|

पर्वत : फलेवास नगरपालिका–४ मुडिकुवाका डिल्लीप्रसाद सापकोटाका गोठमा केही वर्ष अगाडिसम्म हल गोरु थिए। कृषिमा आएको आधुनिकीकरणसँगै उनको घरमा ‘मिनी टिलर’ भित्रियो। घरमा भित्रिएको प्रविधिले वर्षौंदेखि बाँझो खेत फुटाउँदै आएका गोरु विस्थापित भए।

२०७६ सालमा ‘मिनी टिलर’ गाउँ लैजाने वेलामा उनले प्रति लिटर करिब ७५ रूपैयाँमा किनेका थिए। त्यसयता २ वर्षमा तेलको मूल्य झन्डै ३ गुणा मूल्य बढेको छ।

पेट्रोल सस्तो रहेको वेलामा ‘मिनी टिलर’ को राम्रो माग रहेको भए पनि अब प्रयोग गर्नै नसकिने अवस्था आएको छ। गाउँ-गाउँमा ‘मिनी टिलर’ छिरेपछि गाउँलेहरूले पाल्दै आएका गोरु पनि अधिकांशले बेचिसकेका छन्। अहिले गाउँमा न त गोरु छन्, न त ‘मिनी टिलर’ लाई पैसा तिरेर धान रोप्नसक्ने अवस्था छ।

‘गाउँमा गोरु लगभग हराइसके, कोही-कोहीले गोरु पालेर परेली गरेका छन्। दाइँ हाल्दा पनि खासै गोरु पाइँदैन। अहिले न गाउँमा गोरु छन्, न त तेल हालेर मेसिनले रोप्न सकिन्छ,’ सापकोटा भन्छन्, ‘यसरी त कृषकले कसरी हो र खै खेती गरेर खाने? जसोतसो जीविका धानेका मान्छेले महँगो मूल्य तिरेर ट्र्याक्टरले रोप्न सक्ने अवस्था छैन।’

तेलको मूल्य बढ्दा घण्टाको हिसाबमा जोत्ने गरेका ‘मिनी टिलर’ हरूको भाडा पनि बढ्ने भएकाले कृषकहरूले मुख्य-मुख्य खेतबाहेकका पाखा र छेउछाउ बाँझै छोड्नुपर्ने अवस्था आएको उनको भनाई छ।

फलेवास नगरपालिका–३ शंकरपोखरीका ज्ञानप्रसाद रेग्मीले पनि ०७६ सालमै ‘मिनी टिलर’ खरिद गरे। घरको बाहेक उनले भाडामा गाउँलेहरूको पनि खेत जोतिदिन्थे।

तर तेल महँगो भएकाले अहिले किसानहरू समस्यामा परेको उनको भनाई छ। तेलसहित मेसिनरी सामग्रीमा समेत भएको मूल्य वृद्धिले यसअघि लिने गरेको प्रतिघण्टा भाउमा यस पटक रोपाइँ गर्न नसकिने रेग्मी बताउँछन्।

‘एक लिटर तेल २ सय तिरेर यत्रा फाँट जोत्ने कसरी हो? ऋण खोजेर धान रोप्नु परेपछि यहाँभन्दा समस्या के हुन्छ?‚’ उनले भने, ‘२ सयको तेल हालेर जोतेर उत्पादन गरेको कोदो र मकै पाथीको २ सयमा पनि बिक्दैन। एक पाथी धानको मूल्य पनि ७/८ सय पुग्ने भयो।’

गत वर्षको असारमा जिल्लाका ग्रामीण क्षेत्रमा ‘मिनी टिलर’ को प्रतिघण्टाको मूल्य ७ सयदेखि १२ सय रूपैयाँसम्म पाइन्थ्यो जबकि त्यो वेलामा तेलको मूल्य १३० रूपैयाँ आसपास थियो। तेलको मूल्य बढेकै कारण यस वर्ष प्रतिघण्टाको भाउ झनै बढ्नेछ।

त्यसबाहेक बाउसे र रोपारको ज्याला पनि बढ्यो भने कृषकहरू खेती गर्ने कि नगर्ने? दुविधामा पर्ने अवस्था आएको छ।

‘एक घण्टा जोतेको १२/१५ सय तिरेर खेती लाए पनि ५/७ मुरीभन्दा धान फल्दैन। बाउसे, खेताला, मल, बीउ सबैको हिसाब गर्ने हो भने आधा मोल पनि उठ्दैन, ऋणमा खेती लगाएर कसरी खान सकिन्छ खै?‚’ फलेवास नगरपालिकाकै अर्का किसान दुर्गा शर्मा भन्छन्, ‘आफैँले उत्पादन गरेको राम्रो हुने र बाँझो जग्गा हल्लिएको देख्न नपर्ने भएर खेती लाउनुपर्ने हो। बरु किनेर बजारको बोरा खाँदा सस्तो पर्छ हिसाब गर्ने हो भने त।’

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले किसानहरू समस्यामा परेको बताउँछिन्।

कृषि ज्ञान केन्द्रबाहेक स्थानीय तहले समेत अनुदानमा ‘मिनी टिलर’ बाँडेका कारण जिल्लाका हरेक गाउँमा ‘मिनी टिलर’ पुगेको बताउँछिन् उनी। ‘मिनी टिलर’ ले अहिलेसम्म लिँदै आएको जोतेको भाउ नै केही महँगो भएकाले अहिलेको तेलको मूल्यले घाटा नहुने बताउँछिन्।

‘हामीले क्याल्कुलेसन गर्दा प्रतिघण्टा ६ सय रूपैयाँमा जोत्न सकिने आएको थियो, जबकि प्रतिघण्टा हजारसम्म कारोबार भएका खबर आएका थिए। अहिलेको बढेको तेलको मूल्यले यही प्रतिघण्टा हजारमा समायोजन हुन्छ। अहिले मूल्य बढाउनुपर्ने अवस्था छैन’, उनी भन्छिन्, ‘त्यसमा पनि अनुदानमा लगेकाहरूले तेल र मर्मतको मूल्य उठाउने गरी जोत्ने हो। यो सङ्कटको बेलामा नाफामुखीभन्दा पनि सेवामुखी भैदिनुपर्छ। समस्या सबैको साझा हो।’

गाउँतिर एकै व्यक्तिको जग्गा लेक र बेँसीमा हुने रोपाइँका लागि ‘मिनी टिलर’ लाई तलमाथि हिँडाइराख्नुपर्ने भएकाले बेँसीमा ट्रयाक्टर भएका कृषकले बेँसीकै ट्रयाक्टर र लेकमा ट्र्याक्टर भएका कृषकले लेककै रोपाँ गरेर आपसमा मिलाउन गर्ने हो भने केही मितव्ययी हुने उनको सुझाव छ। धान लगाउनै पर्ने बाध्यता भएकाले पानी, आली, खेताला, बाउसे सबै कुराको व्यवस्था भएपछि मात्र ट्रयाक्टर चलाउँदा समयको बचत हुने थापा बताउँछिन्।

बाँझो रहेको जग्गामा जोत्दा समय धेरै लाग्ने भएकोले त्यस्तो जमिनलाई पानीले गलाएर जोत्ने, अर्मपर्म गरेर रोप्ने गरेमा केही राहत हुन सक्ने उनको सुझाव छ।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.