नयाँ आवेदन प्रणाली विकास

|

काठमाडौं : यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन २ लाख जनाले नक्कली आइडी बनाएर फारम भरेको जनाएको छ। एकै जना व्यक्तिले फरक फरक नम्बर प्रयोग गरि आवेदन दिने गरेको विभागले जनाएको छ। 

विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले ती व्यक्तिहरूलाई पटक पटक सम्पर्क गर्दा पनि ट्रायल दिन नआएको जानकारी दिए। उनले भने, ‘ट्रायल दिनलाई पटक पटक फोन सम्पर्क गर्‍यौँ, तर आएनन्। उनीहरूले फरक फरक नम्बरमा फेक आइडी बनाएर आवश्यकताबिना फारम भरेका रहेछन्, त्यस्तो गर्नेको संख्या करिब २ लाख थियो।’

उनका अनुसार आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक–फरक मोबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाइ आवेदन दिएको पाइएको हो। ती व्यक्तिहरूका कारण सवारी ट्रायलमा समेत समस्या भएको उनको भनाइ छ। ‘अब त सबै ती आवेदन रद्द गरिसकेका छौँ,’ उनले भने। 

नयाँ आवेदन प्रणाली खुल्यो

विभागले सवारी लाइसेन्सको लागि नयाँ आवेदन प्रणाली विकास गरेको छ। विभागका प्रवक्ता पनेरुले अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक–फरक मोबाइल नम्बर प्रयोग गरी फारम भर्ने गरेपछि नयाँ आवेदन प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिए।

अब एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एकपटक मात्र अनलाइन प्रोफाइल बनाउन सकिने गरि असार ७ गतेदेखि  व्यवस्था गरिएको प्रवक्ता पनेरुले जानकारी दिए।

विभागले प्रोफाइल बनाउने बेला नाम, ठेगाना, नागरिकताको विवरण, सवारीचालक अनुमतिपत्रको विवरणलगायत विवरण भर्दा त्रुटि भएमा नजिकै रहेको यातायात व्यवस्था कार्यालयमा गएर सच्याउन आग्रह गरेको छ।

‘अब भर्दा सिस्टमले जे जे मागेको छ,त्यहीअनुसार मात्र भर्न पाइने छ,’ उनले भने। विभागका अनुसार अब बिहान ७ बजे १६ औँ दिनको लागि आवेदन खुला भएको छ। फाराम भरेको १५ दिनमा सवारी ट्रायल दिन सकिने उनको भनाइ छ। ‘अब आवेदन दिएको १५ दिनभित्रमा ट्रायल दिन सक्ने गरी व्यवस्था गरेका छौँ, केही प्राविधिक कारण देखिए केही समय ढिला हुनसक्छ,’ उनले भने।

यसअघि करिब ५ लाख ७० हजार व्यक्ति ट्रायलको प्रतीक्षामा थिए। उनीहरुलाई विभागले सन् २०२४ सम्मको डेट दिएको थियो। बढी चाप बढेपछि अनलाइन आवेदन प्रणाली नै विभागले बन्द गरेको थियो। यी सबै सेवाग्राहीलाई सेवा दिइसकेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.