ। तीन व्यावसायिक सङ्गठन र चार मजदुर सङ्गठनले दोस्रो चरणको संयुक्त आन्दोलन गरेका हुन्।

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परि सङ्घ (सिएनआई)को प्रदेश नम्बर १ सहित नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस समर्थित ४ ट्रेड युनियन आन्दोलनमा सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.