|

हेटौंडा : नेकपा एमाले अनुपस्थित भएपछि हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा असार १२ गतेका लागि सरेको छ। 

शुक्रबार बिहान १० बजेको लागि बोलाइएको नगरसभामा एमाले अनुपस्थित भएपछि असार १२ गतेका लागि सारिएको हो। हेटौंडा उपमहानगरपालिकामा एमालेको बहुमत छ।

बैठक सञ्चालन कार्यविधि संशोधनको माग राख्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा नगरसभा सञ्चालन हुन नसकेको हो। कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन्।

एमालेबाट निर्वाचित बहुमत सदस्य नगरसभामा नगएपछि कोरम पुग्न सकेन। एमालेलाई फकाउन मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँ छलफलमा बसे पनि सहमति हुन नसकेपछि नगरसभा नै सारिएको हो।

असार ७ गते बसेको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो। आफूले गरेको प्रस्तावलाई मेयरसहित अन्य जनप्रतिनिधिले अस्विकार गरेपछि एमालेको बहुमत प्रतिनिधिहरू बैठकबाट बाहिरिएका थिए।

एमालेले संशोधन गर्न गरेको प्रस्तावमा बैठकको निर्णय सामान्यतया सर्वसम्मतिबाट हुने भएपनि मत विभाजन हुने अवस्थामा बैठकमा बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिनुपर्ने उल्लेख गरेको छ। बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.