|

रोल्पा : जिल्लामा सम्बन्धविच्छेद गर्नेको स‌ंख्या बढेको छ। जिल्ला अदालतमा यो वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्धविच्छेदका मुद्दा दायर भएका छन् । 

यसरी दायर भएका २२७ मुद्दा फर्छ्योट हुँदा ९५ फर्छ्योट हुन बाँकी छन्। दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्धविच्छेदका लागि दर्ता गरेका हुन्। धेरैजसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्धविच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, बिहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।    

गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा  १५६ वटा फछ्र्यौट भएका छन्। यो अवधिमा ७० मुद्दा फर्छ्योट हुन बाँकी छ। आर्थिक वर्ष २०७६\७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फर्छ्योट भएका थिए।  

सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांश २७ वर्षमुनिका छन्। १४ उमेरका पनि सम्बन्धविच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिए। ‘विवाह भएको चार महिनामै सम्बन्धविच्छेद गर्न आउने गरेको देखिएको छ’, उनले भने। 

अंश दाबीबिना सम्बन्धविच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको छ। अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताए।  

सम्बन्धविच्छेदको मुख्य कारण बालविवाह भएको रोल्पा जिल्ला अदालतका स्रेस्तेदार प्रेम खड्काको भनाइ छ। ‘सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्’, उनले भन्छन्। सम्बन्धविच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थ सेवन, कुटपिटलगायत छन्। 

‘वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ’, महिला अधिकारकर्मी तीर्था आचार्य भन्छिन्, ‘यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह बढेको छ।’

सम्बन्धविच्छेद गरेकाहरूका छोराछोरीको पालनपोषण, शिक्षा र स्वास्थ्य प्रभावित हुने गरेको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.