|

काठमाडौं : गत वैशाख ३१ गते दिउँसो करिब २ बजेको समयमा खोटाङको वराहपोखरी गाउँपालिका-५ पानीटारस्थित दूधकोशी नदीको बगरको खाल्डोमा शंकास्पद अवस्थामा एक शव फेला पर्‍यो। 

प्रहरीले शव भेटाउँदा अन्दाजी ६५-७५ वर्षको जस्तो देखिने महिलाको शव सडिसकेको अवस्थामा थियो। जिल्ला प्रहरी कार्यालय खोटाङले बेवारिसे अवस्थामा भेटिएको उक्त शवको पहिचानका लागि अनुसन्धान शुरु गरेको थियो।

अनुसन्धानका क्रममा शव फेला परेको केही दिन नबित्दै मृतकको पहिचान पत्ता लगाउन सफल भएको खोटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले बताए। खोटाङको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोकमा कोठा लिई बसेकी ७७ वर्षीया तुलसा खड्काको शव थियो।

मृतकको पहिचान गर्नमै केही समय लागेको प्रहरीलाई परिचय खुलेपछि घटनाको अनुसन्धान एउटा गतिमा गयो।

प्रहरीका अनुसार गत वैशाख ३० गते निर्वाचनमा भोट खसाल्न भन्दै तुलसा इटहरीबाट खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवास्थित आफ्नै घरतर्फ लागिन्। तुलसालाई आफ्नै नाति २९ वर्षका हरि भनिने निरबहादुर खड्काले लिएर गएका थिए।

घटना भएको करिब डेढ महिनापछि उनै हरिलाई हत्याको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। खोटाङका प्रहरी निरीक्षक अर्यालका अनुसार भोट खसाल्न भनेर हजुरआमा तुलसालाई  आफ्नै गाउँ पुर्‍याउन हिँडेको निरबहादुरले खोटाङको वराहपोखरी गाउँपालिका-५ पानीटारस्थित दूधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरी भागेका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरको प्राविधिक टोलीको सहयोगमा हरिलाई गत बुधबार बिहान करिब साढे ५ बजे झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टास्थित नेपाल भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीको नियन्त्रणमा रहेका निरबहादुरमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत खोटाङबाट म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अर्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.